मध्य तथा सुदूरपश्चिम- १
कवि मिनबहादुर विष्टको कविता ’साला पहाड मे क्या है‘ भित्रबाट उद्घृत गरेको छु आजको शीर्षक। पछिल्लो समय जबजब सम्झिन्छु पहाड। जबजब पुग्छु पहाडमा त्यो कविताका केही हरफहरू आइदिन्छन् स्मृतिमा। भदौरे मूलफुटे जस्ता भावनाका अनेकौ लहरहरू तरङ्गित हुन थाल्दछन् मनमा। जहाँ पुगे पनि खड्किएकै हुन्छ जन्मभूमिको अभाव। बढीरहन्छ विगतका दिनहरू ती डाँडाकाँडा हिमाल, पहाड र गोरेटाहरूको सम्राइ। लाडिन थाल्छन् केही दृश्यहरू मनमुटुमा।
जिन्दगीको विश्वविद्यालय भन्नु त्यही अनुभव र अनुभूति नै त रहेछ। बादल, हुस्सु, घाम, पानी, छाया, तुवालो के भेटाउँदैन र जिन्दगीले। आँसु हाँसो चित्कार, मिलन, बिछोड, प्रेम के केको भारी बोक्न सिकाउँदैन र समयले। मात्रै बाँच्न सिक्नु पर्दोरहेछ। बाँच्न त लोभी पापी र किर्पणी घुस्याहा अनि टपरटुय्याहरूको ठुलो जमात पनि बाँचिरहेकै छ। तर ती बञ्जर मुटु र मन भएका जन्तुहरूभन्दा गाउँका सोझासाझा निस्वार्थ प्रेमिल मनहरूको बचाई निकै नै अर्थपूर्ण छ यो जगतमा।
कार्तिकको अन्तिम साता डोटीको तिजाली गाउँबाट हिँडेको थिएँ मुडेगाउँ जानका लागि। कच्ची बाटोमा क्षमताभन्दा बढी यात्रु बोकेको गाडीमा झुण्डिएर यात्रा गर्न निकै नै सकस भएपछि काफलीका पुजारी रामचन्द्र ओझा, धामी धर्मसिंह बोहरा र शिक्षक तपराज ओझासँगै आधि बाटो नाप्दाको यात्रा अविष्मरणीय थियो। तिजालीबाट धुर्कोट पुग्दासम्म आँखामा नाचिरहेका थिए त्यहाँबाट देखिने सैपाल हिमालका चुचुराहरू। धुर्कोटबाट अझ नजिक देखिने हिामालका ती सेता भित्ताहरू जिन्दगीका प्रतिकझै देखिन्थे। सूर्यका किरणहरूले सुम्सुम्याउँदा प्रेमिल बनेर बिस्तारै आँसु झार्छन् र कैयौं खोला र नदीको रुपमा डाँडाका खोचबाट बगिदिन्छन् हिमालहरू। त्यही हिमाल पग्लेको पानी लिएर जिन्दगीका किनारा भिजाइरहेको मान्छे हिँड्न सक्दैन प्रेमिल मन लिएर, आत्मीयताको पछ्यौरी ओढेर।
बालुका देवीको जात्राको दिन बिहानबिहानै मुडेगाउँस्थित प्रर्यटन क्षेत्रका हस्ती अमरबहादुर शाहीको आँगनमा भेटिएका थिए सडक बिभाग डोटीका निमित्त प्रमुख बलिराज मल्ल, उद्योग वाणिज्यसंघ डेटीका पूर्व अध्यक्ष तथा व्यवसायी नरेन्द्र खड्का, र होटेल व्यवसायी संघ डोटीका अध्यक्ष दीपक बहादुर खड्का। त्यो भेटघाटको संयोग जुराइदिएका थिए अमर बहादुर शाहीले। बिहानको खाना खुवाएर बालुका देवीको जात्रा हेर्न निम्तो थियो त्यो। मुगु निवासी बलिराज मल्ल भाषा, साहित्य र संस्कृति क्षेत्रका मर्मज्ञ थिए। सन्दर्भ सुहाउँदा पुराना मार्मिक डेउडा गीत सुनाइरहेका थिए गीता∙े नरेन्द्र खड्काले। अमर शाहीको परिभाषामा नरेन्द्र कुनै पार्टीका नभएर ठाउँका नेता हुन्। इमान्दार र शाहसिक मनुवा हुन्। उनी यसका अलावा लोभलालच नभएका एक कुशल गीतकार पनि हुन्। धेरैलाई थाहा छैन उनी डेउडा गीतको सवाल जवाफमा दिनरात बिताउन सक्छन् भन्ने कुरा। एकचोटी सुनेका गीत कण्ठस्थ पार्न सक्ने अद्भूत क्षमता छ उनीसँग।
