नेपाली शब्दकोशले ‘धैर्य’ शब्दलाई यसरी अर्थ लगाइदिएको छ- धीरता, स्थिरता, अप्रमाद, नआतुरिने शान्त स्वभाव वा गुण, स्थिर चित्तवृत्ति, खामोसी, शान्ति, मौनता, चित्तको निर्विकारी भाव। यसरी धैर्यका अर्थका अनेक अर्थहरु छन्। धैर्यताको विपरितार्थ अधैर्यता हो।
धैर्यता नअपनाउनाले स्वयम् आफैलाई क्षति पुग्छ नै, त्यसले परिवार, समाज र देशलाई समेत क्षति पुर्याउँछ अर्थात् अधैर्यता सबै क्षेत्रमा घातक सावित हुन्छ। त्यस्तै संयम शब्दलाई शब्दकोशले यसरी अर्थ्याइदिएको छ- आफूलाई नियममा अड्याएर राख्ने काम, इन्द्रियहरुलाई नियन्त्रणमा राख्ने काम, व्रतमा अड्ने काम। जे होस् धैर्य र संयम मानवका लागि अति नै आवश्यक अवस्था वा कुरा हुन्।
जाडोमा भन्नेबित्तिकै न्यानो मिल्दैन, गाउँघरमा अगेनामा दाउरा बाल्नुपर्छ वा न्यानो लुगा खोजेर लगाउनुपर्छ भने सहरमा एअरकण्डिसनर वा हिटरको आवश्यकता पर्दछ। फुर्सदका बेला भने प्राकृतिक रुपमै उपलब्ध घाम चिसो भगाउनका लागि उपयुक्त ठानिन्छ। त्यस्तै गर्मी याममा तुरुन्तै सितल पाइँदैन। भ्रमण गरिरहेका बेला घामले पोलेमा सितल छहारीमा बसेर गर्मी भगाउनसकिन्छ।
प्राकृतिक रुपमा चिसो पारिएको पानी पिउनु गर्मीका लागि उत्तम हुन्छ। मेलापातमा काम गरिरहेका बखत भोक लाग्दा यथाशिघ्र खान पाइँदैन। त्यो समयमा घरमा रहेका कुनै सदस्यबाट खाना बनिरहेको हुन्छ। पूर्ण भोकमा भोजन गर्नु अति उत्तम हुन्छ। कतै हिँड्दा प्यास लागेका बखत तुरुन्त पानी नमिल्नसक्छ। आनन्दले पिउनका लागि जरुवा पानी भेटिनुपर्छ वा मागेर पिउनका लागि हिँड्दै गरेको बाटोको छेउछाउमा घर-बस्ती हुनैपर्छ।
घाउ वा चोटपटक लागेमा पीडा सहँदै औषधि पसलबाट मगाइएको औषधि लगाउनुपर्छ। औषधि नआउञ्जेल धैर्यताका साथ रहनुपर्छ। सहरमा बस्नेहरुले बिहान दूध ढिला ल्याएको निहुँमा दूधवालालाई जथाभावी भन्ने र चेतावनी दिने गर्नुहुँदैन। के कारण दूध ढिला आयो त भन्ने कुरा अडकल गर्ने र दूधवालालाई हाँसेर प्रश्न सोध्ने- ‘आज किन दूध ढिला ल्याउनुभएको?’भनेर।
गाउँघरमा कसैका गाई-बाख्राले कसैको बाली खाइदिएमा झगडा गर्नुभन्दा क्षति ब्यहोर्न प्रतिवद्ध हुने र दीर्घकालीन सुसम्बन्धका लागि हाँसीखुशी कुरा साटासाट गर्नुपर्दछ। कसैका छोराछोरीले अरुको बारीबाट केराउका कोसा टिपेर खाएको देखेमा गाली गर्नुको सट्टा ‘यसो गर्नुहुँदैन’भनेर सम्झाउनुपर्दछ।
निर्माण कार्यमा श्रमिकहरु ढिला आए भनेर उनीहरुसँग झोक्किनु राम्रो होइन। मीठो वचनले ‘के कारणले गर्दा ढिला भयो त?’भनेर सोध्नुपर्छ र ‘अब यसरी ढिला नगर्नु’भनेर सम्झाउनुपर्छ। कसैलाई गाली गर्नु वा अपशब्द प्रयोग गर्नु राम्रो काम वा व्यवहार होइन। श्रमिकसँग रिसाउँदा हुँदै गरेको निर्माण कार्यको गुणस्तर खस्किनसक्छ।
