वाचाल ओलीको गिर्दो विश्वसनियता-ग्राफ

Break n Links
Break n Links

प्रधानमन्त्री केपी शर्मा ओली उत्तरी छिमेक चीनको चारदिने यात्रा पूरा गरेर देश फर्किसकेका छन् । तर, यो भ्रमणको चर्चा, परिचर्चा अझै पनि छायामा परिसकेको छैन । उनी भ्रमणमा जानुअघि उद्देश्यका बारेमा चर्चा थियो, भ्रमणबाट फर्केपछि उपलब्धिका बारेमा चर्चा गरिँदै छ ।

यात्राको उद्देश्यका बारेमा जसरी देशको जनमत विभाजित थियो, उपलब्धिका बारेमा विभाजित नै छ । केहीले यो भ्रमण उपलब्धिमूलक भनेका छन्, केहीले कर्मकाण्डी, केहीले ऐतिहासिक भन्न भ्याए भने केहीले अनिष्टकारी नै भने । जसले जे भने पनि यो भ्रमण सुरुदेखि नै न्यानो थिएन र अपेक्षित रूपमा सफल हुने खालको पनि थिएन । नभन्दै, त्यस्तै भयो । एक किसिमले भन्ने हो भन, ओलीका लागि यो एक बिर्सनलायक भ्रमण भयो ।

यस भ्रमणलाई लिएर जनमत विभाजित हुनुको पछाडि धेरै कारण छन् । पहिलो कारण त ओलीको प्रवृत्ति नै हो । उनी आफैँमा एक संयोजनकारी हैन, विभाजनकारी पात्र हुन् । उनी सुरुदेखि नै एक वा अर्को किसिमले ‘फुटाऊ र शासन गर’ भन्ने डक्ट्रिनमा विश्वास गर्छन् । केही समय देश शान्त भयो भने पनि उनी केही न केही अन्टसन्ट बोलेर देश र समाजको शान्ति भङ्ग गर्छन् । ओलीले बोली ठेगान नलगाउँदा देशको जनमत हरेक समय विभाजित हुन्छ । चीन भ्रमणको सन्दर्भमा पनि उनले जे–जस्ता किसिमका भनाइहरूको ट्रायल बलुन गरे, त्यहीँबाट जनमत अरू बढी ध्रुवीकरण भएको हो ।

दोस्रो कारण, नेपाल वैचारिक हिसाबले नै दक्षिण र उत्तरी कित्तामा बाँडिएको छ । आफूलाई प्रजातान्त्रिक भन्ने दक्षिणपन्थीहरू भारत नजिक छन् भने आफूलाई कम्युनिस्ट भन्ने वामपन्थीहरू चीननजिक । दक्षिणतिर इष्ट देवता भएकाहरूको मूली नेपाली कांग्रेस हो भने उत्तरतिर इष्ट देउता भएकाहरूको मूली नेकपा (एमाले) हो ।

नेपालमा यिनै दुईतिर फर्केका मूलीहरूको दुईमुखे सरकार छ अहिले । यही आधारमा कांग्रेस र एमालेको चीनको महत्वकांक्षी योजना बिआरआईलाई हेर्ने दृष्टिकोण पनि फरक छ । कांग्रेस अनुदान मात्र लिने भनेर आफ्नो शर्तमा बिआरआई सम्झौता गर्न चाहन्छ तर, एमाले अनुदान–ऋण जे भए पनि लिएर अगाडि बढ्नुपर्छ भन्ने मान्यता राख्छ ।

तेस्रो कारण, नेपालको सत्ता भारतको आशीर्वादबिना टिक्नै नसक्ने अवस्थामा पु¥याइएको छ । यसैमा दिल्ली झ्यालबाट चिहाउने नेपालको टाढाको शक्ति मित्र अमेरिका पनि जोडिएको छ । अहिले भारत नेपालसँग खुसी छैन । यो भन्नाको अर्थ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी ओलीसँग रुष्ट छन् । यसपटक प्रधानमन्त्री भएपछि ओलीले अनेक पटक भारत भ्रमणको निम्ता मागे पनि पाउन सकेनन् । नपाएकै कारण उनी मोदीलाई देखाउन चीनको निम्ता मागेर उतैतिर लागे । यसलाई प्रमुख प्रतिपक्षी नेता ‘प्रचण्ड’ ले ‘चाइना कार्ड’ खेल्न लागेको भनेर मुख खोले । यसले पनि मोदी र ओलीको सम्बन्ध अरू बिगार्न तेल थप्ने काम ग¥यो ।

