‘पिसिआर परीक्षण बढाउन सरकारको ध्यानाकर्षण’

रासस

काठमाडौँ 

सांसदहरुले शान्ति सुरक्षालाई चुस्त बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराएका छन्। 

प्रतिनिधिसभा आजको बैठकको विशेष समयमा सांसदद्वय मातृकाप्रसाद यादव र जुलीकुमारी महतोले यही जेठ २७ गते राति धनुषाको सवैला नगरपालिकामा ट्र्याक्टर चालकले प्रहरी हिरासतमा आत्महत्या गरेको भन्ने घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न माग गरे।

उनीहरुले विगतदेखि सो क्षेत्रमा आपराधिक घटना हुने र राजनीतिक आडमा दोषी जोगिने प्रवृत्तिलाई रोक्न सदनमार्फत सरकारको ध्यानाकर्षण गराए। सांसद उमाशङ्कर अर्गरियाले धनुषामा पीडितले प्रहरीसमक्ष किटानी जाहेरी लिन नमान्दा शव परीक्षण हुन नसकेको र घटनाको छानविन गरी दोषीमाथि कारवाही माग गरे।

सांसद राजेन्द्रकुमार केसीले प्रतिपक्षीदलले राम्रा काममा सदैव सरकारलाई सहयोग गरिरहेको स्पष्ट पार्दै काठमाडौँलगायत शहरमा केही दिनदेखि भइरहेको युवाको आन्दोललाई ‘प्रतिपक्षीले उचालेको भन्ने हल्ला’ निराधार भएकोे बताए।  

सांसद पे्रम सुवालले  यही जेठ ७ गते जारी गरेको नयाँ नक्साअनुसार शनिबार प्रतिनिधिसभाले संविधान संशोधन पारित गरेको र त्यस सम्बन्धमा ‘भारतको विदेश मन्त्रालयले वार्ता गर्ने समझदारी उल्लङ्घन भयो’ भनी टिप्पणी गरेकोप्रति सरकारको ध्यानाकर्षण गराए। 

सांसद प्रभु साहले किसानले अहिले मलखाद नपाएको,कृषि सामग्री कम्पनीबाट हुने बिक्री वितरणमा पनि भनसुन हुने  गरेको जनाउँदै क्वारेन्टिनमा बसेकलाई पिसिआर परीक्षण छिटो हुने व्यवस्था मिलाउन माग गरे। 

सांसद देवप्रसाद तिमिल्सिनाले प्रदेश नं २ को रौतहटमा पिसिआर परीक्षण कम हुने , रिपोर्ट  ढिला आउने गरेकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै कोरोनाको उपचारमा भएको खर्चको सार्वजनिक गर्न माग गरे।

सांसद प्रदीप यादवले शनिबार पारित  संविधान संशोधनपछि अब सो क्षेत्रको जग्गा कसरी फिर्ता गर्ने सम्बन्धमा ध्यान जानुपर्छ भने। उनले प्रमाण जुटाउन सरकारले गठन गरेको विज्ञ समितिमा मधेशी र जनजाति समावेश नगरेकोमा आपत्ति जनाए।

बैठकमा सांसदहरु लालकाजी गुरुङ, रामकुमारी चौधरी, दुर्गाबहादुर राउत र  पदम गिरीले पिसिआर परीक्षण बढाउन माग गराएका थिए। 

प्रकाशित मिति: : 2020-06-14 13:50:43

प्रतिकृया दिनुहोस्