तिहार सिद्धिने बित्तिकै सुरु हुन्छ जात्राको पर्व। जात्रा हेर्नकै लागि केही वर्ष अघि डोटी मुडेगाउँमा पुगेका भक्तपुरका अमृत भादगाउँले जात्राको सम्झना गरिरहेका थिए फोन मार्फत। जसलाई हिजो आज सुदूरपश्चिमको संस्कृतिले मोहिनी लगाएको छ। पर्यटन क्षेत्रमा कलम चलाइरहेका भाद्गाउँले सुदूरपश्चिमको पर्यटन सम्बन्धी बढी कलम चलाउनेमा समेत चिनिएका छन्।
माथि बालुकादेवीको मन्दिरबाट नजिकै देखिन्थ्यो भागेश्वर र सालमुनिको मन्दिर अनि सेतीको रमणीय दृश्य। छुट्टै मिथ बोकेका छन् निकै नै चर्चित मानिने भागेश्वर र सालमुनिले। पुराणमा सीता नदीका नामले चिनिएकी सेती बगिरहेकी छन् भागेश्वर र कपड्यौतीको मन्दिर छेवैबाट। नदीहरू सभ्यताका मुहान हुन्। स्वभिमानका घटा हुन। लगनशिलताका छाल हुन्। अस्तित्वका पहिचान हुन्। जिन्दगीको सुन्दर गति पनि हुन्। ताण्डव नृत्य देखाउने सनक पनि चढ्छ नदीसँग कहिल्यै। एक्ला यात्री बनेर पनि उल्लासका साथ बगिदिन्छन् नदीहरू। सिक्नु पर्ने धेरै कुराहरू थिए मान्छेले नदीबाट। तर अहंकारी मान्छे सिक्न खोज्दैन।
बालुका देवीकोे मन्दिर प्राङ्गणमा बाक्लो भीड थियो जात्रा हेर्न आउनेहरूको। मध्य तथा सुदूरपश्चिमका जात्राहरू टाढादेखि आएका भक्तजनहरूको भगवान्प्रतिको आस्था र मंगल धुनका तरङ्गहरू पनि थिए। हौसिए मनकालागि रमितामय स्थल थिए। स्थानीय तहमा उत्पादन हुने समग्रीहरू खरिद बिक्रि गरिने बजार थिए। वर्षदिनमा एकपटक आउने जात्रामा केटाकेटीका खेलौनादेखि युवा युवतीका श्रृगारका सामान र दैनिक जीवनमा प्रयोग हुने अदुवा बेसार, खुर्सानीदेखि फलफूल र साग तरकारी समेत खरिद बिक्री गर्ने चलन छँदैछ।
अहिलेका हाटबजार जस्तै थिए विगतमा जात्राहरु। जात्राहरू रमाइलो गर्ने र टाढाका आफन्तजनहरूसंग भेटघाट गर्नुका साथै प्रेमिल मनका उपहार साटासाट गर्ने, नौलो चिनजान गर्ने संगमस्थल पनि थिए। विगतमा सूचना सम्प्रेषण गर्ने साधनहरू थिएनन्। यस्तै खाले भेटघाटमा एकअर्काको हालबात थाहा पाउन सकिन्थ्यो। जात्राको सांगीतिक तरङ्गले शरीरमा ऊर्जा बढाउने काम हुन्थ्यो। उमङ्ग र हर्षोल्लासका माध्यम थिए विगतका जात्राहरू, जहाँ काम विभाजनले सामाजिक तथा उत्तरदायी भावनामा बृद्धि हुन जान्थ्यो। नयाँ लुगाकपडामा सजिएर जात्रास्थलमा पुग्दा जीवन र जगतप्रतिको आस्था, प्रेम र विश्वास बढ्थ्यो।