यही पृष्ठभूमिमा सत्ता जोगाउने चौतर्फी दबाबमा परेका ओली बिआरआईमा अनुदान मात्र लिने कांग्रेसको बटमलाइनमा झरे । त्यही म्यान्डेट लिएर चीन गएका उनको कुरा सुन्न चिनियाँ पक्ष राजी भएन। अन्ततः उनी बाध्य भएर बिआरआई फ्रेमवर्कको फेस सेभिङमा ओर्लिए । यो पनि सत्ताधारी कांग्रेसका धेरै नेताहरूलाई मन परेन । उनीहरू यतिबेला ओलीलाई दिइएको म्यान्डेटभन्दा फरक गरेर धोका दिएको भनिरहेका छन् । उता एमालेभित्रै पनि केही नेताहरू यस भ्रमणले उल्टै चीनसँगको परम्परागत सम्बन्ध बिगार्न योगदान ग¥यो भनिरहेका छन् ।

ओलीको चीन भ्रमणले भारतसँगको सम्बन्ध अरू बढी चिसिएको छ । मोदी ओलीको काम गर्ने शैलीबाट हैरान छन् । एक्लाएक्लै बैठकमा अनुनय विनय गर्ने तर बाहिर निस्किएपछि फुर्ती लगाउने, घुक्र्याउने र नभए देखाइदिने ओलीको शैली हो । भारतको विरोध गरेर राष्ट्रवादी देखाउँदै भोट जम्मा गरेर सरकारमा पुग्ने ओलीको पुरानै चाल हो ।

भनिन्छ, मोदीले यो ओली–चाल राम्ररी बुझेर उनको पाइन कस्ने रणनीति बनाएका छन् । उनको यो रणनीति कार्यान्वयन गर्ने जिम्मा विदेशमन्त्री एस जयशङ्करले पाएका छन् । साउथ ब्लकमा सुरुदेखि नै जयशंकर ओलीलाई विश्वासिलो नमान्ने खेमाको नेतृत्व गर्छन् ।

उनको दृष्टिमा ओलीको शैली गैरराजनीतिक र गैरकूटनीतिक दुबै छ । अहिले ओली र मोदी सरकारबिचको सम्बन्ध सूत्र भनेको भारतीय विदेश विभागका प्रमुख विजय चौथाइवाले मात्र हुन् । ओलीका परराष्ट्रमन्त्री डा. आरजु राणाले राखी बाँधेका ‘राखी भैया’ हुन् उनी । यही राखीले अहिलेको ओली–मोदी सरकारको सम्बन्ध टिकेको छ । यसकै बलमा बलमा यो सरकार बनेको मात्र हैन, डा. राना परराष्ट्रमन्त्री पनि बनेकी हुन् । यति भन्न कुनै आइतबार पर्खनै पर्दैन ।

अब यो राखीले पनि काम गर्न छाडेको सङ्केत दिएको छ । सायद मोदीको मनसाय बुझेर होला, चौथाइवाले पनि थप जोखिम मोल्ने स्थितिमा नरहेको जस्तो देखिन्छ । केही दिन पहिले एक पत्रकारले उनलाई ‘‘नेपालका प्रधानमन्त्री ओलीलाई कहिले भारत भ्रमणको निम्ता दिने ?’’ भनेर सोधेका थिए । त्यसको जवाफमा चौथाइवालेले भनेका थिए, ‘ओलीसँग मेरो मोबाइल फोन नम्बर छ । चाहिएको बेला फोन गर्लान नि । त्यतिबेलै कुरा गरौँला ।’ यस जवाफले पनि चौथाइवालेको हैरानी चुलिँदै गएको बुझिन्छ ।
यही बिच सत्ता गठबन्धनको मुख्य साझेदार कांग्रेस र एमालेमा बिआरआईको फ्रेमवर्क ऋण हो कि अनुदान भन्ने विवाद बल्झिएको छ । ओली ऋण हैन भन्दाभन्दा हैरान भइसके । साक्षी किनारामा बस्ने डा. राणा पनि आफ्नो पद लम्ब्याउन दूधको साक्षी बिरालो भइरहेकी छिन् ।

तर, सन्दर्भ र कागजातहरूले तथ्य नै बोलिरहेका छन् । राजनीतिक वृत्त हैन, नागरिक समाजका अगुवाहरू पनि बिआरआई फ्रेमवर्कका सारा कागजात सार्वजनिक गर्नुपर्छ भनेर माग गरिरहेका छन् । यी सबै पृष्ठभूमिमा ओलीको चीन भ्रमण एक किसिमको काउसो जस्तै हुन पुगेको छ । चीन नेपालले २०१७ मै बिआरआई सम्झौतामा हस्ताक्षर गरे पनि अगाडि नबढाएकोमा रूष्ट छ । भारत र अमेरिका त बिआरआई फ्रेमवर्कमा हस्ताक्षर गरेकैमा खुसी छैनन् ।

