हजारौँ वर्षअघिको समय र अहिलेको समाजलाई एकै अवस्थाबाट हेरेर अध्ययन गर्न सकिँदैन, प्राचीन ज्ञान र आधुनिक विज्ञानबीचको अन्तरद्वन्द्व अहिले हट्दै गएको छ
नेपालको सुदूरपश्चिम क्षेत्रतिर प्रचलित छाउगोठ भत्काउने कि छाउ बार्ने संस्कृति भत्काउने भन्ने बहस काठमाडौं खाल्डोभित्र चलिरहेको छ । विद्युतीय सूचना सञ्जालमार्फत बहसका संगत-असंगत तर्कहरू पक्ष-विपक्षमा देशैभरि छताछुल्ल छन् । गोठकै कारण छाउ सुरु भएझैँ गोठलाई नै छाउको मुख्य कारक मान्ने जमात एकातिर देखिन्छ भने छाउ बार्नुपरेकाले नै समाजको विकास अवरुद्ध भएका तर्क अर्काेतर्फ आइरहेका छन् । संसद्मै यसको पक्ष र विपक्षमा बहस चल्यो ।
रजस्वला बार्नु वा नबार्नु वैज्ञानिक छ कि छैन र त्यसले समाजलाई कस्तो असर पार्छ भन्ने विषयमा थाहा पाउन रजस्वला बार्ने चलन कसरी सुरु भयो भन्ने थाहा पाउन जरुरी छ । यस्तो चलन कसरी सुरु भयो भनेर अध्ययन गर्न आजको समाजलाई हेरेर अथ्र्याउँदा जवाफ प्राप्त गर्न सकिँदैन, हजारौँ वर्षअघिको सामाजिक प्रबन्धतिर फर्केर हेर्नुपर्ने हुन्छ । त्यसवेलाको सामाजिक चालचलनको यो चित्र एकपटक हेरौँ– त्यसवेला मान्छे घुमन्ते जीवन बिताउँथे । शरीर ढाक्ने लुगासम्म पनि सहज नभएको वेलामा रजस्वलामा चाहिने स्यानिटरी प्याडको कुरै भएन । कोसँग शारीरिक सम्बन्ध राख्ने कोसँग नराख्ने भन्ने सामाजिक नियम पनि बनेको थिएन ।
लैंगिक संवेदनाले महिला र पुरुषबीच शारीरिक सम्पर्क हुन्थ्यो । जस्तो अवस्थामा पनि शारीरिक सम्बन्ध राख्न पुरुष त तयार हुन सक्थे, तर महिलामा त्यस्तो सहजता थिएन । जस्तो अवस्थामा पनि शारीरिक सम्बन्ध राख्नुपर्ने हुन्थ्यो । गर्भ रहँदै खेर जाँदै गर्दा शारीरिक रूपमा पनि महिला अत्यन्त कमजोर हुन्थे । प्रतिकूल स्वास्थ्य रहँदा पनि पुरुषको इच्छामा हुने यौनाचारले मानिस पक्कै पनि रोगको सिकार हुन्थे ।
रगत चुहाउँदै खाना बनाउनु, अरू काम गर्नु र त्यसमाथि शारीरिक सम्बन्धका लागि तयार हुनु साँच्चै अकल्पनीय पीडाले भरिएको हुन्थ्यो, महिलाको जीवन । यस्तो अवस्थामा रजस्वला भएको समयमा आराम मिलोस्, यस्तो वेला कसैले शारीरिक सम्बन्ध राखेर दुःख नदेओस् भनेर उनलाई छुन नहुने र उनले पनि छुन नहुने नियम बनाइएको थियो भन्न सकिन्छ । रजस्वला अपवित्र भनेर होइन, यसवेला अपनाउनुपर्ने सुरक्षालाई ध्यानमा राखेर यस्तो वेला छुन नहुने चलन सुरु भएको मान्न सकिन्छ ।
योग तथा प्राकृतिक चिकित्सा क्षेत्रका ज्ञाता योगाचार्य हरिप्रसाद पोखरेलसँगको भेटमा मैले त्यसवेलाको सामाजिक प्रबन्धलाई लिएर प्रश्न राखेँ । उहाँले हिमवत्खण्डमा रजस्वलालाई सृष्टिसँग जोडिएकाले यसलाई अपवित्र नमानिएको जवाफ दिनुभयो । ‘रजस्वला नभई जीवन बन्दैन, त्यसैले रजस्वला सृष्टि हो । त्यसैले मानवजीवनका लागि रजस्वलाभन्दा शक्तिशाली र पवित्र चिज अरू छैन,’ पोखरेलले रजस्वलाको शास्त्रीय मान्यताबारे प्रस्ट पार्नुभएको थियो । उहाँका अनुसार हाम्रा हिमालयवरिपरि विकसित भएको शैव संस्कृतिमा छोइछिटो गर्ने मान्यता थिएन र शास्त्रले पनि भनेको छैन ।