यो आलेखमा विश्व आप्रवासनको शुरुवात कसरी भयो? विश्वमा आप्रवासनको अवस्था हुँदै श्रृंखलावद्ध रुपमा हालको गैरआवासीय नेपाली संघको स्थापनाको मुल मर्म, धेय र फैलावट, समृद्ध नेपालका लागि भएका व्यापक प्रयास, एनआरएनको सवल पक्षसँगै विकृतिलाई केलाइने छ।यो श्रृखलाको पहिलो भाग:
आप्रवासन के हो ?
डायस्पोरा प्राचीन ग्रीस भाषाबाट उत्पत्ति भएको शब्द हो।ईशापूर्व पाँचौँ शताव्दीतिर यसको ग्रीसेली अर्थ छरिनु, फैलनु र छुट्टिनु भन्नेबाट शुरु भएको पाइन्छ।शुरुका दिनमा धर्म प्रचारका लागि संसारका विभिन्न ठाउँमा पुगेका बीज मानवहरू वा धार्मिक यात्राको क्रममा छरिन जानेबाट कहिँकतै रोकिएका आप्रवासी बन्दै छरिन थालेको इतिहास छ। समयक्रममा १६औं शताव्दीसम्म आइपुग्दा यस शब्दलाई अल्पसख्यक अर्थ लाग्ने जसरी प्रयोग गरियो जस्तो कि क्याथोलिक भूभागमा बस्ने प्रोटेस्टेन्ट वा प्रोटेस्टेन्ट भूभागमा बस्ने क्याथोलिकलाई डायस्पोरा भनिन थालियो।सन् १९६० भन्दा पछि अन्तरदेशीय र ग्लोबल बसाई सराइको सन्दर्भमा डायस्पोरा शव्दको प्रयोग हुन थालेको इतिहास पाइन्छ ।
अहिले विश्वमा डायस्पोराको निर्माण, विस्तारता झन् झनै बढ्दै मात्रै छैन कि त्यसले अर्थतन्त्रमा निकै ठुलो योगदान पनि गर्न थालेको छ।विज्ञान, प्रविधि एवम् आधुनिकीकरणले संसार साँघुरिदै गहिरहेको बेला शिक्षा, सीप, सुविधा र समृद्धि खोज्दै विदेसिने कुरा सामान्य दिनचर्या बन्दै जान थालेको छ।हालसालै संयुक्त राष्ट्रसंघले निकालेको एक प्रतिवेदनले भारत संसारको सबैभन्दा ठुलो डायस्पोरा भएको मुलक देखाइएको छ।संयुक्त राष्ट्रसंघीय नियोगको सष्टेनेवल डिभलपमेन्ट २०१५ मा गरेको एक अध्ययनअनुसार विश्वमा सबैभन्दा बढी आप्रवासी चलायमान हुने मुलुक भारतबाट १७ मिलियन मानिस आफ्नो देश छाडेको तथ्यांक छ।करिव १७ मिलियन जनसंख्या देशबाहिर छन् भने दोश्रो स्थानमा रहेको मेक्सिकोबाट १२ मिलियन जनता देश छोडेर अवसरको खोजीमा विभिन्न मुलुकमा पुगेका छन्। अनुसन्धानात्मक तथ्यांकअनुसार मेक्सिको, रसिया, चीन, बंगलादेश, पाकिस्तान, युक्रेन, फिलिपिन्स, सिरिया क्रमश: भारतपछिका ठुला डायस्पोरा भएका मुलुक हुन्।
पछिल्ला दिनमा सम्पन्न देशले आतंकवादका कारण आफ्ना नागरिकको सुरक्षार्थ भन्दै आप्रवासन नीतिमा कडाई गर्न थाले पनि नेपाली आप्रबासन निकै ठुलो चेपुवामा पर्न थालेको छ।अष्ट्रेलिया सरकारले योग्यता पुगेका विदेशी नागरिकलाई प्रदान गर्दैआएको अष्ट्रेलियन नागरिकता नीतिमा ब्यापक परिवर्तन गरेको छ भने यसअघि नै अमेरिकामा आप्रवासन नीति निकै कडा मात्रै बनाइएको छैन कि निकै साँघुरो पनि बनाउँदै लगिएको छ। आम्दानी र श्रोतका हिसावले सम्पन्न केही मुलुक आप्रवासनलाई एकमुष्ट रोक्ने तयारीमा जुटेको देखिन्छ। अष्ट्रेलियाली सरकारले चालु नागरिकता नीतिलाई परिमार्जित गर्दै नयाँ नियम लागु गर्ने घोषणा गरेको छ। त्यसैगरी यसअघि नै बेलायतमा पनि आप्रवासन नीतिप्रति अनुदार मानिएका सरकारमा सहभागी भएपछि विश्व आप्रवासनमा चुनौति थपिएको छ।