हुन त नेपालले खुसी पार्ने भनेको मूलतः नेपाली जनतालाई नै हो । तर, अहिलेको विश्व भूमण्डलीकरणको युग र नेपालको भूराजनीतिक परिस्थितिमा त्यति मात्र पर्याप्त हुँदैन । कुनै न कुनै रूपमा नजिकका दुई छिमेकी चीन र भारत तथा टाढाको छिमेकी अमेरिकालाई रिसाउने बनाउनु हुँदैन । भनाइ नै छ, देश फेर्न सकिन्छ तर छिमेकी फेर्न सकिँदैन । नेपालले छिमेकीसँग आफ्नो प्रष्ट परराष्ट्र नीतिका साथ सधैँभरि हार्दिक सम्बन्ध राख्न सक्नुपर्छ । त्यसका लागि चाहिने भनेको सही कूटनीति हो ।

कूटनीतिका बारेमा अनेकौँ प्रसिद्ध भनाइ छन् । त्यस्तै एउटा भनाइ हो, ‘‘कूटनीति भनेको सही समयमा सही कुरा भन्नु वा गर्नु मात्रै होइन, यो कुनै पनि समयमा गलत कुरा न भन्नु वा नगर्नु पनि हो ।’’ तर, ओलीका लागि पटक्कै काम नलाग्ने भनाइ हो यो । सधैँ गोलीजस्तो बोली लिएर ओठेजवाफका लागि तयार भएर बस्ने ओलीबाट यस्तो सम्भव नै छैन । त्यसैले उनको कार्यकालमा नेपालको कूटनीति र परराष्ट्रसम्बन्ध सधैँभरि जोखिममा हुन्छ ।

अहिले नेपालमा संसद्का दुई ठुला दल कांग्रेस र नेकपा (एमाले)को गठबन्धन सरकार छ । सामान्यतः संसदीय व्यवस्थामा नहुने यो भवितव्यका बारेमा ओली स्वयंले भनेका छन्, ‘‘नेपालमा लोकतन्त्र सङ्कटमा प¥यो । त्यसलाई जोगाउनकै लागि अन्तिम उपायका रूपमा यो सरकार बनेको हो ।’’

हुन त यो सरकार लोकतन्त्र बचाउनका लागि भन्दा पनि ओली र डा. राणालाई बचाउनकै लागि बनेको भन्नेहरू पनि छन् । त्यसका केही वाञ्छित आधारहरू पनि भेटिन्छन् । त्यो बेग्लै कुरा भयो । जे जसरी बने पनि यो सरकार अङकगणितका हिसाबले ज्यादै बलियो छ तर यसलाई जोड्ने पाइन ज्यादै कमजोर छ ।

देखिने आन्तरिक पाइन ओली र देउवाको बाँडिचुँडी प्रधानमन्त्री हो भने नदेखिने पाइन ओलीलाई गिरीबन्धु टी स्टेट र डा. राणालाई भुटानी शरणार्थी प्रकरणबाट जोगाउने हो । बाह्य पाइन भनेको चाहिँ फेरि पनि चौथाइवालेलाई डा. राणाले बाँधिदिएको राखी नै हो ।

तर, प्रधानमन्त्री ओली चीनबाट फर्केलगत्तै उनको सरकार ढल्ने हल्लाले तुल पक्डेको छ । त्यसको छनक ‘अबको १८ महिना म प्रधानमन्त्री, त्यसपछि देउवा प्रधानमन्त्री’ भनेर ओली आफैँले विमानस्थलमै दिएका थिए । उनी हरेक दिनजसो यही वाक्य दोहो¥याइरहेका छन् । आखिर ओली किन बारम्बार यसो भनिरहेका छन् ? यो आफैँमा रहस्यमय छ । ओली यसै पनि विश्वास गर्न लायक पात्र हैनन् । उनी जे बोल्छन् त्यो गर्दैनन्, जे बोल्दैनन् त्यो मात्र गर्छन् ।

पछिल्लो समय ओलीको विश्वसनीयताको ग्राफ सबैभन्दा तल ओर्लेको छ । त्यसको एउटा सर्मनाक उदाहरण हो, ‘कांग्रेससँग सरकारका लागि सहमतिमा हस्ताक्षर गरिसकेपछि पनि प्रचण्डलाई ‘स्वर्ग गए पनि नर्क गए पनि सँगै जाने’ भनिरहेका थिए । सहमतिपत्रमा हस्ताक्षर गरेको तस्बिरसहितको समाचार ‘कान्तिपुर’ दैनिकमा आइसक्दा पनि त्यो पुरानो तस्बिर हो भनिरहेका थिए । यो जति लाज पनि लजाउने सफेद झुट के हुन सक्छ र ?

