पोखराको क्वारेन्टाइनमा ज्यान गुमाएका व्यक्तिमा कोरोना नभएको पुष्टि

रुपा गाउँपालिकामा क्वारेन्टाइनमा राखेर बुधबार पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचारको क्रममा ज्यान गुमाएका विश्वबन्धु नेपालीलाई कोरोना नभएको पुष्टि भएको छ । 

रुपा गाउँपालिका-५ देउरालीस्थित सामुदायिक वनको भवनमा स्थापना गरिएको क्वारेन्टाइनमा राखिएका नेपालीलाई स्वास्थ्यमा समस्या आएपछि पोखरा लगिएको थियो। उपचारकै क्रममा उनको चैत १२ गते ज्यान गएका थियो ।

उनको ज्यान गएपछि कोरोना भए वा नभएको पुष्टि गर्न नमुना परीक्षणका लागि काठमाण्डौको टेकु अस्पताल पठाइएकोमा रिपोर्ट नेगेटिभ आएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा विनोदबिन्दु घिमिरेले जानकारी दिए।

क्वरेन्टाइनमा राखिएका व्यक्तिको ज्यान गएपछि कोरोना सङ्क्रमण भएको आशङ्का गरिएको थियो। रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाका अनुसार भारतको हैदरावादबाट आएका ५५ वर्षीय नेपालीको क्वारेन्टाइनमा ज्यान गएपछि सर्वसाधारणमा देखिएको मनोवैज्ञानिक त्रास नमुना परीक्षणको रिपोर्टले अन्त्य भएको छ।

प्रकाशित मिति: : 2020-03-28 08:41:34

प्रतिकृया दिनुहोस्