‘स्माइल करी’ भन्दै फोटोग्राफर ईन्दुदेवीले क्यामरामा कैद गरिन् एक सुन्दर तस्बिर। मंसिर १ गते देखि सुरू भएको पञ्चवर्षिय गढिमाई मेलामा दर्शनार्थीको भीड बढ्दो छ। यता मन्दिर प्राङ्गढमा फोटो स्टुडियो सञ्चालन गरेकी ईन्दु देवी साहलाई दर्शनार्थीको फोटो खिच्न भ्याई नभ्याई छ।
मन्दिर भित्र आफ्नै क्यामेराले सेल्फि लिनेको कमि छैन। तर, उनको हौसलाको त्यहाँ पुगेका दर्शनार्थीले कदर गर्छन्। गढिमाई मन्दिरको प्राङ्गणको रमणीय दृश्य स–परिवार एकै फ्रेममा कैद हुने भएकाले पनि सामुहिक तस्बिर खिचाउने ग्राहक बढी उनको पसलमा देखिए।
उनी पनि महिला भएर लाज नमानी पुरूष सरह निर्धक्क मन्दिरमा आएका श्रद्धालुलाई भन्छिन्–‘एक तस्बिर खिचाएर जानुस् म २ मिनेट मै दिनेछु,’ महंगो मोबाईल तथा क्यामेरा बोकेर आउने दर्शनार्थी उनको कामको कदर गर्दै एक पटक भए पनि फोटो खिचाउन चाहन्छन्।
मन्दिर आँगनमा खुल्ला रुपमा खोलिएको स्टुडियोमा उनले एक टेबलमाथि क्यामेरा, फोटो निकाल्ने प्रिन्टर मेसिन र ग्राहकको आकर्षणका लागि कृत्रिम फूलको टोकरी पनि रोखेकि छिन्। ‘प्रति फोटोको मूल्य हो ४० रूपैयाँ यदि फ्रेमिङ गरायो भने १ सय ५० रूपैया लाग्छ’, उनले भन्दै थिइन्।
अन्य दिनमा उनले २०/२५ वटा जत्ति तस्बिर खिचे पनि अहिले मेला भएकाले कम्तिमा ५० जनाको तस्बिर खिच्ने गरेको उनी बताउछिन्।
‘मेलाको दिन जत्ति नजिकिँदै गयो ग्राहकको चाप पनि उत्तिकै बढ्दै जान्छ तर मेलाको मुख्य २ दिन अधिक भिड हुने भएकाले त्यस अवधि स्टुडियो बन्द गरी प्रसादको पसल सञ्चालन गर्नेगर्छु’, उनले भनिन्।
दशैं तथा पञ्चवर्षिय गढिमाई मेलाको बेला उनका कमाई अन्य समय भन्दा बढी हुन्छ। उनका श्रीमान अहिले मिठाई पसलमा ब्यस्त छन्। मेलामा बाहिरी दर्शनार्थीहरुको अधिक चाप हुने भएकाले कमाई पनि राम्रो हुने गरेको उनको श्रीमान बिरेन्द्र साहले बताए।
गृहणीबाट सहयोगी श्रीमतिको भूमिका निवार्ह गर्दै फोटो खिच्ने व्यवशाय सुरु गरेर ईन्दु देवी साह समाजका हरेक महिलाका लागि उदाहरणीय पात्र बनेकी छिन्।
बाराको बरियारपुरस्थित महागढिमाई मन्दिर परिसर भित्र फोटो खिच्ने व्यवशाय सुरु गरी ईन्दु देवी साहले आफ्नो कामको कला देखाई मन्दिर भित्र आउने सम्पूर्ण दर्शनार्थीहरुलाई अचम्मित पारेकी छिन् ।
सर्लाहीको सिसौटिया गाँउमा जन्मिएकि ४० वर्षीया इन्दु देवी साहको विवाह पनि सर्लाहीकै पिडारी भन्ने गाँउमा भयो। उनको श्रीमान् विरेन्द्र प्रसाद साह पेशाले फोटोग्राफर हुन्।
श्रीमान त्यसबेला भारतको बम्बईहुँदै गोवामा बसोबास गरी फोटोग्राफी गर्थे। इन्दु देवी भने तीन सन्तानकी आमा एक कुशल गृहणी थिईन्। घर भित्रै सिलाईको काम गर्थिन्।