अर्को गाउँका मान्छेले त्यो भन्दा राम्रो व्यवस्थापन गरी रामहौस गर्ने अठोट पनि गर्थे। स्वस्थ सकरात्मक र सिर्जनशील प्रतिस्पर्धा गर्ने ठाउँ थिए जात्राहरू, जहाँ फुर्सदको समयमा मनोरञ्जन लिनुका साथै प्रेम, सद्भाव र मनोवैज्ञानिक उपचारका सम्बाहक पनि बनिदिन्थे। पछिल्ला दिनमा मदिरा सेवन गरेर होहल्ला गर्नुका साथै लडाइ झगडा हुने गरेका थुप्रै उदाहरणहरू छन्। अचेल आफन्तजनहरूसँग भेटघाट गर्न र हालबात बुझ्नलाई कुर्नु पर्दैन जात्रापर्व। माध्यम बनिसकेकाछन् हातहातमा बोकेका संचारका सामग्रीहरू। तर पनि जात्राको महत्व छुट्टै खालको छदैछ।
कथा भन्छ – हाल डडेल्धुरा जिल्लामा पर्ने गन्याप शिखरदेखि डोटीको लाना केदारसम्मका देवताको छलफल यसै ठाउँमा भएको हो। लडाईमा कतिपय देवताहरूका हात खुट्टा टुटेर अपाङ्ग बन्न पुगेका हुन्। त्यसैले यस क्षेत्रमा मनाइने जात्रामा धामीहरू नाच्दा कोही एक खुट्टाले नाच्ने गर्छन् भने कोही घोप्टो परेर हात र खुट्टाले नाँच्ने गर्छन्। कोही कम्मारमा हात लगाएर बिभिन्न तरिकाले नाच्ने गर्छन्। लडाईका क्रममा अन्तिम समयमा देवताहरूकै जीत हुन्छ। खापरेलाई परास्त गरेर टाउको काटी ल्याएको र उक्त टाउको हालको शिखर नगरपालिका अन्तर्गत पर्ने कफल्लेकीमा राखिएको थियो भन्ने किम्वदन्ति छ। खापरेको टाउकोको स्वरुपको बस्तु हाल पनि कफल्लेकीमा देख्न सकिन्छ। यो एक पौराणिक कथामा आधारित मिथ हो।
सेती नदीको किनारदेखि माथितिर अवस्थित बालुका देवीको पुरानो माडू सडक माथिको उर्वर जमिनमा थियो। जहाँ केही वर्ष अघिसम्म पुरानो मन्दिरको भगनवशेष देख्न सकिन्थ्यो। हाल त्यहाँ छेउमा रहेको आँपको रुख मात्रै छ। सयवर्ष अघिको कुरा हो जात्राको दिन बालुकादेवीको मन्दिरभित्र एक जना महात्मा भात पकाइरहेका रहेछन्। त्यो समयमा जात्राको अख्तियारी थियो तोलीगाउँ निवासी देउवाहरूमा। चाकरदार थिए सेलीगाउँ निवासी साउँदहरू। देउवाले त्यहाँ जुठो हुन्छ हामीले जात्रा मनाउनुछ बाहिर निस्किनोस् भन्दा जोगी अटेरी बनेपछि रिसको झोकमा तलवार निकालेर जोगीको टाउको छेदन गरिदिएछन्। मन्दिरभित्र रगत देख्नासाथ गाँज फुत्केर किनारमा अवस्थित नागढुङ्गाको छेउबाटै सेतीमा गएछ।
बग्दै गरेको गाँजलाई गोठालाहरूले देख्दा पौडी खेलेर किनारमा ल्याएछन्। गाँजमा पहिरिएका चादीका पतिउँ, सूनको गजुर, गाँजको लौरो लगाएतका सामग्री कफल्लेकीतिरका गोठालाले लगेछन् भने गाँजको घाँगर मात्र मुगेगाउँ क्षेत्रका गोठालाका हातमा परेछ। अधिकांश सामग्रीहरू भेटाएका कफल्लेकीका गोठालाहरूले आफ्नो गाउँमा लगेर दुर्गाको मन्दिर स्थापना गरी पुज्न थालेछन्। जहाँ एक दिन अगाडी नै दुर्गा जाँत मनाइएको थियो। मुडेगाउँ क्षेत्रमा केही वर्षसम्म पुजाआजा र जात्रा मनाउने काम रोकिएछ। तलवार चलाउने देउवालाई मुडेगाउँ निवासी ठकुरीहरूले मरिदिएछन् भने बाकी देउवाहरू त्यो ठाउँ छोडेर हिँडेछन्।
