खपिनसक्नु दुखाइ भएका र रोग निको भइसकेपनि दुखाइ कम नभएका बिरामीहरू डाक्टर निनादीनी श्रेष्ठलाई खोज्दै त्रि.वि शिक्षण अस्पताल पुग्छन्। अनि आफूले भोगिरहेका समस्याबारे खुलेर सुनाउँछन्।
सुरुमा त उनी बिरामीहरूको कुरालाई ध्यान दिएर सुन्छिन्। त्यसपछि उनीहरूको विभिन्न स्वास्थ्य परीक्षण गराउँछिन्। त्यही पनि बिरामीमा कुनै रोग देखिएन र दुखाइ निवारण भएन भने उनी आफैं उपचारमा खट्छिन्।
‘मकहाँ आउनुभएका बिरामीहरूलाई के कारणले दुखाइ भएको हो भनेर सुरुमा उहाँहरूको विभिन्न टेस्ट गराउनु जरुरी छ। उहाँहरूमा केही समस्या देखापरेमा साेही रोग सम्बन्धिका डाक्टरहरूकहाँ रिफर गरिदिन्छौं। तर बिरामीमा केही समस्या देखिन र दुखाइ भइरह्यो भने हामी आफैं उपचार गर्छौं’, उनी भन्छिन्, ‘हामीले उहाँहरूलाई औषधि र सुइँको प्रयोग गरेर उपचार गराउँछौं।’
औषधि र मात्र एउटा सुइँले दीर्घकालीन रुपमा दुखाइ सहदैआएका बिरामीहरू पूर्ण रूपमा निको नभएपनि जीवनशैली र दुखाइ कम हुने उनी बताउँछिन्।
तीन महिनाभन्दा धेरै समयदेखि विभिन्न दुखाइ सहिरहेका बिरामीहरूको जीवनशैली सहज र दुखाइलाई कम गराउँदै आइरहेकी छिन् एन्भेन्सनल पेन म्यानेजमेन्ट कन्सल्ट्यान्ट डा. निनादीनी श्रेष्ठ।
टिचिङ, नर्भिकलगायत निदान अस्पतालमा कार्यरत उनले दुई हजारभन्दा धेरै दीर्घकालीन दुखाइका बिरामीलाई निको बनाइसकेकी छिन्।
‘पीडा बाेकेर आएका बिरामीहरूको दुखाइ कम गराउँदा खुसी लाग्छ’, डाक्टर श्रेष्ठले भनिन्, ‘बिरामी र उहाँहरूको परिवारले पनि धन्यवाद दिनुहुन्छ। त्यो सुन्दा सन्तृष्टी मिल्छ।’
असह्य दुखाइ लिएर आफूकहाँ आएका बिरामीहरूलाई निको बनाएर घर पठाउन पाउँदा आफ्नै पेशाप्रति गर्व गर्छिन् डाक्टर निनादीनी श्रेष्ठ।
000
सानोबेला उनलाई कक्षा कोठाभित्र ‘प्रिन्सिपल’ले भविष्यमा के बन्छौं भनेर सोध्दा उनी सिधैं डाक्टर बनेर बिरामीको सेवा गर्छु भनेर जवाफ फर्काउँथिन्। उनकाे जवाफ सुनेर शिक्षक खुसी हुन्थे।
खासमा, निनादीनीलाई डाक्टर बन्न प्रेरित गरेको थियो, पशुपति वृद्धाश्रम र अनाथलयहरूले।
एकदिन स्कूलबाट उनीहरूलाई वृद्धाश्रम र अनाथलयमा लगिएको थियो। त्यहाँ उनले बिरामी भएका बुढाबुढी–बालबालिकालाई देखिन्।
उनीहरूको कमजोर शरीरलाई नियालेकी उनले उहीबेला बुझिन्–अहो! नेपालमा त आधारभूत स्वास्थ्य सेवाको कमी रहेछ।
बिरामीहरूकाे कमजाेर अवस्था देखेर उनले त्यहीबेला याेजना बनाएकी थिइन्, भविष्यमा डाक्टर बन्ने अनि बिरामी मान्छेकाे उपचार गरेर स्वस्थ्य बनाउने।
डाक्टर बन्ने सपना देखेकी उनी त्रिचन्द्र कलेजमा भर्ना भइन्। उही कलेजबाट उनले कक्षा–१२ पास गरिन्। त्यसपछि उनले ‘कानून’ र ‘कम्प्युटर इन्जिनियरिङ’मा पनि प्रवेश गरिन्।
तर उनको मन भने डाक्टर पेशामा नै थियाे। त्यसैले उनले कानून र कम्प्युटर इन्जिनियरिङ विषयमा ध्यानै दिन सकिनन्।