नेपाली आप्रवासन शुरुवात
नेपालको आप्रवासनको इतिहास पनि निकै लामो कालखण्डबाट गुज्रिएको पाइन्छ।बुद्ध धर्म प्रचारको अभियानदेखि शुरू भएको मानिन्छ- नेपाली डायस्पोरा।लिच्छवीकालमा तिब्बतसँगको व्यापारिक एवम् सांस्कृतिक सम्बन्ध वलियो बनाउन नेपाली चेली भृकुटीले तिब्बती राजासँग वैवाहिक सम्वन्ध गाँसेको इतिहास पाइन्छ।
उता वेलायतको नरउईचमा रहेको ईस्ट एंगला विश्वविद्यालयका डेभलवमेन्ट स्टडिज बिषयका प्राध्यापक डेविड सेडनको १ जनवरी २००५ मा माइग्रेशन पोलिसिडट ओआरजीमा प्रकाशित आलेखअनुसार नेपालमा १९औं शताब्दीको शुरूदेखि बैदेशिक रोजगारको क्रममा पहाडी क्षेत्रका मानिस पञ्जावको उत्तरी क्षेत्रमा रहेको लाहोरतिर माइग्रेशन भएको उल्लेख गरेका छन्।जसलाई गोर्खा माइग्रेडेट भनिदो रहेछ।उनीहरू सिंख राजा, रंजित सिंहको राज्यकालमा सैनिकको रूपमा आर्मीमा भर्ति भएका थिए।विभिन्न मार्ग हुँदै प्रवासमा पुगेका नेपालीका लागि सन् १८१६ मा एंग्लो-नेपाल सन्धीपछि भारतबाहेक देशमा नेपालीलाई जान कानुनी प्रक्रिया बाधा बन्न थालेकोे विभिन्न आलेखरमा उल्लेख छ।
एक आलेखमा उल्लेख भएअनुसार गोर्खा क्षेत्रमा लडाई सकिएपछि सन् ब्रिटिस इस्ट इण्डिया १८१४ देखि सन् १८६० सम्म गोर्खाको संख्या बढाउने काम गर्यो।जुन अहिले लाहुरे संस्कृतिको रूपमा विकास भएको छ।एवं रीतले पहिलो र दोस्रो विश्वयुद्धमा गोर्खाजको माग झनै बढ्यो।यसपछि निजी क्षेत्रबाट बैदेशिक रोजगारीमा लैजान थालियो। गल्फलगायत खाडी राष्ट्रमा श्रमिक जान थालेको त निकै पछिमात्रै हो।
अहिले पछिल्लो समयमा शिक्षाका लागि विद्यार्थीहरू दिनप्रति दिन हजारौको सख्यामा बाहिरीरहेका छन्।यसरी नेपाली डायस्पोरा हालसम्म आउँदै गर्दा यो झन झनै विस्तारित हुँदैगैरहेको छ।देशमा विगतमा भएको द्धन्द्ध, राजनैतिक अस्थिरता, वेरोजगारी आदि कारणबाट जन्मभूमिभन्दा कर्मभूमिको खोजीमा नेपालीहरु विदेसिएको देखिन्छ। नेपालको पछिल्लो तथ्यांकअनुसार सरदरमा कम्तिमा पनि एक परिवारको एक सदस्य डायस्पोराको सदस्य भैसकेको अवस्था छ ।
आजको युगमा सूचना, सञ्चार, बिज्ञान र प्रविधिमा आएको चमत्कारिक विकासका कारण मानिसहरु एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण हुने नयाँ समुदायसँग घुलमिल भै बस्ने नयाँ चालचलन द्रुतदर गतिमा बढ्दै गएको छ।
विश्वका जुन कुनै समुदाय वा मानिससँग फरक चालचलन, भाषा र संस्कृति भएपनि मिलेर बस्ने परम्परा सामान्यजस्तै हुँदै गएको छ।
अमेरिकामा नेपाली कहिलेबाट आए ?