घरघरमा बेचैनी उत्पन्न हुन थाले पछि बि.स. १९९६ सालमा त्यस क्षेत्रका गन्ने मान्ने व्यक्तिहरू बसेर छलफल गरी पुरानो मन्दिर रहेको ठाउँबाट करिव १५० मिटर माथिको जमिनमा नयाँ मन्दिर निर्माण हुन गई १९९७ सालदेखि पूजाआजाका साथ जात्रा मनाउन थालेको कुरा सुनाउँछन् साँस्कृतिक अध्येता पद्मराज जोशी भारद्वाज, मन्दिरका भडारी, चिन्तामणि जैशी र डिलबहाुर बोगटी लगाएतका व्यक्तिहरू। पद्मराज जोशी भारद्वाजका अनुसार डोटी जिल्लाको सबैभन्दा पहिलेदेखि मनाइएको जात्रा नै बालुकादेवीको जात्रा हो। सय वर्षसम्मको यसको इतिहास सजिलै थाहा पाउन सकिन्छ। त्यो भन्दा अगाडी कहिलेदेखि मनाउन थालिएको थियो भन्ने कुरा खोजकै विषय बनेको छ।
मन्दिरका भँडारी जैसी भन्छन् – देवता अवतरिएपछि गाँज सिर्जना गरियो। देवता पुज्न थालियो तर लडे र बालुकादेवीको एउटै भँडार छ। जुन कुरा शैय्य भएको छैन। भँडार अलगअलग बनाउन सकिएको छैन। पहिले कफल्लेकीको देउरो पनि लगिन्थ्यो काफलीको जात्रामा। पुज्ने सामान छोडेर काफलीको सबै सामान यतै आउँथ्यो। पछि त्यो चलन हट्दै गयो।
डिलबहादुर बोगटीका अनुसार यहाँ कहिले कतै कहिले कतै बेचैनी बढेकैछ। साधुको रुपमा मान्छेहरू काँप्ने गरेका तमाम उदाहरणहरू देखापरेका छन्। धेरै कुरा बिग्रीदै गइरहेको छ। यस्तै हो भने धेरै वर्षसम्म यो परम्परा टिकिराख्ला जस्तो छैन। कयौं ठाउँमा नयाँनयाँ सिर्जनाहरू हुन थालेका छन् हाम्रा भएका परम्परा पनि हराउन थालेका छन्।
यहाँबाट सेतीको दक्षिणतिर केदार र उत्तरतिर मष्ठोको क्षेत्र मानिन्छ। मष्ठो पनि १२ वटा भएको कुरा बताउछन् पदमराज जोशी भारद्वाज। जुन विषयमा छुट्टै लेखमा चर्चा गरिने नै छ।
हिजोआज श्रद्धालुहरूको संख्या दिनप्रतिदिन घट्दै गएको छ। अन्तिम जाँत भएकोले यता डडेल्धुरा र उता अछामसम्मका श्रद्धालुहरू आउने गर्दथे उहिले। नाङ्गा खुकुरी तलवारहरू नचाउँथे। हातहतियारको बीचमा गाँज जान्थ्यो। अहिले मदिरासेवन गरेर झैझगडा गर्न थाले पछि सबै बन्द भयो। सामान्य ढंगले मनाउन थालियो जात्रा। यहाँ जात्रामा पहिला नाच्ने मसानीको धामी हो। २२ खला (आँगन) र ५२ दलको मालिक मानिन्छ मसानी। अघिल्लो दिन साँझ भँडारमा पुजाआजा गरी गाज सजिन्छ।
