सात वर्षभित्र चीनले कसरी गर्‍याे वायु प्रदूषण रोकथाममा चमत्कारीक काम

Agency

कुनै जमाना थियो, वायु प्रदूषणमा चीन विश्वमै बदनाम थियो। सात वर्षअघि चीनको ९० प्रतिशत शहरमा प्रदूषणको स्तर मानक संख्याभन्दा निकै माथि मानिन्थ्यो। प्रदूषणकै कारण चीनमा बार्षिक लाखौं मानिस मृत्युसँग जुधिरहेका हुन्थे।

तर, अहिले अवस्था ठ्याक्क उल्टो देखिएकाे छ। कुनै बेला चीनको प्रदूषणलाई लिएर खिसी गर्ने भारत अहिले यसको चपेटामा छ भने चीन प्रदूर्षित देशबाट हरियाली र उन्नत देशमा रुपान्तरण भइरहेको छ।

चीनको वायु प्रदूषण

सन् २०१३ सम्म विश्वको प्रदूर्षित शहरको सूचिमा चीन सबैभन्दा अगाडि थियो। प्रायः बाक्लो फोहोरको आवामण्डलले ढाकिने गरेको चीनको विश्वभरि आलोचना मात्र हुन्थ्यो। खासमा बेइजिङ शहरलाई लिएर बेलाबेलामा एडभाइजरी जारी नभएको होइन। सन् २००८ मा बेइजिङमा ओलम्पिक हुँदा पश्चिमा राष्ट्रले वायु प्रदूषणकै कारण प्रतियोगिताबाट आफ्नो नाम फिर्ता गर्ने धम्कीसमेत दिएका थिए। बेइजिङका जनता मास्क लगाएर हिडेको तस्बिर हरेक दिन विदेशी अखबारको मुख्यपृष्ठमा आकर्षण बन्ने गर्दथ्यो।

वायु प्रदूषण कसरी लड्यो चीन

चरम औधोगिकरणका कारण चीनको वायु प्रदूषणकाे अवस्था सोचनीय भएपछि सरकारले २०१३ मा एउटा ‘एक्सन प्लान’ बनायो। जसलाई ‘नेशनल एयर क्वालिटी एक्शन प्लान’ भनिन्छ। जसका कारण चीनले अहिले वायु प्रदूषणमा प्रभावकारी नियन्त्रण पाइसकेको छ। ग्रीनपिस एयर भिजुअलको रिपोर्टअनुसार वायु प्रदूषण रोकथाममा चीनको भूमिका सह्रानीय छ। विश्वको ३० प्रदूर्षित शहरमा अहिले भारतको मात्र २२ वटा शहर छन्। राजधानी दिल्ली र यसको वरिपरिको क्षेत्रमा पछिल्लो केही समय वायुको गुणात्मक सूचाकं ४ सय ५० देखि ९ सयको बीचमा पुगेको छ। जुन निकै गम्भीर विषय हो।

कुनै बेला निकै प्रदूर्षित मानिएको चिनियाँ राजधानी बेइजिङलाई प्रदूषणमुक्त गर्न सरकारले वरिपरि स्थापित कलकारखानामा ताला नै लगाइदिएको थियो। स्टील र आल्मुनियमका कारखानाबाट उत्पादनको मात्रा कम गर्न आदेश दिएको थियो। सन् २०१४ मा प्रदूषण गर्ने लाखौं गाडीलाई सडकबाट हटाउने निर्णय गर्यो। धेरै ठाउँलाई रेड लाइन क्षेत्र घोषित गरेर वन तथा हरित क्षेत्रको वरिपरि निर्माण कार्य पूर्णरुपमा ठप्प पारेको थियो।

सोलार उर्जा प्रभावकारी

चीनले प्रदूषण कम गर्न कोइलालाई विस्थापित गर्ने निर्णय गरेको थियो। जसको प्रभाव अहिले चीनभरि देखिन थालेको छ। उसले कोइलाको स्थानमा सोलार उर्जालाई प्राथमिकता दिएको छ र यसको प्रभावकारीरुपमा प्रयोग पनि गरेको छ। चीनले विश्वको सबैभन्दा ठूलो ‘एयर प्युरीफायर’ को पनि निर्माण गरेको छ।

पूर्वानुमान शाखा सक्रिय

चीनमा मौसम पूर्वानुमान विभाग जस्तै वायु प्रदूषण विभाग पनि उत्तिकै सक्रिय छ। उसले वायु प्रदूषणको पूर्वानुमानमा बढी काम गर्छ। कुनै दिन वायुको गुणस्तर २ सयभन्दा माथि कटेको खण्डमा ‘ब्लु अलर्ट’ जारी गरिहाल्छ। यसपछि प्रदूषणलाई रोक्न थप उपायको खोजी गरिन्छ। वायुको गुणस्तर चार–पाँच दिनसम्म २ सयभन्दा तल नघटेको खण्डमा ‘रेड अलर्ट’ जारी हुन्छ। र, आपतकालीन उपायको घोषणा हुने गर्छ।
चीनले सन् २०२० सम्म आफ्नो प्रमुख शहरमा वायु प्रदूषण ६० प्रतिशतले कम गर्ने घोषणा गरिसकेको छ। र, उसले देखाएको तदारुकताका कारण यो सम्भव हुने पनि देखिन्छ।

प्रकाशित मिति: : 2019-11-05 07:23:03

प्रतिकृया दिनुहोस्