कप्तान विलियम्सनले ४ विकेटले जिताए न्युजिल्यान्डलाई

Agency

कप्तान केन विलियम्सनले विजयी रनभन्दा अगाडि छक्का लगाउँदै सतक पुरा गरेपछि दक्षिण अफ्रिकालाई ४ विकेटले पराजित गर्दै न्युजिल्यान्ड विश्व कपको सेमिफाइनल नजिक पुगेको छ।

बर्मिङ्घममा २० वर्षपछि न्युजिल्यान्डलाई पराजित गर्न मैदानमा उत्रिएको दक्षिण अफ्रिकी ब्याट्सम्यानले सुरुमा आफ्ना समर्थकलाई निरास पारे। यसपछि कसिलो बलिङ गरेपनि कप्तान विलियम्सनले संयमित हुँदै १ सय ३८ बलमा अविजित १ सय ६ रन बनाएपछि न्युजिल्यान्ड विजयी भयो।

न्युजिल्यान्ड ६ खेलमा १० अंक बटुल्दै विश्व कपको सेमिफाइनल नजिक पुगेको छ।

पहिलो ब्याटिङका लागि उत्रिएको दक्षिण अफ्रिकाले वर्षाका कारण ४९ ओभर ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा २ सय ४१ रन बनाएको थियो। अफ्रिकाका लागि हासिम अमला ५५ र भान डेर डुसेनले अविजित ६७ रन बनाएका थिए।

प्रत्युत्तरमा ८० रनमा ४ वकेट गुमाएको न्युजिल्यान्डका लागि कप्तान विलियम्सनले उत्कृष्ट इनिङ खेले। उनको विश्व कपमा पहिलो सतक थियो। न्युजिल्यान्डका लागि प्रारम्भिक ब्याट्सम्यान मार्टिन गुप्टिलले ३६ र पुछारमा ग्रान्डहोमले ६० रन बनाएका थिए।

न्युजिल्याण्डले ३ बल खेल्न बाँकी रहँदै ६ विकेटको क्षतिमा २ सय ४५ रन बनाएर विजयी भयो। ‘म्यान अफ दि म्याच’ कप्तान विलियम्सन घोषित भए।

 

प्रकाशित मिति: : 2019-06-20 01:04:30

प्रतिकृया दिनुहोस्