गाजाबाजासहित समथल ठाउँमा नचाउँदै उमङ्गका साथ मन्दिरमा ल्याइन्छ उक्त गाजलाई। राती धामी भँडारी लगाएत केही व्यक्ति कुरुवा बस्छन् मन्दिमा। जात्राको दिन बिहान गाजाबाजा सहित गाँज नचाउँदै लगिएको थियो भागेश्वर कपडौती मन्दिरको प्राङ्गणमा। जहाँबाट बालुका देवीको गाँज निहुराएर भागेश्वरलाई ढोग्न लगाइएको थियो। भागेश्वर र बालुकादेवी दाइ बहिनी मानिन्छन्। नदीको जल ल्याएर धामी भँडारीले छर्किने गरिन्छ गाँजमा। जसको अर्थ गाँजलाई नुहाउनु भन्ने हुन्छ। कनाय समयमा गाँजलाई सेतीमा नुहाउन र भागेश्वरलाई ढोग्न लग्ने चलन छ। कनाय समयको अर्थ हो गेडागुडी अर्थात दालखेती राम्रो हुने समय। जुन हरेक तेश्रो वर्षमा पर्दछ। जात्राको दिन दिउँसो जात्रा मनाउन थाल्दा अरु कुनै देवताको नाम पुकारिदैन। मात्र एकपल्ट कालोपातललाई पुकारिन्छ। अनि त्यो क्षेत्रका त्यहाँ उपस्थित धामीहरू जम्मै काँप्न थाल्छन्। जात्रा नसद्धिउन्जेल ती काँपि नै रहन्छन्।
सुदूरपश्चिममा देवतालाई कपाउँदा वा पुकार्दा भन्ने गरिन्छ – ‘नीरऽ चूरऽ काँ छै आ प्रभु।’ त्यो चुर भनेको महाभारतको लेकको धुरो हो जहाँ काफली बसेका छन्। नीर भनेको पानी भएको ठाउँ हो जहाँ भागेश्वर बसेका छन्। बीचमा कफल्लेकी छन्। त्यसैले भन्ने गरिन्छ शिर घणेलो, नाभी महेश्वर पादुक अंकुश भाइ। जे भए नि यी सबै शिवजीकै अवतार मानिन्छन्। शिवजीका तिनै मूर्ति यतै एकै डाँडामा छन्। दुईवटा खोला र एउटा नदीको संगम (त्रिवेणी) भएको भोश्वरको यो क्षेत्र प्रशिद्ध तीर्थस्थलको रुपमा चिनिन्छ। बालुकादेवी बालासैनी देवीका नामले चिनिन्छन् पुराण तथा धार्मिक ग्रन्थहरुमा। तिहार पछाडी लगत्तै आउने पूर्णिमा तिथिमा पुज्ने गरिन्छ बालुका देवीलाई। उसो त सुदूरपश्चिममा अवस्थित अधिकांश देवीहरूका मन्दिरमा पूजाआजा र जात्रा त्यही तिथीमा हुन्छ। बालुकादेवी (बालासैनी), शैलेश्वरी, बडीमालिका, उग्रतारा, डिलासैनी, निङ्गलाशैनी भगवती,मेलौली भगवती, सुर्मादेवी,र त्रिपुरासुन्दरी नौ वटै दिदीबहिनीहरू हुन् भन्ने भनाइ पनि छ।
बालुकाको जात्रामा सजिएका पसलहरू देख्दा सम्झनामा आउछन् विगतमा ५÷१० रुपैया खर्च बोकेर जात्रामा पुग्दाका ती दिनहरू। बदाम, जेरी, सुन्तला, उखु किनेर घरमा जात्राको कोसेली ल्याउँदाको त्यो समय। निकै नै बलवान भएर उभिन्छ सम्झनाको दैलोमा। आठ दश घण्टा हिँडेर अघिल्लो दिनको मध्यरातमा जात्रामा पुग्न नापेका ती गोरेटाहरू, दोबाटोमा छुट्टिदा देउसराले गोसाई अब भीट काँ होली भनेको त्यो आवाजको लय, चाँदनी रातमा देखिने जतेरुका पदचापहरू, रामहौस, मिलन, बिछोड र संघर्षका पाइला सबैले आलोपालो मस्तिष्कका ढोका ढकढकाउछन्।
