कोहलपुरमा चारदिने शिशुसहित सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना, ६ घाइते 

जिल्लास्थित कोहलपुरमा चार दिने शिशुसहित सुत्केरी बोकेको एम्बुलेन्स दुर्घटना भएको छ। बुधबार दिउँसो साढे तीन बजेतिर कोहलपुर नगरपालिका वडा नम्बर १२ को रोहिणीखोला पुल नजिकै भे १ च ३१७१ नम्बरको एम्बुलेन्स दुर्घटना भएको हो।

उक्त एम्बुलेन्समा चारदिने शिशु र सुत्केरीसहित अन्य ४ जना यात्रु सवार थिए। उनीहरु सबै बाँकेको राप्तिसोनारी गाउँपालिकाका हुन्।

घाइते हुनेमा स्वेता पोलिक्लिनिक (एम्बुलेन्स) का मालिक वडा नम्बर ४ मिम बहादुर खड्का छन्। उनको दाहिने र छातीमा चोट लागेको छ। भने सोही वडामा बस्ने वर्ष २३ का एम्बुलेन्स चालक गोपाल बुढाको दुवै आँखा र निधारमा चोट लागेको छ। 

यसैगरी राप्तीसोनारी गाउँपालिका १ बस्ने वर्ष २१ को विनोद परियार,उनकी श्रीमती (चार दिनकी सुत्केरी) वर्ष १९ की प्रमिला परियार, परियार दम्पतिकी चार दिनकी नवजात शिशु (नाबालिका) र विनोदकी आमा वर्ष ४५ की सिता दमाई घाइते भएका छन्।

यस्तै एक नाबालिकाकाे पहिचान खुलेको छैन। 

प्रहरी हवल्दार शेरबहादुर बस्नेतका अनुसार चारै जनाको बाँया कुम, टाउँको र छातीमा चोट लागेको छ। ‘घाइते सुत्केरी चार दिन अघि अस्पतालमा आएकी थिइन्। उनलाई दिउँसो मात्र घर लगिदैँ थियो। दुर्घटनामा परि फेरी अस्पताल नै आएकी छन्,’ उनले भने। नबालिका र सुत्केरीलाई विशेष निगरानी सहित उपचार भइरहेको प्रहरी हवल्दार बस्नेतले बताए।

घाइते ६ जनाको अहिले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको उनले बताए।

प्रकाशित मिति: : 2020-05-13 17:31:37

प्रतिकृया दिनुहोस्