वुहान, इटली र दुवईबाट आएको कोरोना कडा खालको हाेइन: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले वुहान, इटली र दुवईबाट आएको कोरोना भाइरस (कोभिड–१९) कडा खालको नभएको बताएका छन्। 

सरकारको नीति तथा कार्यक्रममा उठेको प्रश्नहरुको संसदमा जवाफ दिँदै उनले वुहान, इटली, दुवईबाट आएको भाइरस कडा खालको नभएको बताएका हुन्। उनले भने, ‘तर भारतबाट आएको भाइरस कडा खालको देखियो।’

पछिल्लो समय भारतबाट आएका धेरैमा संक्रमण देखिएको उनले बताए। यसरी आएकाहरु लुकेर बस्दा झन समस्या भएको उनेल बताए।

प्रधानमन्त्री ओलीले कोरोनाका कारण कोही पनि नागरिकको ज्यान जान नदिने सरकारको प्रयास विभिन्न कारणले असफल भएको स्वीकार गरे।

नेपालमा अहिलेसम्म दुई जना कोरोना संक्रमणबाट मृत्यु भएको प्रधानमन्त्री ओलीको भनाइ छ।

‘अन्य कारणले भए पनि २ जनाको निधन भएको छ। म दुःख व्यक्त गर्न चाहन्छु,’ उनले भने, ‘नेपालमा कोरोना कारणले कसैले पनि ज्यान गुमाउनु नपरोस् भन्ने प्रयास विभिन्न कारणले असफल भएको छ।’

प्रधानमन्त्री ओलीले अरू कुनै कारणले बिरामीको मृत्यु भए पनि कोरोना देखिएपछि कोरोनाबाट नै मृत्यु भएको मान्नुपर्ने बताए।

‘कोरोनभन्दा अरू बिरामीको जटिलताले निधन भएको हुनसक्छ तर विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार कोरोना संक्रमित भए त्यहीबाट मृत्यु भएको मान्नुपर्छ,’ उनले भने।

प्रकाशित मिति: : 2020-05-19 12:50:31

प्रतिकृया दिनुहोस्