अचेल मान्छेका पदचापहरू बोक्ने गोरेटाहरू निरीह प्राय छन्। चारपाङ्ग्रेले धुलो उडाउन थालेपछि जिन्दगी हिँड्दैन मात्र गुड्छ। जिन्दगी गम्दैन मात्र तर्क गर्छ। सुविधाभोगी मान्छे भावना, सद्भाव, माया प्रेम, सरसल्लाह र सहयोगका आँखा गुमाउँदैछ। मुग्लानतिर भासिएको मान्छे जस्तै हुँदैछन् हाम्रा संस्कृतिक मूल्य र मान्यताहरू पनि। तथापि औपचारिकता पुरा गर्न मात्रै भए तापनि पछिल्लो समयमा केही चासो दिन थालेका छन् नयाँ पिडिका मनहरूले चाडपर्व र जात्राहरूप्रति। र त केही आश गर्ने ठाउँ पनि देखिएको छ। सबै पुरानो खोज्नु पनि पुरातनवादी सोच भैदिन्छ। सबै कुरा रातका रात परिवर्तन भई नितान्त नौला बनिदिदा पनि रहँदैन कुनै गुणधर्म। अनि पचाउन सकिदैन एकैचोटी सबै कुरा।
भावुकताका किरणहरू छाउन थाल्छन्। संवेदनाले बयालो खेल्न थाल्छ। घनिभूत भएर छाउन थाल्छ विगत यादका गराहरूमा। जिन्दगीरुपी प्लटमा कतिपय कित्ताहरू देखिन्छन्। हरबखत प्रस∙ निकाल्न सकिन्छ। कतिपय मनमै जगडिएर बसिरहेका हुन्छन्। विगतका जात्राहरूको गरिमा र रौनक सँगसँगै ०४६ सालमा जवान छोराले सदाको लागि छोडेर जादाको पल आइदिन्छ अमर बहादुर शाहीका बुवाको सम्झनामा। एकोहोरो सेती पारिको डाँडातिर हेरेर सुनाइरहनु भयो बुवाले भाइभाइको प्रेम। साह्रै माया गर्थे रे अमरबहादुर शाहीले भाइलाई। बुवासँग एक्लै आँगनमा बसेर कुराकानी गर्दाका प्रंस∙ थिए यी। सम्झिन त्यति सजिलो कहाँ हुन्छ र जिन्दगीको नक्सा पनि। सुनाएनन् अमर बहादुर शाहीले कहिल्यै कसैलाई जिन्दगीको कथा। मात्र भनिरहे – ’मसँग अरु कुराको घमण्ड गर्नू दुःखको घमण्ड कहिल्यै नगर्नू।‘
कुनै गल्लावालाले धान गहुँका बोरा खन्याएझैं मनबाट मनभित्रै खन्याए होलान् विगतको अधिकांश यादलाई। तर अरु सामु मुस्कान पोखेरै देखापर्दछन्। सहयोगी हात देखाइरहेकै छन्। ठाउँको लागि केही गर्नु पर्छ भनेर लागिरहेकै छन्। कैयौं शुभचिन्तकहरु राजनीतिमा आइदिए हुन्थ्यो भन्ने कामना गर्छन्। तर उनको जीवनमा ठाउँ नै छैन त्यो शब्दको लागि पनि।
जात्रा सिद्धिएर त्यसदिनका लागि धनगढी सम्मको यात्रा तय गर्दा लगाइ दिएका थिए बाआमाले उनको निधारमा टीका र अक्षता। उनले बृद्ध बाआमालाई ढोगेर बाटो लाग्दा आमा र बहिनीले पुछ्न थालिसकेकी थिइन् परेली। निश्छल निस्कपट प्रेम र स्नेहको भारी बोकेर आँगनमा उभिएको बुवाको संस्कारी मन पुरुषको पाचन शक्तिको उदाहरण बनेर मौनतामा टुलुटुलु हेरिरहेकै थियो गोरेटोमा लम्किदै गरेका छोरा अमरबहादुर र भतिजा टेकबहादुरका पाइला। आँगनबाट हल्लिरहेकै थिए आमा र बहिनीका हातहरू।
