कैलाली कारागारको फितलो व्यवस्थापन

जेलभित्रै ‘ड्रक्स र दारु पाटी’, कैदीको हातहातमा मोबाइल (भिडियाे)

प्रशासनको फितलो व्यवस्थापनले कैलाली कारागारभित्र दैनिक मदिरा पाटीदेखि लागुऔषध कारोबार हुने गरेको रहस्य खुलेको छ। जेलर (कारागार प्रमुख) पदमराज तिमिल्सिनाको सेटिङ (मिलेमताे)मा कारागारभित्रै अनेकौँ धन्दा हुने गरेको स्रोतले खुलासा गरेको हाे।

स्रोतकाअनुसार कारागारभित्रका नाइके, भाइ-नाइके, चौकीदार तथा बैदारको मिलेमतोमा कारागारभित्रै लागुऔषध कारोबारदेखि मदिराको कारोबार र गुण्डागर्दी हुने गरेको छ। जसको परिणामस्वरुप जेठ २२ गते कैदी र थुनुवाबीच कुटाकुट भयो।

२२ गते राति करिब ११ बजे दुई समूहबीच कुटाकुट हुँदा दुई जना घाइते भए। तर कारागारको सुरक्षा प्रशासनले भने कुटाकुट भएको थाहा पाएन। उक्त कुटाकुट भएको विषय २३ गते बिहान मात्र थाहा पाएको कारागार प्रशासनका कर्मचारी लालबहादुर बोगटीले बताए।

कारागारको सुरक्षाका लागि खटिएको प्रशासनकै गैरजिम्मेवार भनाइले कैदीबन्दीको मिलेमताे प्रशासनसँग छ भन्ने शंकालाई थप बल पुर्याउँछ। जेठ २२ गते कैलालीको बडुवाल हत्याकाण्डका आरोपितहरुको समूहले कुटपिट गर्दा कैदीबन्दी खकेन्द्र बम, सन्तोषजंग शाही घाइते भए। अहिले उनीहरुको अनेत्रै सरुवा भएको छ। कारागारभित्र कुटाकट भएपछि ८ जना थुनुवा र १६ जना कैदीबन्दी गरी २४ जनाको सरुवा भएको छ।

यति मात्रै होइन, कैलाली कारागारमा यसअघि पनि प्रशासनको मिलेमताेमा कारागारभित्र लागुऔषध कारोबार भएको कुरा सार्वजनिक भएको थियो। कारागारभित्र कैदीबन्दीबाट मासिक रुपमा असुली गरी लागुऔषध कारोबार गर्ने, मदिरा बिक्री गर्ने, तास खेलाउनेजस्ता कार्य हुने गरेको कारागार स्रोतले बिएल नेपाली सेवालाई बतायो।

कारागार प्रशासनको मिलेमताेमा चर्को रकम लिएर कैदीबन्दीहरुलाई बाहिर घुम्न जान दिने गरेकोसमेत स्रोत बताउँछ। कारागारमा विशेषत: भूपेन्द्र बडुवाल हत्या प्रकरणका अभियुक्तहरूले कारागारभित्रै अवैध कारोबार गर्ने र गुन्डागर्दी गर्ने गरेका छन्। स्रोतले उक्त अवैध कारोबारलाई जेलर तिमिल्सिनाले संरक्षण दिएको बतायो।

बिएल नेपाली सेवामा प्राप्त एक भिडियोअनुसार कारागारभित्रै लागुऔषध खैरो हिरोइनको कारोबार भएको देखिएको छ। भिडियोमा देखिएका एक अर्धनग्न युवाले लागुऔषध बिक्रीपछि नगद कारोबार गरेका छन्।

त्यस्तै कारागारभित्र हरेकजसो कैदीसँग मोबाइल फोन हुने गरेको पनि स्रोतले बतायो। कानुनतः कारागारभित्रका कैदीलाई मोबाइल राख्न प्रतिबन्ध हुन्छ। तर, कैलाली कारागारका कैदीहरूले भने कारागारभित्रबाट अवैध कारोबार गर्न मोबाइल फोन प्रयोग गर्ने गरेका छन्।

कैलाली कारागारको क्षमता १५० जनाको हो। तर अहिले ६६५ जना कैदीबन्दी र थुनुवा रहेको कारागार प्रशासनका कर्मचारी बोगटीले जानकारी दिए।

२३ कात्तिक २०७८ मा भुपेन्द्र बडुवालको हत्या भएपछि अहिले हत्या आरोपमा दर्जन बढी थुनुवा कैलाली कारागारमा छन्। बडुवाल हत्या अभियोगमा पुर्पक्षका लागि थुनुवामा रहेका नवीन रावल, अशोक रावल, महेश रावल, विकास शेरचनलगायतले अहिले कारागारमा अवैध धन्दा चलाइरहेको स्रोत दाबी गर्छ।

प्रकाशित मिति: : 2023-06-14 22:00:00

प्रतिकृया दिनुहोस्