साना छोराछोरीलाई पसलमा केही किन्न पठाएमा चानचुन पैसा फिर्ता गर्नुको सट्टा पसलेले चकलेट दिएमा अभिभावकले छोराछोरीलाई ‘पैसा लिनुपर्छ, किन चकलेट ल्याएको?’भनेर हप्काउनुहुँदैन। गाली वा हप्काइले बालमनोविज्ञानमा नकारात्मक असर पर्नसक्छ। चकलेट खानपाउनु बालकहरुले आफूलाई भाग्यमानी ठान्नु स्वभाविकै हो। धेरे चकलेट खानु भनेको चाहिँ स्वास्थ्यका लागि अनुपयुक्त कुरा हो, यसमा अभिभावकले ख्याल गर्नुपर्दछ। चकलेट धेरै खाने बालबालिकाहरुको दाँतमा समस्या आउनु नौलो कुरा होइन।
सहरका बाटोमा पैदल हिँड्दा कसैसँग कुम वा पाखुरा ठोक्किनसक्छ। यस्तोमा दुबैजनाले हाँसेर ‘सरी’वा ‘माफ गर्नुहोला’ भन्नु बुद्धिमानी ठहर्छ। धक्का लागेको निहुँमा कुनैबखत एकजनाले चक्कु प्रहार गरेको समाचार सञ्चार माध्यममा नआएको होइन।
घर बनाउनुपर्दा पनि धैर्यता अपनाउनु जरुरी हुन्छ। ‘म घरको मुली मान्छे हूँ’भन्दै जबर्जस्ती घर निर्माणको थालनी गर्नुहुँदैन। घर बनाउनका लागि पारिवारिक सरसल्लाहमा अर्थको व्यवस्था हुनु जरुरी हुन्छ। घर निर्माणका लागि आफूसँग भएको रकमले अपुग हुने देखिएमा सापटीका लागि आफन्त तथा इष्टमित्रहरुलाई गुहार्नुपर्ने हुन्छ। आवश्यक परेमा बैंक तथा वित्तीय संस्थाको शरणमा पुग्नुपर्ने हुन्छ।
कसैकसैले धनीमानीलाई मात्र सभ्य देख्छन्, वास्तवमा त्यो गलत सोचाई हो। धनीमानीमा पनि अधैर्यताका कारण सम्बन्ध विच्छेद हुने र मुद्दा मामिला चलेको पाइन्छ। धनीमानी त चोर, फटाहा, भ्रष्टाचारी, बलात्कारी जो पनि हुनसक्छ। उनैका छोराछोरीहरु कुलतमा लागेर बिग्रेका धेरै उदाहणहरु पाइन्छन्। त्यसैले ‘न्यून आय भएकाहरुमा सभ्यता देखिँदैन र धनीमानीमा मात्र सभ्यता देखिन्छ’भन्नु गलत सोचाई हो।
विद्यालय जाने छोराछोरीहरुलाई बिहानै फकाएर, उठाएर समयमा नित्यकर्म गराउन लगाउनुपर्दछ। विद्यार्थीलाई समयमा विद्यालय जाने वातावरण सिर्जना गराइदिनु कुनै पनि अभिभावकको कर्तव्य हो। झर्केर अनि गाली गरेर विछ्यौनाबाट छोराछोरीलाई उठाउनु राम्रो काम होइन।
अभिभावकको बोली र व्यवहारले छोराछोरीले पनि त्यही सिक्छन् र पछिसम्म जिद्दी स्वभावका हुन्छन्, जसले गर्दा भविष्यमा अभिभावक स्वयंलाई अप्ठ्यारो हुन्छ र उनीहरको जिद्दी सम्हाल्न कठिन हुन्छ। अर्को वाक्यमा भन्नुपर्दा त्यस परिवारलाई आदर्श परिवार भन्न सकिँदैन। अधैर्यतालाई त्यागेर धैर्यता अपनाउनु नै सबैका लागि कल्याणकारी कुरा हुन आउँछ। काम, क्रोध, लोभ, मोह त्याग्नुपर्छ भनेर आध्यात्मिक गुरुले भन्ने गर्छन्। तर त्यो भनाइलाई शिष्य वा चेलाहरुले घरमा गएर बिर्सिहाल्छन्। व्यवहारमा लागू गर्न नसक्ने ज्ञान-चेतनाका कुराहरु किन सुन्नु?