यही बिच सप्ताहान्तमा अमेरिकाको दक्षिण पूर्वी एसियाली क्षेत्र हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु तिनदिने भ्रमणको क्रममा काठमाडौं पुगे । प्रधानमन्त्री ओली भने लुलाई भेट्नुपर्छ भनेर उनको भ्रमणभरि तिन दिन नै काठमाडौँमा गयल भए । ओलीले यसअघि यति लामो समय झापामा बिताएकै छैनन् । यसबाट के बुझ्न सकिन्छ भने उनीसँग न्यूनतम कूटनीतिक मर्यादा राख्नुपर्छ भन्ने चेत पनि छैन । त्यसो त जो बाइडेन प्रशासनका सहायक मन्त्री लुको अब उपयोगिता छैन भनेर पनि उनले त्यसो गरेको हुन सक्छ । डोनाल्ड ट्रम्पका विश्वासपात्र मस्कसँग भर्चुअल वार्ता गर्न भ्याइसकेका ओलीलाई लाग्यो होला, ‘‘बिना कामको लुलाई किन भेट्नु ?’’ यही हो, ओलीको छोटो बुद्धि । यस्तै बच्कना व्यवहारले गर्दा ओलीले देशभित्र मात्र हैन, देश बाहिर पनि विश्वसनीयता गुमाइरहेका छन् ।

नयाँ दिल्लीको आँखाबाट काठमाडौँ हेरिरहेको भनिएको अमेरिकाका सहायक विदेशमन्त्री लुको नेपाल भ्रमणलाई यसरी बेवास्ता गर्नाले पनि ओलीको मनस्थिति त्यति ठीक छैन जस्तो देखिएको छ । चीनको असफल र अपजसे भ्रमण गरेर फर्केका ओलीको कानमा यतिबेला चारैतिर सुखद समाचारहरू छैनन् ।

देशभित्र रवि लामिछानेमाथि पूर्वाग्रह र प्रतिशोध नै साँधिएको हो कि भन्ने जस्तो भाष्य निर्माण भइरहेको छ । रविको पक्राउलाई लिएर उनले गरेका सार्वजनिक टिप्पणीहरू देशको प्रधानमन्त्रीले गर्न लायक छैनन् । उनका ती टिप्पणी र रविलाई पछिल्लोपटक चितवनबाट पोखरा लैजाने क्रममा गरिएको ब्यवहारलाई हेर्दा ओलीको भित्री मनसाय अरू नै देखिन्छ । यद्यपि, रविले पनि ‘‘सरकार म¥यो, हामीलाई जुठो प¥यो’’ भन्दै आफ्ना कार्यकर्तामार्फत ओलीको पुत्ला बनाएर नारायणी नदी किनारमा दाहसंस्कार गरेकै हुन् ।

ग्रिक दार्शनिक अरिस्टोटलले भनेका छन्, ‘‘सत्य छेउमा हुँदैन, बिचमा हुन्छ ।’’ यहाँ छेउ भनेको अतिवाद हो । नेपालको राजनीतिमा ओली अतिवादका ज्युँदा जाग्दो नमुना हुन् । हिराले हिरा काट्छ भनेझैँ एउटा अतिवादलाई अर्को अतिवादले प्रतिस्थापन गर्न आएको जस्तो देखिएकाहरू अर्को छेउ हुन् ।

लोकरिझ्याँइका यी चरम नेपाली नमुनाहरूले नेपालमा गर्नेभन्दा बोल्नेको कनिका बिकाउने समय ल्याए । अहिले नेपालमा यी र यस्तै बोल्न जान्नेहरूले कनिका बिकाइरहेका छन् । जबसम्म यो कनिका किन्न छाडेर जनता चामल किन्नेतिर लाग्दैनन्, तबसम्म नेपालमा फौबन्जारहरूको कनिका बजार गुल्जार भइरहन्छ । तर सत्य के हो भने यो कनिका नेपाल र नेपालीको स्वस्थ जीवनका लागि भने पटक्कै हितकर छैन ।

एक व्यक्ति र एक पार्टी अध्यक्षका रूपमा ओलीको विश्वसनीयताको क्षयीकरणले खासै अर्थ राख्दैन तर ओली देशको प्रधानमन्त्री पनि भएकाले उनको विश्वसनीयता गिर्दा त्यो देशको विश्वसनीयतामाथि पनि प्रश्नचिह्न लाग्छ । प्रधानमन्त्री ओलीले जिम्मेवारीका साथ त्यतातिर ध्यान दिनु वाञ्छनीय हुन्छ । तर, पात्र मात्र हैन प्रवृति नै भइसकेका ओलीले त्यसो गर्लान् भनेर कसरी विश्वास गर्न सकिन्छ र ?

 

प्रकाशित मिति: : 2024-12-12 04:11:00

प्रतिकृया दिनुहोस्