प्रधानमन्त्री केपी शर्मा ओलीले एमालेभित्र फाटो ल्याउन केहीले भ्रम फिँजाउन खोजिएको आरोप लगाएका छन्।
पार्टी निकट अनेरास्ववियुको २४ औँ राष्ट्रिय सम्मेलनको आइतबार काठमाडौँमा सम्बोधन गर्दै ओलीले त्यस्ता भ्रमको पछि नलाग्न आग्रह गरेका हुन्।
एमालेले ठुलो सङ्घर्ष गरेर लोकतन्त्र ल्याएको दाबी गर्दै अहिले लोकतन्त्रको नाममा फेसबुकले फाटोको ल्याउन खोज्नुको कुनै अर्थ नभएको उनकाे विश्वास थियाे।
000
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगिता पहाडीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
अख्तियारले आइतबार विशेष अदालत काठमाडौंमा पहाडी, टेलिमका पूर्वप्रबन्ध निर्देशक सुनिल पौडेललगायत १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।
यस्तै तत्कालीन प्रमुख प्राविधिक अधिकृत प्रतिभा श्रेष्ठ, तत्कालीन वित्तीय अधिकृत राजेन्द्र श्रेष्ठ, तत्कालीन प्रमुख सञ्चालक अधिकृत भविन्द्रलाल उपाध्याय र अरनिको इन्टरनेसनल प्रालिका निर्देशक शैलेश श्रेष्ठलगायतमाथि पनि भ्रष्टाचार मुद्दा लागेको छ।
उनीहरूमाथि ३३ करोड ४८ लाख १७ हजार ४ सय ३० रुपैयाँबिगाे माग गरिएकाे छ।
000
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सरकारले आफ्ना कार्यकर्तालाई ‘झोले’ बनाएको आरोप लगाएका छन्।
आइतबार पार्टी कार्यालय आलोकनगरमा बसेको पार्टीको बागमती प्रदेश कमिटीको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो कार्यकर्तालाई पार्टीप्रति समर्पित बनाउनुहोस्, झोले नबनाउनुहोस् भन्दै सुझाएका हुन्।
देश र जनताको कल्याणको निम्ति इमान्दारिताकासाथ लाग्न आग्रह गर्दै सरकारले आफ्नो कार्यकर्तालाई झोले नबनाउन उनको अनुराेध थियो।
000
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले समझदारीको भाषा टुंगिएपछि सदन चल्ने बताएका छन्।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालगायतसँगको छलफलपछि प्रचण्डले सत्तापक्ष र प्रतिपक्षीबीच समझदारी पत्रमा कस्तो भाषा हुने भन्नेबारे छलफल भइरहेको बताएका हुन्।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिनको माग गर्दै प्रतिपक्षी दलले छानबिन समितिको माग गर्दै सदन अवरोध गर्दै आइरहेका छन्।
000
नेपालमा पहिलोपटक पारलैंगिक (ट्रान्सजेन्डर) व्यक्तिको लिंग परिवर्तन शल्यक्रिया गरिएको छ।
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालले आइतबार पत्रकार सम्मेलन गर्दै नेपालमै पहिलोपटक मेल टु फिमेलशल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको जानकारी दिएकाे हाे।
अस्पतालको प्लास्टिक सर्जरी विभागद्वारा जेठ १२ देखि १५ गतेसम्म पारलैंगिक समुदायका लागि आयोजित विभिन्न शल्यक्रियामा उक्त शल्यक्रिया पनि गरिएको हो। त्यस अवसरमा अनुहार तथा स्तनको पनि शल्यक्रिया गरिएको थियो।
000
नेपालीहरूले डलर प्रिपेड कार्डबाट नौ महिनामा करिब दुई अर्ब रूपैयाँ खर्च गरेका छन्।
नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनदेखि चैतसम्ममा डलर प्रिपेड कार्डबाट नेपालीहरूले एक करोड ३८ लाख ६ हजार डलर खर्चिएका हुन्।
राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ देखि नेपालीहरूले विदेशी मुद्राको प्रिपेड कार्ड प्रयोग गर्न सक्ने सुविधा दिएको हो।
000
पूर्वयुवराज्ञी हिमानी शाहले जुम्लामा बर्थिङ सेन्टर शिलान्यास गरेकी छन्।
आइतबार उनले जुम्लाको गुठिचौर गाउँपालिका–१ मणिसाँघुमा हिमानी ट्रष्टले बनाउन लागेको सुत्केरी सेवा केन्द्रको शिलान्यास गरेकी हुन्।
पूर्वयुवराज्ञी हिमानीसँगै पूर्वनवयुवराज हृदयेन्द्र पनि जुम्ला पुगेका छन्। उनीहरू शनिबार जुम्ला पुगेका थिए।