राहा राहा भापीलाप
सारटाक राहा लऊ २
सारभीटीरी लेच
जापच मीडी लऊ ।
कुडीक सेह्च मीखारले
रगई रङ्ग भरडीसच २
वसकाट सार डासम
आसकाट साराङ आनच ।
यो कक्षा २ मगर ढुट पुस्तकको पहिलो भागको भापीलाप कविता हो । यो मगर समुदायको चलनचल्तीमा रहेको पाङ भाषा हो । शिक्षिका मना थापा मगरले भापीलाप कवितालाई नेपाली भाषामा अनुवाद गरी विद्यार्थीलाई सुनाए।
आयो आयो पुतली
फुलमाथि आयो २
फुलभित्र भएको
गुलियो रस चुस्यो ।
कति राम्रो प्वाँख
रङगै रङले भरिएको ।
हेर एउटा छोडेर
अर्को फुलमा गएको ।
यसरी माथागढी गाउँपालिका–१ चिदीपानीको धैरेनीस्थित नवजागृत प्राथमिक विद्यालयमा कक्षा २ का सोनीका गाहा र आसिका गाहा लगायतका बालबालिकालाई शिक्षिका थापाले मातृभाषाका कवितालाई नेपाली खस भाषामा उल्था गरेर सुनाइरहेका थिए । विद्यार्थीहरुले शिक्षिकासँग स्थानीय मातृभाषामा कुराकानी गरिरहेका थिए । सो विद्यालयको सेवा केन्द्रअन्तर्गत मगर समुदायको बस्ती छ ।
स्थानीय मगर समुदायका बालबालिकाले मातृभाषामा अध्ययन गर्न पाउँदा घरमा नै आमाबुबासँग बसेर पढेको जस्तो अनुभूति रहेको कक्षा २ मा अध्ययनरत सोनिका गाहाले व्यक्त गरे। घरमा हुने कुराकानी र विद्यालयमा पनि मगर भाषामा पढ्न पाउँदा खुशी लगेको आसिक थाहाको भनाइ छ ।
मातृभाषामा अध्ययन गर्न पाउँदा विद्यार्थीले पनि बुझ्न सहज हुन्छ । विद्यालयमा कक्षा १ देखि ३ सम्म मगर भाषामा पठनपाठन हुन्छ। नेपाली र अङ्ग्रेजी विषयबाहेक सबै विषय मगर भाषामा पठनपाठन हुन्छ। शिक्षिका थापाले मातृभाषमा पढाइ हुन थालेपछि बालबालिकाले पहिलेभन्दा अहिले सहज रुपमा बुझ्न थालेको बताए। उनका अनुसार मातृभाषामा पठनपाठन गराउँदा शुरुमा केही समस्या भएपछि अहिले शिक्षक र विद्यार्थीमा राम्रो सम्बन्ध विस्तार भएको छ ।
मगर समुदायका बालबालिकालाई मातृभाषामा पठनपाठन हुन थालेपछि विद्यालयप्रति विद्यार्थीको आकर्षण बढ्न थालेको छ । घरमा आमाबुबा, दाजुभाइ, दिदीबहिनीसँग बोलिने भाषामा विद्यालयमा बोलचाल र लेखपढ गर्न पाएपछि पढाइप्रति विद्यार्थी खुशी भएका छन् । स्थानीय मगर भाषामा घरमा आमाबुबासँग जे बोलिन्छ, त्यही भाषामा शिक्षकशिक्षिकाले फलफूल, खाना लगायतका स्थानीय वस्तुहरुलाई बुझाउन सजिलो हुँदै आएको छ ।
पहिला खाजा खाने समयमा विद्यालयबाट घरमा गएका नानीबाबुहरु पुनः विद्यालय फर्किने चलन थिएन। अहिले स्थानीय भाषामा पठनपाठन हुँदा विद्यार्थी नियमित हुँदै गएको विद्यालयका प्रधानाध्यापक गोपीकृष्ण आचार्यले बताए।
मगर विद्यार्थीको बाहुल्यता रहेको सो विद्यालयमा स्थानीय पाठ्यक्रमका रुपमा मगर भाषाको पढाइ हुँदै आएको छ । स्थानीयरुपमा मगर समुदाय बढी भएकाले विद्यालयले १ देखि ३ कक्षासम्म मगर भाषामा पढाएको हो । स्थानीय मगर समुदायका विद्यार्थीसँगै अरू जातिका विद्यार्थी पनि मगर भाषामा रमाएर पढिरहेका छन् ।
प्रधानाध्यापक आचार्यका अनुसार २०६५ सालदेखि विद्यालयमा मगर भाषामा पठनपाठन हुन थालेको हो । विद्यालयकी शिक्षिका मना थापा मगरले कक्षा ३ सम्म पुस्तक लेख्नुभएको हो । नेपाल सरकारको सहयोगमा मगर भाषाको पाठ्यक्रम, पाठ्यपुस्तक तयार गरिएको हो ।
नेपालको संविधान २०७२ मा मातृभाषामा शिक्षण गर्ने व्यवस्था छ । संविधानले गरेको व्यवस्थाअनुसार पाठ्यक्रम तयार गरी मातृभाषामा पढाउन थालेपछि विद्यालयमा विद्यार्थी बढेको प्रधानाध्यापक आचार्यको भनाइ छ ।
सो विद्यालयको बालकक्षामा सात, कक्षा १ मा १४, कक्षा २ मा ६, कक्षा ३ मा आठ, ४ मा पाँच र ५ मा आठ गरी ४८ जना विद्यार्थी मातृभाषमा अध्ययन गर्दै आएका छन् । मातृभाषाको पठनपाठनले सिकाइ उपलब्धि सुधार आएको प्रधानाध्यापक आचार्यको दाबी छ । पाल्पा मगर समुदायको बाहुल्यता रहेको जिल्ला हो ।