आज नेपालको संघीय संसदको निर्विरोध सभामुख हुँदैछन् 'अग्नि सर'

प्रतिनिधि सभामा सभामुख चयनका लागि आइतबार निर्वाचन हुँदैछ। सभामुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको एकल मनोनयन परेको छ।

सभामुख चयनको प्रक्रिया अगाडि बढाउन सङ्घीय संसद् भवनमा अपराह्न ३ बजे प्रतिनिधि सभा बैठक बोलाइएको छ। 

सापकोटाको मात्र एकल मनोनयन परेकाले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार उनी निर्विरोध हुनेछन्। नियमावली अनुसार एकल मनोनयन परेमा निर्विरोध हुने व्यवस्था छ। प्रमुख विपक्षी दल नेपाली कांग्रेस र अर्को विपक्षी दल समाजवादी पार्टीले उम्मेदवारी दिन सकेनन्।

बैठकमा सापकोटाका तर्फबाट प्रस्तावक सुवासचन्द्र नेम्वाङले उम्मेदवारको प्रस्ताव पेस गर्नेछन्। वक्तव्यसहित पेस हुने प्रस्तावमा समर्थकले धारणा राख्नेछन्।

सापकोटाको समर्थकमा पूर्वसभामुख ओनसरी घर्ती र नेकपा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ रहेका छन्।

यस्तै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले पनि सापकोटाको उम्मेदवारीकोसमर्थन गर्नेछन्।

प्रतिनिधि सभा नियमावलीको नियम ७ को व्यवस्था अनुसार एक मनोनयन परेकाले प्रस्तावक र समर्थकले धारणा राखेपछि सभाध्यक्षबाट सापकोटा निर्विरोध सभामुख चयन भएको घोषण हुनेछ।

को हुन सापकोटा?

विसं २०१४ फागुन २४, सिन्धुपाल्चोक, कुभिण्डेमा तिलमाया सापकोटा र धनपति सापकोटाको सुपुत्रका रुपमा जन्मिभएका सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट स्नातकसम्मको अध्ययन गरेका छन्। लामो समय शिक्षकका रुपमा सेवा गरेका कारण पनि उनलाई धेरैले उनलाई 'अग्नि सर' भन्छन्।

नेता सापकोटा २०३५ सालमा नेकपा (चौथो महाधिवेशन)बाट पार्टी राजनीतिमा लागेका हुन्। हाल नेकपा स्थायी कमिटी सदस्य रहेका सापकोटा २०६४ चैत २८ गते सम्पन्न पहिलो संविधानसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं २ बाट निर्वाचित भएका थिए।

विसं २०६८ मा सूचना तथा सञ्चारमन्त्री भएका सापकोटा २०७० को दोस्रो संविधानसभाको निर्वाचनमा पनि सिन्धुपाल्चोक–२ बाट दोस्रोपटक संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। तत्कालीन नेकपा (माओवादी)ले विजयी हासिल गरेकामध्ये वाग्मती अञ्चलबाट निर्वाचित हुने एकमात्रै नेता हुन्, उनी। सापकोटाले २०७३ मा नेपाल सरकारको वन तथा भू–संरक्षण मन्त्रीको समेत जिम्मेवारी सम्हालेका थिए।

विसं २०७४ मा भएको प्रतिनिधिसभाको निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा २०४८ सालदेखि सक्रियरुपमा राजनीतिमा क्रियाशील छन्। विसं २०५१ मा तत्कालीन नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य हुँदै २०५१ असोजमा नेकपा (माओवादी) केन्द्रीय सदस्य भएका उनी २०५२ माघदेखि भूमिगत राजनीतिसमेत गरेका थिए।

विसं २०५८ मा तत्कालीन नेकपा (मोआवादी)का तर्फबाट गठन गरिएको तीन सदस्यीय वार्ता टोलीमा रही शान्ति प्रक्रियालाई अगाडि बढाउन महत्वपूर्ण योगदान दिएका थिए। तत्कालीन एकीकृत नेकपा (माओवादी) को हेटौँडा महाधिवेशनबाट पोलिटब्युरो सदस्य बनेका उनले २०६९ साउनदेखि एकीकृत नेकपा (माओवादी) को स्थायी समिति सदस्य तथा पार्टीको केन्द्रीय प्रवक्ताको भूमिका निर्वाह गरे। सानैदेखि विद्रोही स्वभावका सापकोटा कुभिण्डेका सापकोटा परिवारकै पहिलो प्रधानाध्याक हुने व्यक्तिका रुपमा समेत परिचित छन्।

प्रकाशित मिति: : 2020-01-26 20:13:14

प्रतिकृया दिनुहोस्