योगगुरू बाबा रामदेव आफ्नो कम्पनी पतञ्जलि आयुर्वेदले विश्वभरि माहामारीको रूप लिएको कोरोना भाइरसको औषधी बनाएको दावीबाट पछाडि हटेका छन्। उत्तराखण्ड आयुर्वेद विभागले नोटिस पठाएर स्पष्टीकरण माग गरेपछि उनले आफ्नो कम्पनीले यस्तो कुनै दावी नगरेको बताएका छन्।
नोटिसको उत्तरमा पतञ्जलिका सिइओ नेपालीमुलका आचार्य बालकृष्णले भने, ‘सरकारी गाइडलाइन अनुसार अनुमति लिएर तयार पारिएको औषधीले कोरोना संक्रमित ठिक पनि भएका छन्।’
रामदेवले २३ जुनमा दावी गरेका थिए, पतञ्जलिले जयपुरको निम्स युनिभर्सिटीसँग मिलेर कोरोनाको औषधी उत्पादन गरेको छ। बालकृष्णले स्पष्टीकरणमा भनेका छन्, ‘भ्रम सिर्जना गरेर हामीमाथि सड्यन्त्र गर्न खोजिदैछ। पतञ्जलिले कोरोनिलको क्लिनिकल कन्ट्रोल ट्रायलको रिजल्ट भनेको थियो। हामीले कहिल्यै कोरोना नियन्त्रण भएको र पूर्ण रूपमा स्वास्थ्य लाभ गरेको दावी गरेका छैनौं। हामीले दावी गरेका थियौं, जुन औषधीले कोरोनाको बिरामी पनि ठिक भएका थिए।’
उत्तराखण्ड आयुर्वेद विभागका लाइसेन्स अधिकारी वाइएस रावतले पतञ्जलिले उत्तरमा आफूले कोरोना किट नबनाएको स्पष्टीकरण दिएको जानकारी दिए। विभागले पतञ्जलिले दावी गरेअनुसार निर्माण गरेको कोरोना किटबाट कोरोनाको तस्वीर हटाउन आदेश दिएको छ।
कोरोना औषधीको सम्बन्धमा नैनीताल उच्च अदालतले पतञ्जलि आयुर्वेदविरूद्ध दायर मुद्धाको फैसलाका लागि केन्द्र सरकारलाई नोटिस पठाएको छ। बुधबार हुने फैसलामा सरकारको प्रतिनिधि आएर केन्द्र सरकारको पक्ष राख्न भनिएको छ।