साथीभाइ वा आफन्तको छोराछोरीको बिहेका लागि कसैले दबाब दिनु राम्रो होइन। कुनै पनि युवायुवतीहरु आफ्नो वृत्तिविकासमा तल्लीन रहन्छन्। कोही पढ्दै गरेका हुन्छन् भने कोही रोजगारीका लागि प्रयत्न गरिरहेका हुन्छन्। ‘छोराको बिहे गरिदिनुस्’वा ‘छोरीको बिहे गरिदिनुस्’भनेर कसैले कसैलाई भन्नु आवश्यक ठानिँदैन। किनकि छोरा वा छोरीको बिहेका लागि घरमा आन्तरिक कुराकानी, छलफल वा अन्तर्क्रिया भइरहेकै हुन्छ। अरु व्यक्तिले अर्काको छोराछोरीका लागि बोल्नु राम्रो हुँदैन, समय आउँछ, बिहे हुन्छ। पढाइ सक्छन्, रोजगार हुन्छन् अनि बिहे गर्छन्। अरु कोही आत्तिएर कसैको बिहे हुने पनि होइन। त्यसैले अरुको छोराछोरीको छिटो बिहे होस् भनेर चिन्ता लिनु ठीक कुरा होइन।
दुई वर्ष नपुग्दै काखमा रहेको बच्चाले आमाको हातबाट मोबाइल खोस्नु पनि बच्चाको अधैर्यता हो भन्नुमा अत्युक्ति छैन। हिजोआज यस्तो विकृति मौलाएर आएको पाइन्छ। आजकल केटाकेटी हुर्किँदाबित्तिकै मोबाइलको चाहना राख्दछन्, यो पनि सकारात्मक कुरा होइन।
कुनै पनि मानिस दैनिक जीवनमा कुनै न कुनै काममा लाग्नुपर्छ। दैनिकी चलायमान भएन भने उसको आयआर्जन हुँदैन। आयआर्जन गर्नका लागि ऊ कुनै न कुनै पेशामा आबद्ध हुनैपर्छ। आयआर्जन गर्नु मानिसको जीवनचक्रभित्र पर्दछ। सकारात्मक सोच राख्दै धैर्यता अपनाएको खण्डमा जसको पनि दैनिकीमा पक्कै पनि सफलताका मिल्छ।
दैनिक कार्य गर्ने क्रममा कमी-कमजोरी, ढिलाई, झिनामसिना असफलता हुनसक्छन्। यस्तो अवस्थामा ऊ संयम हुनुपर्दछ अर्थात् धैर्यताका साथ रहनुपर्छ। काम विशेषले बिहान, दिउँसो, साँझ कतै जानुपर्ने भएमा परिवारलाई जानकारी दिनुपर्दछ। चिया, नास्ता ढिला भयो भनेर परिवारसँग झर्कनुहुँदैन। परिवारका अन्य सदस्यलाई फुर्सद छैन भने आफैले चिया बनाएर पिउँदा राम्रो हुन्छ। चिया, नास्ताका लागि व्यस्त रहेका परिवारका सदस्यहरुलाई कुर्नुपर्दा समयको बर्बादी हुनसक्छ।
अधैर्य भएमा अर्थात् अशान्ति मच्याइएमा त्यो आफैलाई घातक हुन्छ। क्रोध कसैका लागि पनि उपयुक्त ठानिँदैन। अधैर्य हुनाले परिवारमा नकारात्मक वातावरणको सिर्जना हुने गर्दछ। आदर्श परिवार भनेको परिवारका सदस्यहरुकाबीच एकअर्कामा हुनुपर्ने सहयोग, सद्भाव, सकारात्मक सोच अनि मीठो वचन बोल्नेहरुको समूह हो।
