विपन्न समुदायका लागि ‘खाद्य बैंक’

रासस

जुम्ला 

सनराइज बैंक शाखा कार्यालय जुम्लाको सहयोगमा यहाँको चन्दननाथ नगरपालिकामा खाद्य बैंक स्थापना गरिएको छ। लकडाउन प्रभावित विपन्न घरपरिवारलाई खाद्यान्न (चामल) उपलब्ध गराउने उद्देश्यले नगरपालिकामा खाद्य बैंक स्थापना गरिएको हो। 

सनराइज बैंक शाखा जुम्लाका प्रबन्धक जीवन केसीका अनुसार नगरपालिकाको कोरोना महामारीको राहतका लागि सहयोग गर्न माग भएपछि खाद्यान्न उपलब्ध गराएको हो। वित्तीय संस्था बैंकको सामाजिक दायित्वका लागि केही काम गर्नुपर्ने उद्देश्यअनुसार महामारीमा राहतका लागि खाद्यान्न (चामल) उपलब्ध गरिएको उनले बताए। उनले भने, 'यही सामाजिक दायित्वअनुसार जुम्लाको चन्दननाथ नगरपालिकालाई रु ५० हजार रकमबराबर २५ किलोको ३७ बोरा चामल उपलब्ध गराएको हो।'

चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले भने, 'अहिले कोरोना भाइरसको महामारीले मुलुक नै सङ्कटमा परेको छ। यो सङ्कटको घडीमा राज्यलाई सहयोगको आवश्यकता परेका छ। लामो समयदेखिको लकडाउनले यहाँका विपन्न तथा ज्याला मजदुरी गरी बिहान बेलुका छाक टार्ने घरपरिवार प्रभावित भएका छन्।' 

नगरपालिकाले आफ्नोतर्फबाट राहत वितरण गरे पनि अहिले अपुग नै भएको छ। विपन्न घरपरिवारका लागि नगरपालिकाले वित्तीय संस्था बैंकलाई पनि राहतका लागि सहयोग गर्न अनुरोध गरेका थियौँ नगरप्रमुख सेजुवालले भने यो सोहीअनुसार सनराइज बैंकले सहयोग गरेको हो। 

चन्दननाथ नगरपालिकाले दुई हजार ५३९ जनालाई राहत वितरण गरेको जनाएको छ। विपन्न वर्ग, जेष्ठ नागरिक, अपाङ्ग, सुत्केरी महिला र बाहिर जिल्लाबाट जुम्ला आएर लकडाउनमा अलपत्र परेका नागरिकलाई राहत वितरण गरेको हो। यसअघि वित्तीय संस्था ग्लोबल आइएमई बैंक शाखा जुम्लाको सहयोगमा जुम्लामा ‘खाद्य बैंक’ स्थापना गरिएको थियो। 

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्कीका अनुसार बैंकको सहयोगमा खाद्य व्यवस्थापन तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय जुम्लाबाट चामल खरिद गरी अहिले समन्वयमा स्टोर गरिएको छ। स्थानीय तहको माग र आवश्यकताका आधारमा वितरण हुने उनले बताए। ग्लोबल आइएमई बैंक लिमिटेड शाखा जुम्लाका प्रमुख विनोदकुमार आचार्यका अनुसार ३० किलोको १५० प्याक चामल ल्याएर स्थानीय तहमा वितरण गर्ने गरी समन्वयमा बुझाएका छौँ। उनले भने, 'दुई लाख २५ हजार रकमबराबर राहतका लागि वितरण गर्न चामल उपलब्ध गरिएको हो।'  

कुपोषित बालबालिकालाई पौष्टिक आहारसहित उपचार 

जुम्लाको कनकासुन्दरी गाउँपालिकाका सातजना कुपोषण भएका बालबालिकाको उपचार भइरहेको छ। यहाँको हाँडसिंजा स्वास्थ्य चौकीमा कुपोषित बालबालिकालाई राखेर पौष्टिक आहार खुवाएर उपचार गरिएको हो। 

हाँडसिंजा स्वास्थ्य चौकीका प्रमुख वीरेन्द्र उपाध्यायका अनुसार गाउँपालिकाभरिका कुपोषित बालबालिकालाई उपचार गर्ने गरी यहाँको स्थानीय सरकारको सहयोगमा कार्यक्रम सञ्चालन गरिएको हो।

 कुपोषित बालबालिकालाई पौष्टिक आहारसहित उपचार सेवा केन्द्र सञ्चालन गरी बालबालिकाको उपचार गरिएको प्रमुख उपाध्यायले बताए।  उनले भने, 'गाउँपालिकाभरिका कुपोषित बालबालिकाको तथ्याङ्क सङ्कलन गरी यहाँ ल्याएर पौष्टिक आहारसहित उपचारपश्चात् सुपोषित बनाएर घर पठाउने गाउँपालिकाको लक्ष्य रहेको छ।' 

बालबालिकाको उमेरअनुसार तौल बढाउने र बालमृत्युदर घटाउने उद्देश्यका साथ कार्यक्रम सञ्चालन गरिएको उनको भनाइ छ। यसै कार्यक्रमअन्तर्गत सातजना कुपोषित बालबालिकालाई स्वास्थ्य चौकीमै राखेर पौष्टिक आहारसहित उपचार गरिएको हो। यसअघि आइएनएफ जुम्लाले जिल्लाभरिका कुपोषित बालबालिकालाई उपचार गर्दै आएको थियो तर उक्त कार्यालय अहिले जुम्लामा नरहेकाले बालबालिकाले उपचार पाउन सकेका थिएनन्। 

गरिब, विपन्न तथा दलित बालबालिका कुपोषित भएर बालमृत्युदर बढ्ने स्थिति आएपछि गाउँपालिकाले चालू आवदेखि रु तीन लाख ५० हजार बजेटमा यो कार्यक्रम सञ्चालनमा ल्याएको अध्यक्ष नरवीर रावतले बताए। अहिले कुपोषित बालबालिकाका यकिन तथ्याङ्क लिएको छैन। अब सबै बालबालिकाको तथ्याङ्क लिएर यो कार्यक्रमलाई निरन्तरता दिएर कुपोषित बालबालिकालाई सुपोषित बनाएर बालमृत्यु दर न्यूनीकरण गर्ने गाउँपालिकाको योजना रहेको प्रमुख उपाध्यायको भनाइ छ।  

प्रकाशित मिति: : 2020-06-13 14:24:06

प्रतिकृया दिनुहोस्