‘मैले अरू विषयमा पनि कोसिस गरें सायद मेरो झुकाव भने डाक्टरप्रति नै थियो’, उनी सम्झिन्छिन्, ‘डाक्टरहरूले लगाउने त्यो सेतो कोट नै मलाई आदर्शपूर्ण लाग्थ्यो। त्यसैले मैले डाक्टर पेशा खोजें।’
आफूलाई डाक्टरको त्यो सेतो कोटमा सजिएको देख्न चाहेकी उनले घरमा आफ्नो कुरालाई निर्धक्क भएर सुनाइन्। डाक्टर बन्ने सपना देखेकी छाेरीलाई बा–आमाले पनि साथ दिए।
घरले दिएकाे साथ अनि हिम्मत पाएपछि निनादीनीले सुरू गरिन् डाक्टरको पढाइ।
‘मैले डाक्टर बन्छु भन्दा घरबाट सर्पोट गर्नुभयो तर मलाई भनिएको थियो कि डाक्टरको पढाइ धेरै मुश्किल हुन्छ। तरपनि मैले पढ्न निधो गरें’, उनले बताइन्।
सुरुआती दिनमा उनलाई डाक्टर बन्न पार गर्नुपर्ने किताबहरू पढ्दा समस्या भयाे। पढ्न नसक्ने पो होकि जस्तो पनि लागेको थियो उनलाई। तरपनि हार मानिन्।
‘म चाहिँ एकदम फ्रि भएर पढ्न रुचाउने मान्छे हुँ। तर डाक्टरको कोर्षचाहिँ एकदमै सीमित हुनेरहेछ। कम समयमै धेरै पढ्नुपर्ने रहिछ’, निनादिनी भन्छिन्, ‘एक–दुई वर्षसम्म त डाक्टर पेशा किन रोजेछु जस्तो पनि लागेको थियो।’
तर जब उनले बिरामीहरूसँग काम गर्न थालिन्। त्यसपछि उनलाई आफ्नै पेशाप्रति रमाइलो लाग्न थाल्यो।
‘किताबमा मात्र सीमित भयो भने नरमाइलो लाग्छ तर बिरामीहरूको सेवामा लाग्न थालेपछि यो डाक्टर पेशा एकदमै राम्रो लाग्ने रहिछ’, बिरामीहरूको संगतले नै उनलाई डाक्टर पेशाप्रतिको मोह झनै बढायो।
बिरामीहरूको सेवामा रमाइरहेकी उनी ‘अर्थपेडिक’ को डाक्टर बन्न चाहन्थिन्। तर उनको जीवनमा घटेको एक घटनाले उनलाई पेन म्यानेजमेन्टको डाक्टर बनाइदियाे।
निनादीनीले देखेको त्यो घटना...
सन् २००८ सालमा उनी पोखराको मणिपाल शिक्षण अस्पताल पुगेकी थिइन्। त्यही उनले ‘इन्टर्नसिप’ गरिन्।
अस्पतालमा उनको भेट एउटी आमासँग भयो। जो क्यान्सरबाट पीडित श्रीमानको उपचारका लागि आएकी थिइन्।
डेढ महिनादेखि पित्त थैलीको क्यान्सरबाट ग्रसित भएका ती बुबा दुखाइको कारण दिनरात छटपटिन्थे। उनकाे दुखाइ राेक्नका लागि कडाभन्दा कडा औषधि र सुइँ दिइन्थ्याे। त्यैपनि उनको दुखाइ कम भएन।
असह्य दुखाइ सहेका उनले एकदिन निनादीनीसँग एउटा अनुरोध गरे, ‘मलाई जति पीडा भएपनि मेरो छोराछोरीको अगाडि रुन नपरोस्। उनीहरूको अगाडि मात्र भएपनि मेरो दुखाइ कम गरिदिनुस्।’
क्यान्सरबाट थलिएका उनै बुबाकाे कुरा सुनेर भावुक बनेकी थिइन् निनादीनी। र, आफैंसँग बरबराउन थालिन्, ‘सबैभन्दा ठुलो कुरा त बिरामीको दुखाइ निको बनाउनु पो रहेछ।’
क्यान्सरसँग लडिरहेका ती बुबाकाे दुई महिनाको अवधिमा मृत्यु भयो। तर निनादीनीको मनमा भने ‘दुखाइ कम’ गर्ने डाक्टर बन्ने हुटहुटी पलाइसकेकाे थियाे।
त्योबेला दुखाइ निवारणको पढाइ थिएन। धेरै दुखाइ भएका बिरामीहरूलाईढाडमा सुइँ र पाइप लगाउने गरिन्थ्यो, दुखाइ कम गर्न।
