कन्हैया कुमारविरुद्ध राजद्रोहको मुद्दा चलाइने

कन्हैया कुमारविरुद्ध राजद्रोहको मुद्दा चलाइने भएको छ। 

आम आदमी पार्टी नेतृत्वको दिल्ली सरकारले वामपन्थी नेता कन्हैयामाथि देशद्रोहको आरोपमा मुद्दा चलाउन दिल्ली प्रहरीलाई अनुमति दिएको हाे।

अरविन्द केजरीवाल नेतृत्वकाे सरकारले कन्हैयाविरुद्ध मुद्दा चलाउन शुक्रबार अनुमति दिएको समाचार एजेन्सी पीटीआईले जनाएकाे छ।

सन् २०१६ फेब्रुअरी ९ मा जहावरलाल नेहरु विश्वविद्यालय छात्र संघका पूर्वअध्यक्षसमेत रहेका कन्हैयामाथि ‘राष्ट्रविरोधी नारा’लगाएको आरोपमा दिल्ली प्रहरीले देशद्रोहको आरोपमा अदालतमा मुद्दा दायर गरेको थियो।

यो विषयमा प्रहरीले कन्हैया कुमार, उमर खालिद र अनिर्बान लगायत अन्य सात जनालाई अभियुक्त बनाएर उनीहरूमाथि राजद्रोहको मुद्दा दायर गरेको थियो।

पुलिसले अदालतमा आरोप पत्र दायर गरेको थियो तर मुद्दा चलाउन दिल्ली सरकारको अनुमति चाहिन्छ। तर दिल्ली सरकारले अहिलेसम्म यसको अनुमति दिएको थिएन।

दिल्ली सरकारले यसलाई टाल्दै आएपनि पछिल्लो पटक अनुमति दिएको हो। देशद्रोहको मुद्दा चलाउनका लागि सम्बन्धित राज्य सरकारको अनुमति चाहिने भारतीय संविधानमा प्रावधान रहेको छ।

केन्द्रीय गृहमन्त्री अमित शाह र दिल्लीका मुख्यमन्त्री केजरीवालबीच भेट भएको केही दिनपछि नै कन्हैया कुमार, उमर खालिद र आनिर्बान भट्टाचार्यसहितका विद्यार्थी नेताविरुद्ध देशद्रोहको आरोपमा मुद्दा चलाउन अनुमति दिएको हो।

एक वर्षअघि दिल्ली प्रहरीले देशद्रोहको आरोपमा कन्हैया, उमर, आनिर्बानसहित ९ जना विद्यार्थीविरुद्ध एक हजार २ सय पृष्ठको आरोपपत्र तयार गरेको थियो। तर अदालतले देशद्रोहको मुद्दा चलाउन राज्य सरकारको अनुमतिबिना सम्भव नभएको भन्दै रोकेको थियो। दिल्ली प्रहरीले भारतीय संसद् भवन आक्रमणका मास्टरमाइन्ड अफजल गुरुको समर्थन कन्हैयासहितका विद्यार्थीले नारा लगाएको पनि आरोप लगाएको छ।

दिल्ली सरकारको पछिल्लो निर्णय राजनीतिक रुपले प्रेरित भएको कन्हैया कुमारले प्रतिक्रिया दिएका छन्। मेजेस्ट्रियल इन्क्वायरीमा जवाहरलाल नेहरु विश्वविद्यालयका कुनै पनि विद्यार्थी भारतविरोधी अभियानमा नलागेको पुष्टि भएको उनले बताएका छन्। कन्हैया कुमार अहिले कार्यक्रमका लागि झारखण्डको राँचीमा रहेका छन्।

प्रकाशित मिति: : 2020-02-29 10:25:15

प्रतिकृया दिनुहोस्