घरको काम धन्दासँगै ६० वर्षिय वृद्ध सासु आमाको स्याहार्ने जिम्मेवारी पनी उनकै काँधमा थियो। त्यसबेला गढिमाई मन्दिरको दर्शन गर्न आउँदा मन्दिरको मनोहर दृश्य तथा भक्तजनको उल्लेखनीय भीडले, मन्दिर परिसर भित्रै स्टल लगाई फोटो खिच्ने व्यवशाय सुरु गर्न इन्दुले आफ्नो श्रीमानसँग सल्लाह गरिन्।
बाहिर जानु भन्दा आफ्नो देशमै स्वरोजगार गरी बस्ने दुवैले मनसाय बनाए ।
२०६८ सालमा २ लाखको लागतमा क्यामेरा र फोटो प्रिन्टरको साथमा स्टुडियोको सुरुवात गरे। इन्दु सुरुमा श्रीमानसँगै सहयोगीको रुपमा स्टुडियोमा बस्न थालिन्। ग्राहकहरुको चाप पनि बढ्दै गयो ।
श्रीमान् काम बिशेषले बाहिर जाँदा ग्राहकहरु फोटो खिच्न नपाएर फर्किन थालेपछि उनी श्रीमानलाई सघाउने मनसायले श्रीमानसँगै फोटोग्रफि सिकिन्।
त्यसपछि श्रीमान वीरेन्द्र साह बाहिरी काममा जाँदा श्रीमतिले निर्धक्क भएर व्यवसाय सम्हाल्न थालिन्।
सुरूमा इन्दु देवीले आफ्नो स्टुडियोमा फोटो खिच्ने काम देखि सुरुवात गरे पनी अहिले भने आफ्नो पसलमा गढिमाईको तस्बिर र त्यस आसपासको पर्यटकीय दृश्य खिचेर अन्य खुद्रा पसले, दर्शनार्थी तथा बाहिरी पर्यटकहरुलाई आकर्षक फ्रेमीङ गरी बिक्री गर्छिन्।
स्ट्डियोमा अन्य फोटोहरुको फ्रेमीङ गर्नुका साथै फोटोकपी गर्ने मेसिनको सहयोगबाट पार्सपोर्ट साइजको फोटोका प्रतिलिपि पनि निकाल्ने काम गर्छिन्। जसकारण फोटो नखिचाए पनि अन्य कामले ग्राहक उनको पसलमा आउने गर्छन र उनको काम प्रति सन्तुष्ट छन्।
‘फोटो बिग्रियो भनेर सुरुमा गुनासो आए पनि अहिले गुनासो सुन्न पाएको छैन’, उनले बताइन्।
९ वर्षदेखि फोटोग्राफी गरिरहेकी इन्दु देवी साह भन्छिन्, ‘सुरुमा त समाजको आलेचना सुने तर अब तिनै समाजबाट प्रशंसा सुन्न पाउदा निक्कै मन हर्षित हुन्छु।’
इन्दु देवीको जेठो छोरा काठमाडौं बसेर सिभिल ईन्जिनियरको पढाई गर्दैछन् भने माईली छोरी स्नातक र कान्छो छोरा प्लस टु मा अध्यनरत छन्।
गाँउको खेतबाट आएको आम्दानीबाट बच्चाको पढाई खर्च निस्कन्छ भने स्टुडियोको कमाईबाट घर खर्च चल्ने गरेको उनले बताईन्।
घरको काममा महिला र पुरुषको भेदभाव छैन। सासु घरको काममा नसघाउन सके पनि स्टुडियोमा फुर्सदको समयमा आएरसँगै बसिदिने गरेको उनी बताउँछिन्।
मधेशको समुदायमा जहाँ महिला र पुरुषको काममा विभेद गरिन्छ त्यहाँ फोटोग्राफी गरेर इन्दु देवीले यस कुराको साबित गरेकि छिन् कि काममा कुनै विभेद हुँदैन। कुनै पनि काम महिला र पुरुषको लागि छुट्याईएको छैन।