सङ्घीय सरकारमा सहभागी हुने विषयमा राजपाका नेता विभाजित, यस्तो छ भित्री स्वार्थ

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालमा सङ्घीय सरकारमा सहभागी हुने विषयलाई लिएर नेताहरू पक्ष–विपक्षमा बाँडिएका छन् । एउटा पक्ष पार्टीमा सरकारमा जानुपर्छ भन्ने लबिङमा छ भने अर्को पक्षले कुनै पनि हालतमा सरकारमा जान नहुने बताइरहेको छ । पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सँग निकट सम्बन्ध बनाएको राजपा नेपालले सङ्घीय सरकारमा दुईवटा मन्त्रालय पाउने सम्भावना छ । त्यही अनुसार दुवै दलबीच छलफल भइरहेको बताइन्छ । तर ती दुई मन्त्रालयमा राजपा नेपालबाट कसलाई पठाउने भन्नेबारेमा टुङ्गो नहुँदै सरकारमा सामेल हुने कि नहुने भन्ने विषयमा विवाद बढेको हो ।

पार्टी स्रोतका अनुसार अध्यक्षमण्डलका सदस्यहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी, अनिलकुमार झा, राजकिशोर यादव सरकारमा जाने पक्षमा छन् भने अध्यक्षमण्डलका संयोजक महेन्द्र राय यादव र अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुर सरकारमा जान नहुने पक्षमा छन् । महतो, भण्डारी, झा र यादव सत्ताधारी दल नेकपासँग कुनै सहमति गरेर सरकारमा जानुपर्ने पक्षमा छन् भने संयोजक यादव र ठाकुर सम्झौता मात्र होइन, कार्यान्वयन हुने गरी केही भयो भने मात्र सरकारमा जानेबारे सोच्न सकिने पक्षमा छन् । 

प्रकाशित मिति: : 2020-02-06 06:35:29

प्रतिकृया दिनुहोस्