कोरोना भाइरसको उच्च जोखिम रहेको भन्दै नेपालगञ्ज सहरमा तीन दिनसम्म कर्फ्यू जारी गरिएको छ।
आइतबार एकैदिन १५ जनामा कोरोना भाइरस संक्रमण देखिएपछि नेपालगञ्ज कोरोना भाइरहेको ‘डेन्जर जोन’का रुपमा देखा परेको छ । यही खतरालाई मध्यनजर गर्दै यहाँको स्थानीय प्रशासनले हाललाई तीन दिनसम्मको लागि कर्फ्यू जारी गरेको हो।
सोमबार साँझ बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन सम्बन्धि सर्वदलीय, सर्वपक्षीय बैठकले मंगलबार बिहान ११ बजेदेखि वैशाख २५ गते मध्य रातिसम्म लागु हुने निर्णय गरेको छ।
५ नम्बर प्रदेश सस्दय तथा नेकपा बाँकेका अध्यक्ष समेत रहेका इन्द्रप्रसाद खरेल ‘आइपी’ले तीन दिनको अवधिमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, कट्याक ट्रेसिङ र स्वाबं संकलनमा खटिने अत्यावश्यकहरुलाई मात्र आवातजावत गर्न दिइने निर्णय भएको जानकारी दिए ।
सम्पूर्ण नागरिकलाई सचेत रहनसमेत आग्रह गरिएको अध्यक्ष खरेलले बताए । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काका अनुसार अहिले उच्च सुरक्षा व्यवस्था अपनाइएको छ। अहिले नेपालगञ्ज भने निकै त्रसित बनेको छ ।
कोरोना भाइरस संक्रमणको अवस्थालाई मध्यनजर गर्दै यहाँका विभिन्न टोल तथा बाटो समेत स्थानीयले बाटो बन्द गर्न थालेका छन् । सोमबार बसेको बैठकले अनावश्यक रुपमा भ्रम फैलाउने तथा बाटो बन्द गर्नेलाई कारबाही गरिने भएको छ ।
यसविरुद्ध बाँके प्रशासन कडा रुपमा प्रस्तुत हुने प्रजिअ खड्काले बिएल नेपाली सेवालाई जानकारी दिए । प्रमुख जिल्ला अधिकारी खड्काको संयोजकत्वमा बसेको बैठकमा साँसद खरेल, नेपाली कांग्रेस बाँकेका अध्यक्ष किरण कोइराला, जिल्ला समन्वय समिति बाँकेका संयोजक अजय श्रीवास्तव, नेपालगञ्ज उप–महानगरपालिकाका प्रमुख डा. धवल शंम्शेर राणा, ४ नं. बाहिनी अड्डाका बाहिनी पती सुरेश बानिया, भैरवप्रसाद गणका गणपती नकुल थापा, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख वीरबहादुर वली, राप्रपा बाँकेका अध्यक्ष नरेन्द्र पौडेल, जनता समाजवादी पार्टी बाँकेका अध्यक्ष कमरुद्धिन राई लगायत सहभागी भएका थिए ।
१६ जना संक्रमित अहिले शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा उपचारत छन्