आदर्श परिवारमा अधैर्यता वा अशान्ति सिर्जना किमार्थ हुनुहुँदैन। धैर्यता र संयमता व्यक्ति र परिवारका लागि मात्र महत्वपूर्ण छैन, समाजका लागि पनि उत्तिकै महत्वपूर्ण छ। सभ्य समाज भनेको समाज वा टोलमा बस्नेहरुका बीचमा हुने आपसी सहयोग, सद्भाव र सुविचार चल्ने बस्ती हो। सबैको सरल जीवन कायम भएको समाजलाई नै सभ्य समाज भनिन्छ, जहाँ कसैलाई अप्ठ्यारो पर्दा सहयोग गरिन्छ।
त्यस्तै धैर्यता र संयमता व्यक्ति, परिवार, समाजमा जत्तिकै मुलुकलाई पनि आवश्यकता पर्दछ। मुलुक सभ्य र समृद्ध हुनका लागि मुख्य आधारहरु माथि बताइएअनुसारका कुराहरु हुन्। व्यक्तिको सोच राम्रो हुन सकेमा परिवार सफल हुन्छ, परिवार आदर्श हुन सकेमा समाज सभ्य हुन्छ अनि समाज सभ्य भएमा निश्चय पनि मुलुकको अवस्था समृद्ध हुन आउँछ।
हिजोआज समृद्ध नेपाल भनेर नारामा मात्र सीमित रहेको पाइन्छ। मुलुकमा २०४६ मा प्राप्त प्रजातन्त्रपछि सहिदका सपना अर्थात् जनताले आशा गरेका कैयन कुराहरु पूरा हुनसकेका छैनन्। जनताको मनोभावनालाई कुण्ठित पार्नेगरी भ्रष्टाचारी र गुण्डाहरुलाई स्थान दिइनु दुःखको कुरा हो, जुन विगतदेखि हुने गरेको देखिन्छ। यस्ता कुराहरुमा सरकारमा बस्नेहरुले ख्याल गर्नैपर्ने हुन्छ। चुनावमा मतपेटिका लुट्नु, फर्जी मत खसाल्नु, मारपिट गर्नु सकारात्मक कार्य हुँदै होइन।
सत्तापक्षले प्रतिपक्षलाई दुश्मनको रुपमा हेरिनु हुँदैन। प्रतिपक्षका सकारात्मक टिकाटिप्पणीलाई सत्तापक्षले स्वीकार गर्नुपर्छ र गुनासाहरुलाई कसरी सल्ट्याउने भन्नेतिर लाग्नुपर्छ। प्रतिपक्षले सरकार गिराउन खोज्यो भनेर नेताहरु तात्नथालेमा त्यो मुलुक र जनताका लागि राम्रो कुरा हुँदैन।
विकसित मुलुकमा दुई/चार वटा पार्टी हुन्छन् भने हाम्रोजस्तो अल्पविकसित मुलुकमा राजनीतिक पार्टीको संख्या सवा सयको हाराहारीमा पुग्नु अर्को दुःखको कुरा हो। मुलुकको संविधान, ऐन, कानुन, नियम मानिसको सोचबाट उत्पन्न हुने विषय हुन्। यी विषयहरु आफै बन्ने होइन, यो कुरा धेरैलाई थाहै छ।
अन्त्यमा,
व्यक्ति राम्रो भएमा मात्र परिवार आदर्श बन्छ, परिवार आदर्श भएमा समाज बलियो हुन्छ र समाज बलियो भएमा मात्र मुलुक समृद्ध बन्छ। त्यसैले अधैर्यता, मुर्खता, संयमहीन बन्नु भनेको सबैका लागि घातक हुन्छ। आफ्नो जीवनलाई सहज र सरल तरिकाले अगाडि बढाउनेतिर लाग्दा मुलुककै लागि उत्तम ठहर्छ।