तर ‘अनेस्थेसिया’ विभागमा भने केही मात्रामा दुखाइ कम गर्ने काम गरिन्थ्यो। त्यहीकारण उनी ‘मास्टर्स’ सिध्याएर पेन म्यानेजमेन्टमा छिरिन्।
‘यदि मैले क्यान्सर पीडितको त्यो घटना नदेखेको भए, सायद म अर्कै विषयको डाक्टर हुन्थेँ होला तर त्यो एक घटनाले मलाई पेन म्यानेजमेन्टको डाक्टर बनायो’, उनी भन्छिन्, ‘मेरो लागि पनि त्यो घटना आर्शीवाद साबितजस्तै भयो।’
अहिले उनी डाक्टर पेशासँग जोडिएको डेढ दशक बितिसकेको छ। तर कहिलेकाहीँ उनलाई विगतको घटनाहरूले झस्काउने गर्छ।
‘बिरामीहरूलाई गुमाउँदा एकदमै नरमाइलो लाग्छ’, विगत कोट्याउँदै उनले भने, ‘सायद, त्योबेला मसँग धेरै ज्ञान भइदिएकाे भए उहाँहरूलाई बचाउन सक्थें कि जस्तो लाग्छ।’
जिन्दगीको ३६औँ बसन्त पार गरिरहेकी उनलाई आफ्नो जीवनको सबैभन्दा दुःखको क्षण नै बिरामी गुमाउँदा लाग्छ। र, जिन्दगीको सबैभन्दा खुसी भएको क्षण भने आफू डाक्टर हुँदाखेरिको लाग्छ।
‘मलाई अझै याद छ, म २१ वर्षको उमेरमा डाक्टर भएकी थिएँ। सायद, मेरो जिन्दगीको सबैभन्दा खुसीको क्षण नै त्यही थियो। त्यसैले त आज म बिरामीहरूको दुखाइ निवारण गर्न सक्षम छु’, खुसी हुँदै डाक्टर श्रेष्ठले भनिन्।
बिरामीको दुखाइ निवारण गर्ने निनादिनी एउटी आमा पनि हुन्। तर उनको समय घरभन्दा धेरै अस्पताल र छोराभन्दा धेरै बिरामीहरूसँग बित्छ।
‘डाक्टरी पेशा एकदमै व्यस्त हुने पेशा हो। त्यसैले मैले घरमा र मेरो छोरालाई धेरै समय दिन सकेको छैनँ तर मेरो परिवारको पूरै सर्पोट छ। त्यसैले आज म यहाँसम्म आएकी छु’, उनले बिएल नेपाली सेवालाई बताइन्।
ढाड दुखाइको बिरामी धेरै
हालसम्म दुई हजार बिरामीलाई निको बनाइसकेकी निनादीनीकहाँ सबैभन्दा धेरै ढाड, घुँडा र कुम दुखाइका बिरामीहरू आउने गरेका छन्। जसको कारण उनी जीवनशैली बताउँछिन्।
‘हामीले गरेको जुनसुकै क्रियाकलाप पनि जीवनशैलीसँग जोडिएको छ। त्यसैले दीर्घकालीन दुखाइ पनि मानिसको जीवनशैलीसँग सम्बन्धित छ’, उनी भन्छिन्, ‘यदी हामीले हाम्रो शरीरलाई स्वस्थ्य राख्ने हो भने हामीले दैनिक गरिने जीवनशैलीमा ध्यान दिन जरुरी छ।’
खराब जीवनशैलीको कारण हुने दीर्घकालीन दुखाइलाई निवारण गर्नका लागि पनि आफूले दैनिक गर्ने कार्यमा सकारात्मक परिवर्तन गर्नुेपर्ने डाक्टर श्रेष्ठको सुझाव छ।
दुखाइको कारण कतिपय मानिसले आत्महत्या गरिरहेको घटनालाई सम्झदै उनी भन्छिन्, ‘धेरै जना बिरामीहरूलाई दीर्घकालीन दुखाइ निको हुन्छ भनेर थाह हुँदैन। तर यसको उपचार पनि सम्झव छ। त्यसैले बिरामी आफैंपनि यसको उपचार खोज्नुपर्छ।’
लामो समयसम्म दुखाइ सहन बाध्य भएकाहरूको दुखाइ पूर्ण रूपमा निको हुन नसकेता पनि बिरामीहरूको जीवनशैलीमा भने सहज हुने उनको भनाइ छ। त्यसैले दीर्घकालीन दुखाइ भएका बिरामीहरूलाई उनी भन्न चाहन्छिन्, ‘दुखाइ सहेर बस्नु बहादुरी होइन। समयमै यसको उपचार खोज्नुपर्छ। उपचार पक्कै सम्भव छ।’