लागुऔषध र साना हतियारबाट सुरक्षा चुनौती

रासस

सर्लाही 

छिमेकी मुलुक भारतसँग सीमा जोडिएका तराई– मधेशका जिल्लामा साना हतियार सधैँ चुनौतीको विषय बन्ने गरेको छ। सीमाक्षेत्रका बजारमा सहजै पाउन सकिने साना हतियार आपराधिक क्रियाकलापमा प्रयोग हुँदै आएको पाइएको छ। 

अवैध हतियार बोकेर नेपाल प्रवेश गर्ने भारतीय तथा नेपालीको समूह रहेको  जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए। साना हतियारको प्रयोगबाट तराईका क्षेत्रमा आपराधिक गतिविधि हुने गरेको प्रहरीले जनाएको छ।  

प्रहरी उपरीक्षक पोखरेलले खुला सिमानको दुरुपयोग गरी अवैध लागुऔषध सहजै नेपाली बजारमा आउने गरेकाले यसलाई रोक्ने प्रयास गरिरहेको बताए। 'हामीले सीमाक्षेत्रमा निकै कडाइ गर्दै आएका छौँ तर पनि खुला सिमाना भएकाले कतै न कतैबाट चोरबाटो हँुदै अवैध लागुऔषध बोकेर नेपाल प्रवेश गर्ने आपराधिक समूह रहेकाले उच्च सतर्कताका साथ खटेर काम गरेका छौँ' उपरीक्षक पोखरेलले बताए। 

सीमाक्षेत्रको भारतीय बजारमा अवैध लागुऔषध खुला बिक्री हुने हुँदा चुनौती बढेको प्रहरी उपरीक्षक पोखरेलको भनाइ छ। यसबाट दुवै देशका नागरिकलाई सुरक्षा चुनौती बढेको उनले बताए। साना हतियारको प्रयोगबाट धेरैको ज्यान पनि गएको जनाइएको छ। हत्या, अपहरण, लुटपाटजस्ता अपराधमा साना हतियार प्रयोग हुने हुँदा यसले चुनौती थप्ने गरेको प्रहरीको भनाइ छ। सुरक्षा अधिकारीकोे सीमा बैठकमा साना हतियार तथा अवैध लागुऔषधको विषयमा कुरा उठ्ने गरेको पाइएको छ।

यसलाई रोक्नुपर्नेमा भारतीय अधिकारीसमेत सहमत हुँदै आएका छन्। प्रमुख जिल्ला अधिकारी मोहनराज जिसीले तराई –मधेशका सबै जिल्लाको सिमाना खुला रहेका कारण अवैध लागुऔषधको ओसारपसार गम्भीर चुनौती भएको बताए। 

खुला सीमा भएकाले समस्या हुने गरेका कारण दुवै देशका सुरक्षा अधिकारीले एकार्कालाई सहयोग ग¥यो भने समस्या समाधानमा सहज हुने विश्वास रहेको प्रजिअ जिसीले बताए। लागुऔषध शरीरको कुनै पनि भागमा सहजै लुकाएर ल्याउने गरेको उनको भनाइ छ। साना सवारी साधनको केही भागमा लुकाएर अवैध लागुऔषध ओसारपसार गर्दै आएको पाइएको र खुला सिमानाका कारण नियन्त्रण निकै चुनौतीपूर्ण रहेको प्रजिअ जिसीले बताए। 

प्रकाशित मिति: : 2020-06-13 15:28:35

प्रतिकृया दिनुहोस्