‘जिन्दगीमा कहिल्यै पनि कसैलाई बेकार नसम्झिनू। किनकि, बन्द भएको घडीले पनि दुई पटक सही समय बताउँने गर्छ,’ यही कथन लागू भएको छ नुवाकोटका अंकल बहादुर तामाङ (२७) माथि।
वि.स. २०६९ सालमा काठमाडौंबाट नुवाकोट जाँदै गर्दा उनी साथीसँगै बसको छतमा बसेका थिए। रूखको हाँगामा लागेर बसको छतबाट अंकल तल खसे। अरूलाई केही भएन। तर, अंकलको स्पानल–कर्ड भाँच्चियो।
त्यो दिनको घटनाले अंकललाई पटक पटक झस्काउँछ। जीवन कामै नलाग्ने भयो भनेर अंकल डिप्रेसनमा गए। तर उनी अस्तालबाट बिआइए फाउण्डेसनमा पुगे। त्यहाँ उनले आफू जस्तै १ सय ३० जना देखे।
‘ए यस्तो भएको मलाई मात्र होइन रहेछ। म जस्ता धेरै रहेछन् भनेर,’ भनेर उनलेचित्त बुझाए।
अंकललाई फाउण्डेसनमा बसेर थान्क पेन्टिङ सिके र अहिले थान्का पेन्टिङ गर्छन्। ‘सकियो जीवन भन्ने लागेको थियो। अहिले पहिले जस्तो बोर लाग्दैन। व्यस्त हुन्छु। अब त खुसी नै छु।’
अंकल जस्तै सुदूरपश्चिम बेलौरीकी जुना शाह पनि भगवानलाई मृत्यु मागेकी थिइन्। तर, मृत्यु माग्ने बित्तिकै कहाँ मिल्दोरहेछ। स्पानल इन्जुरीको भारतमा उपचार गराएपछि ११ वर्ष जुनाले ओछ्यानमा बिताइन्।
उनीसँग व्हीलचेयर पनि थिएन। स्पाइनल इन्जुरी भएमा शरीरको तल्लो भाग चल्दैन। दिशा, पिसाप भएको पनि थाहा हुँदैन।
जुनाको पिसाप फेर्ने लगाइएको पाइपले गर्दा इन्फेक्सन भएर पाकेका कारण अहिले पनि उनको समस्या अरू भन्दा बढी छ।
२०६१ सालमा स्पाइनल इन्जुरी भएकी जुना ओछ्यानमा थला परेकी थिइन्। उनको शरीर कुहिन मात्र बाँकि थियो। उनी जस्तै अर्की महिलाले उनलाई काठमाडौंको बिआइए फाउण्डेसनका बारेमा बताइन्।
जुना शाह पाँच वर्षअघीस काठमाडौंको जोरपाटीस्थित बिआइए फाउण्डेशनमा पुगिन्। पाँच वर्षदेखि जुना थान्का पेन्टिङ सिकेर थान्का बनाउने काम गरिरहेकी छिन्।
जुना पनि आफू जस्तै साथीहरू पाएपछि अरू पनि म जस्ता रहेछन् भनेर उनीहरुसँगै रमाउन खोजिन्।
त्यसपछि जीन्दगी देखेर हार्नुभन्दा बाचुञ्जेल खुसीसँग बाच्ने उनले अठोट गरेकी छन्।
जुनाले पकेट खर्चवापत अहिले मासिक तीन हजार पाँउछिन्। उनी बिएण्डबी अस्पतालमा ३-३ महिनामा पिसाप नलीमा लगाइएको पाइप परिवर्तन गर्न जान्छिन्।
जुना जस्तै अर्का हुन् नगावाङ छिरि शेर्पा। उनको पनि स्पाइनल इन्जुरी भएपछि जीवनदेखि हिम्मत हारेर बसेनन्।
काठमाडौंको घरमै बसेर ४ वर्ष थान्का पेन्टिङ सिके। त्यसपछि उनले आफू जस्तै अरूका लागि पनि काम गर्ने निधो गरे। शेर्पाले अहिले यहाँ सबैलाई थान्का पेन्टिङ सिकाउने काम गर्छन्।
समाजिक क्षेत्रमा काम गरिरहेका छोइङ्गल रिम्पोचेसँग भेट भयो। नवाङ छिरी शेर्पासहित केही जना साथीहरू मिलेर सन् २०१४ मा बिआइए फाउण्डेसन खोले।
छोइङ्गल रेम्पोचे बिआइए फाउण्डेसनका संस्थापक अध्यक्ष हुन्। बिआईए फाउण्डेसनले जीवनदेखि हार खाएका, आफ्नो जीवन बेकार ठानेका र आफ्नै घरमा हेपिएर, काम नलाग्ने भनेर बसेकाहरुका लागि स्थापना भएको संस्था हो।
हुन पनि बिआइए फाउण्डेसनमा अहिले विभिन्न किसिमका अपाङ्गता भएका १३० जना महिला र पुरूषहरु छन्। जसमा पुरूषको संख्या धेरै छ।
बिआइए फाउण्डेसनले विशेष गरेर घरबाट अपहेलनामा परेका, आर्थिक अवस्था कमजोर भएका व्यक्तीलाई राख्ने गर्छन्। त्यस्ता व्यक्तिलाई उनीहरू अनुसारको सिपमुलक काम सिकाउने गर्छ।
सिप सिकाएर प्रमाण पत्र मात्र होइन् उनीहरुलाइ स्वाभलम्वी बनाउने काम गरिरहको छ। बिआइएमा बस्नेहरू खाना बनाउने काम बाहेक आफ्नो काम आफैं गर्छन्।
उनीहरुले आफ्नो सिप अनुसार पकेट खर्चदेखि मासिक पारिश्रमिक पनि पाउने गरेको बिआइए फाउण्डेसनका प्रवन्ध निर्देशक गोकर्ण ढुङ्गानाले बताए।
यहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका अपाङ्गता भएका व्यक्ति छन्। यहाँका अपाङ्गता भएका व्यक्तिले बनाएका हस्तकलाका सामाग्री विषेश गरेर विदेशमा निर्यात गरिन्छ। जसले गर्दा उनीहरूको पालनपोषणका लागि कसैसँग माग्नु नपरेको ढुङ्गानाले जानकारी दिए।
यहाँ बस्नेका लागि खाने, बस्ने र औषधिउपचार निःशुल्क हुन्छ।
भोलिका दिनमा बिआइए फाउण्डेसनलाई देशभरी फैल्याउने योजना रहेको व्यवस्थापक पक्षले बताए।
बिआइए फाउण्डेसनले अहिलेसम्म अरूको भाँडाको घरमा बसिरहेको थियो। अबको केही वर्षमा फर्पिङमा बन्दै गरेको आवासगृहमा स्थानान्तरण हुनेछ।
केही संख्यामा अपाङ्गता भएका व्यक्तीहरू किर्तिपुरमा बस्ने गर्छन्। केही संख्या बौद्ध, जोरपाटीमा बस्ने गर्छन्।
अहिले हस्तकला सम्बन्धी सिप सिकिरहेका योग्य जनशक्तिलाई तयार गरेर भोलिको दिनमा उनीहरूलाई नै ट्रेनरको रुपमा तयार गर्दै गरेका छन्।