सुदूरपश्चिममा निधारमा टीका लगाई निस्केका आफन्तको विदाईमा भावुक बन्छन्, तरलित बन्छन्, तप्प चुहाइहाल्छन् आँसुका थोपा ती विदाई गर्ने मनहरूले। शायद नेपालको अरु ठाउँतिरका मनहरू पनि गर्दा हुन् यस्तो। बाहिर नदेखिए पनि तरलित त पक्कै बन्छन् होलान् पूर्वतिरका मनहरू पनि। आमा र बैनीका आँसु सुखद यात्राको कामना गर्दै ईश्वर पुकारेका आँसु थिए। प्रेम,स्नेह र ममताको छल्किरहेको छाल उछिट्टिदा देखापरेका केही बुँदहरू थिए। डाँडा माथिको घाम बनिसकेको मनमा अत्यास थप्ने, झल्को लगाउने एक्लो पनका तरङ्ग पनि थिए।
दुई दिन झल्को लगाएर फेरि एक्लो पारेर गइस भन्ने प्रेमपूर्ण गुनासोका प्रतीक पनि थिए। जीवनको बढी हिस्सा व्यतित भैसके पछि जति नै आशाका त्यान्द्रा बोके पनि कतिखेर के हो केही भर छैन जीवनको भन्ने सन्देश पनि थिए। गाडीमा चालकलाई डेउडा गीत बजाउन लगाएर गीतको भावमा डुबिरहेका देखिन्थे अमरबहादुर शाही। संवेदनशील अनि भावुक मनलाई जवरजस्ती लुकाइरहे केही समयसम्म उनी। आखिर दुःखको घमण्ड गर्न खोज्ने शाहीको भावुक मन कुनै कठोर पुरुषको जस्तो कहाँ हुन्थ्यो र।
गाडीमा करिव नौ किमी सँगै यात्रा गरेर छुट्टिए पछि एकान्तमा पुनः हेरेँ एकनाशले बगिरहेकी सेतीनदी र वरपरका पहाडलाई। ती पहाड उस्तै छन्। त्यो हिमाल उस्तै छ। उही गतिमा अनवरत रुपले बगिरहेकैछन् खोलानाल र नदीहरू। कुनै युवतीले कपाल कोरीबाटी गर्दा टल्किएको सिउँदोझै हिजो आज टल्किरहेका छन् पहाडको छातीमा अन्दाधुन्द पाराले कोरिएका कच्ची सडकहरू। विष्टको कवितामा भनिएझै उसो त केही छैन पहाडमा तर जरुर पनि केही छ त्यही पहाडमा। जङ्गलमा बदेल र बादरहरूको राज छ। एकाबिहानै रक्सीका बोतल रित्याउँदै जिन्दगीको पैतली बिगार्नेहरू छन्।
ऐलानीमै भए पनि झुप्रो ठड्याउने अठोटका साथ तराईतिर हिँडिरहेका पाइलाहरू छन्। जनताले तिरेको करमा रजाइ गरिरहेका स्थानीय सरकारका छोटे राजनहरु छन्। गाउँगाउँमा च्याउ उम्रेजस्ता नेताहरूछन्। धमिराको आक्रमणबाट खिइँदै गएका धुरी खामाहरू छन्। संरक्षणको पर्खाइमा निरिह बनेर बसेका पुर्खाका पालाका मठमन्दिरहरू छन्। पहाड खानू पूजी तराई खानु जुझी (जुझारु बनेर) भन्ने खालका बुढापकाका केही भनाइहरू छन्। सभ्यताका भित्ताहरू छन्। खिइँदै गएका संस्कृतिका पाटाहरू छन्। लेख्न बाँकी इतिहासका केही भग्नावशेषहरू छन्। सेतीमा माछा मार्न जाल फ्याकिरहेका केही हातहरू छन्। पूर्खाका पालादेखिका बाजाहरू छन्। हरेक वर्ष तिहार पछाडि मनाइने देवीदेउताका जात्राहरु छन्। उकालीका एक्ला वरपीपल जस्ता, डाँडामाथिको घाम बनिसकेका बृद्ध आमाबुवाहरूको स्नेहिल हेराई छ। दिनरात काममा जोतिएर थकित बन्दा पनि हिमालझैं मुसुक्क मुस्कान फ्याक्ने केही थान बैसालु मनहरू छन्। कवि विष्टले भनेझैं जरुर केही छदै छ पहाडमा।
हेर्नुहोस् जात्राका केही तस्बिरहरू
हेर्नुहोस् भिडियो पनि