कास्कीको मादी गाउँपालिका–३ र ७ जोड्ने मादी नदीमाथि ज्याम्दुको मोटरेबल पुल निर्माण सम्पन्न भएको छ।
प्रदेश सरकार पूर्वाधार विकास कार्यक्रमअन्तर्गत रु आठ करोड ६९ लाख लागतमा निर्माण भएको सो पुल पोखराबाट मादी गाउँपालिकाको केन्द्र याङजाकोट जोड्ने सडकखण्डमा पर्दछ।
तीन वर्षको अवधिमा निर्माण सम्पन्न गर्ने गरी विसं २०७२ मा मृत सञ्जीवनी निर्माण सेवा हेटौँडाले जिम्मा लिएको सो पुलको लम्बाइ ८३ मिटर र चौडाइ साढे सात मिटर रहेको छ।
पुल निर्माणसँगै एकतर्फ ज्याम्दु, तारकाङ हुँदै गाउँपालिकाको केन्द्र याङजाकोट र अर्कोतर्फ पर्यटकीय गाउँ ताङतिङसम्म वर्षभरि नै यातायातको सुविधा पुग्ने गाउँपालिकाका अध्यक्ष वेदबहादुर गुरुङ (श्याम) ले जानकारी दिए।
पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य खगराज अधिकारी, प्रदेशसभा सदस्य मनबहादुर गुरुङलगायत गाउँपालिकाका निर्वाचित जनप्रतिनिधि तथा स्थानीय समाजसेवीको सक्रियतामा पछिल्लो समय पुल निर्माणले मूर्तरुप लिएको उनको भनाइ छ।
पुलको मुखबाट याङजाकोट र ताङतिङसम्म पुग्नका लागि गाउँपालिकाले सडक स्तरोन्नति गरिएको छ, उनले भने, 'सङ्घ र प्रदेश सरकारको लगानीमा विजयपुर खोरा र मादी नदीको विभिन्न स्थानमा निर्माणाधीन पक्कीपुल सम्पन्न भएसँगै सो क्षेत्रका जनताको मुहार फेरिनेछ।
अहिले पुलको दुवैतर्फ सहज बाइपासका लागि कटिङ गरी फिलिङको काम भइरहेको छ। पुल नबन्दा मादीमा अस्थायी पुल निर्माण गरेर हिउँदको समयमा मात्र यातायातको सुविधा पुग्ने गरेको थियो। सो पुललगायत मादी गाउँपालिकास्थित विकास निर्माणका योजनाको जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर अधिकारी क्षेत्रीसहितको टोलीले अनुगमन गरेर जानकरी लिएको थियो।