यतिखेर संसारकै मानिसका लागि आप्रवासनको स्वर्ग मानिएको अमेरिकामा नेपाली कहिलेदेखि आएका होलान् भन्ने प्रश्न निकै जटिल छ।कुन बाटो कसरी आए प्रष्ट छैन तर सन् १९४० को दशकमा अमेरिकामा नेपाली आई पुगेको देखिन्छ।त्यतिखेर ती नेपाली भारतबाट पन्जावीहरुसँग मिलेर रेलमार्ग बनाउन आएको अनुमान गरिएको छ।पहिलोपल्ट सन् १९५२ मा एकजना नेपालीले अमेरिका स्थायी बसोवास प्रमा पत्र लिएको सिनास जर्नलमा (सन् १९९९) रमेश ढुंगेलको आलेखमा उल्लेख छ।७२ बर्ष अगाडि अर्थात सन् १९४७ मा भारत बेलायती उपनिवेशबाट स्वतन्त्र भएपछि नेपाल-अमेरिका दौत्यसम्बन्ध स्थापना भएको पाइन्छ।तर पनि नेपालमा राणा शासन भएकोले नागरिकका लागि विदेश जान प्रतिवन्ध जस्तै थियो। तर पनि अमेरिकासँगको सम्बन्धका कारण राणाका आसेपासेहरु पनि त्यसपछि आप्रवासनमा लुकीलुकी भएपनि जान थालेको देखिन्छ ।
सन् १९५१ मा राणा शासनको पतनपछि अवसरको खोजीमा विभिन्न माध्यम अंगालेका नेपालीका लागि सन् १९६० मा तत्कालिन पहिलो जननिर्वाचित प्रधानमन्त्रि वीपी कोइरालाको सरकार राजा महेन्द्रबाट अपदस्त भएपछि नेपाली आप्रवासनमा पुन: प्रतिबन्ध जस्तै लाग्न पुग्यो ।
अमेरिकामा नेपालीको इतिहास हेर्दा सन् १९५२ देखि १९९० सम्म पुग्दा एकहजार पाँचसय ७३ जना नेपालीले स्थायी बसोबासको अनुमति पाएको अमेरिकी ब्युरो अफ सेन्सस र अमेरिकन इमिग्रेसन एण्ड नेचुरलाइजेसन सर्भिस (आईसिपीएसआर) को सन् १९९३ मा प्रकाशित प्रतिवेदनमा उल्लेख छ। जव अमेरिकाले नेपाललाई सन् १९९० मा डीभी लोटरीमा सामेल गरायो, त्यसपछि सन् १९९० देखि सन् १९९३ सम्ममा अन्य माध्यम अपनाएर अमेरिका आएर आठसय ६० जनाले ग्रीन कार्ड लिएको तथ्यांक छ।हाल आएर कुनै खास तथ्यांक नभए पनि अमेरिकामा नेपालीको सख्या तीन लाख नाघेको अनुमान छ ।
चुलिंदो आप्रवासनको चुनौति
प्रायजसो आप्रवासीका लागि निकै ठुलो चुनौति पहिलो पुस्ताका लागि सीप र कानुनी बैधता नै हो । तथ्यांक केलाउने हो भने विश्वमा बैधानिक आप्रवासनको झण्डै एकतिहार्ई अर्थात २७ प्रतिशत आप्रवासी अवैधानिक आप्रवासी रहेको देखिन्छ जो कानुनत वैधानिक छैनन्।केही सम्पन्न मुलुकका लागि अवैधानिक आप्रवासन टाउको दुखाइ बनेको छ।अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले सत्ता सम्हालेपछि अमेरिकामा आप्रवासीको बैधानिकतामाथि राज्य निर्मम हुँदै गएको छ।अवैध आप्रवासी निमिट्यान्न पार्ने रणनीतिअनुसार एकपछि अर्को कानुनी कडाइ गरिएका छन्।राष्ट्रिय सुरक्षालाई मूलमन्त्र मान्दै संसारभरका लागि स्वर्गीय आप्रवासन मानिने अमेरिकाले त्यसो गरेपछि आप्रवासी जनजीवनमा कठिनाइ उत्पन्न हुँदैगएको छ ।
आप्रवासीहरु खासगरी आफ्नो देश छाडेर अर्काे देशमा जानका लागि आर्थिक रुपमा सबल बन्ने चाहना हुन्छ । त्यस देशमा आवश्यकता पूर्तिका लागि सहज आपूर्तिको व्यवस्था सहज चाहन्छन।विश्वभर विग्रदो वातावरणीय प्रदुषणका कारण राम्रो वातावरण खोज्ने प्रवासी संसारभर आफुलाई मनपर्ने स्थानमा सर्छन।कोही उमेर छंदै कमाउने र उमेर बढ्दै जाँदाको अवस्था अर्थात रिटार्यमेन्टका बेला सुरक्षित हुने स्थानको खोजीमा मानिसहरु विश्वभर आफ्नो थातथलो भन्दा उत्तम स्थानमा भौतारिरहेका हुन्छन्।राजनीतिक रुपमा पनि शान्त र लोकतान्त्रिक वातावरण संसारका आप्रवासीको रोजाइ हुन्छ।
आप्रवासनका लागि जुन जुन मुलुक राम्रा मानिएका थिए, पछिल्ला दिनमा ती मुलुकमा कठोर नियम ल्याइएका छन्, असहज बनाइदै छन्।रोजगारीका लागि सजिलो र बाँच्नका लागि रोजगारीले पुग्ने सहज स्थान परिवारलाई खुशी दिने त सबै आप्रवासीको अन्तिम लक्ष्य नै हुन्छ।त्यसैले पनि आप्रवासन विश्वव्यापीकरणको एक अंग हो । पछिल्लो समय आप्रवासनमा मुख्य समस्या बढ्नुमा विकसित मुलुकले अविकसित मुलुकबाट आउने आप्रबासीलाई सुरक्षा चुनौतिका रुपमा लिनु नै हो।जसका कारण हरेक विकसित देशमा आप्रवासनलाई रोक्न खोज्नेहरु राष्ट्रवादी कहलिंदै गएको पाइन्छ।
आर्थिक रूपमा सम्पन्न भएका भएका देशको ठुलो हिस्सा देशबाहिर रहेको देखिन्छ भने विकासशील, विकासन्मुख, गरिब, युद्धग्रस्त, राजनैतिक अस्थीरता भएका देशवाट आर्थिक अवसर, धार्मिक एवम् राजनैतिक स्वतन्त्रता, सम्पन्नताको खोजी, शान्तिपूर्ण जीवनयापनको लागि ठुलो हिस्साको जनसंख्या देशभन्दा बाहिर देखिन्छ । त्यसरी नै होला नेपाली सन्दर्भमा पनि ४० लाखभन्दा बढी जनसख्या आप्रवासनका लागि सार्कबाहेक विश्वका विभिन्न एक सय ९० मुलुकमा पुगेको पछिल्लो तथ्यांक छ। यसरी निर्माण र विस्तार हुने डायस्पोराबाट नेपाल पनि अछुत छैन, बरु बढ्ने क्रम डरलाग्दो ढंगले फैलिरहेको छ।