यसरी सुरू हुन्छ- जुम्ली दशैं !

जुम्ली दशैंमा लिंगा खडा गर्ने पृथक संस्कार । तस्बिर : महेश नेपाली ।

तिथि, मितिमा केही अलमल भएपनि वा हालसम्म कुनै ठाेस विश्वसनीय लिखित इतिहास नभेटिए पनि, चाल-चलन र रितिरिवाजले जुम्लामा उत्पादन हुने कालीमार्सी धानकाे विकास र विस्तारकाे जस सिद्ध पुरुष बाबा चन्दननाथलाई जान्छ ।

इतिहासमा नयाँ अविस्कारकाे रुपमा धान विकास गराएकाे हुनाले बाबा चन्ददनाथप्रति जुम्लीहरुकाे अथाह लगाव थियाे। धान खेती सम्भव भएका ठाउँका मान्छेकाे श्रद्धा त थियाे नै, नहुने ठाउँका मान्छेले पनि उत्तिकै आदर गर्दथे ।

बाबा चन्दननाथको अनुसन्धानबाट पत्ता लागेको कालीमार्सी धान उनका बलशाली शिष्य लछालकृती पैकेलाेले प्रयोग गरेका थिए । जुन जुम्लाको कृषि क्रान्तिकाे महत्त्वपूर्ण हिस्सा हाे । त्यसैले बाबा चन्दननाथकाे साथसाथै लछालकृती पैकेलोलाई पनि जुम्लीहरुले उत्तिकै सम्मान गर्छन् । 

यसकाे एउटा गतिलाे प्रमाण हाे- बाबा चन्दननाथकाे नाममा संकलन हुने लगत । त्यसबेला मन्दिरमा कालिकाेटबाट ९६ धार्नी घ्यू आउँथ्याे भने हुम्लाबाट २६ धार्नी मह आउँथ्याे। 

त्यस्तै धानखेती हुने पान सय दराबाट अक्षेता आउँथ्याे भने धानखेती नहुने लेकका बस्तीबाट मास, गहत र गुराैस संकलन हुन्थ्यो । त्यसैगरी चाैधबीस दराबाट गहुँ आउँथ्याे । त्यहाँपनि धानखेती निकै कम हुन्छ । 

यसरी बाबा चन्दननाथकाे नाममा आउने मानाेमुठाेले पनि उनीप्रतिकाे सम्मानभावलाई मापन गर्न सकिन्छ ।

यति भैसकेकेपछि जुम्लामा दशै परम्पराकाे सुरुवातलाई भिन्न बनाउन उनले भूमिका खेले । त्यसैकाे एउटा गतिलाे प्रमाण हाे- जुम्लामा लिंगा खडा गर्ने संस्कार । 

मस्टाे परम्परामा बाह्रभाइ मस्टाे र नाैदुर्गा भवानी हुन्छन् । चारवटा पुर्णिमामा विधिवत पुजा गरी बाह्रभाइ मस्टाेकाे पूजा गर्ने र बहिनीहरुकाे पूजा दशैकाे बेला गर्ने गरिन्छ । यसरी नवदुर्गा पूजाकाे सुरुवात गर्ने दिनलाई अन्य क्षेत्रभन्दा फरक बनाउन बाबा चन्दननाथले एउटा अभ्यास गराएकाे बताउँछन्- संस्कृतिबारेका जानकार रमानन्द आचार्य। 

त्याे फरक संस्कार घटस्थापनाकाे लिंगाे खडा गर्ने दिन हाे । त्यसैले क्यालेन्डरमा घटस्थापना भएपनि जुम्ली बाेलीमा लिंगो खडा गर्ने दिन भनेर चिनिन्छ । जसले दशै प्रारम्भ भएकाे संकेत गर्छ । जुन बाबा चन्दननाथकाे पराक्रमसँग जाेडिन्छ । 

बाबा चन्दननाथकाे उपस्थितिमा जिल्लाका सबै दराखाेलाका गन्यमान्य मान्छेकाे भेला भई उनैकाे नामाकरण गरिएकाे चन्दननाथ र भैरवनाथकाे मन्दिरमा लिंगो खडा गर्नेबारे छलफल भयाे । लिंगाे कत्राे आकारकाे हुने, भन्ने विषयकाे छलफल घनिभूत भयाे । एक वर्षमा ५२ हप्ता हुन्छन् । यसैलाई आधार मानी हप्ताकाे एक हातका दरले ५२ हातकाे लिंगा खडा गर्ने याेजना बन्याे । लिंगा बनाउने सल्लाकाे रुख थपालाका गाउँलेले आफ्नाे जंगलबाट ल्याउन दिने भए । काेणधारी जंगल नहुने ठाउँमा लिंगा खडा गर्ने याेजना बन्न सक्दैन । 

यो पनि हेर्नुहोस् 
सफल उद्यमी, जो आफूजस्तै पीडित महिलालाई उद्यमी बनाउने सोच राख्छिन् || JUMLA

केहीले तराईमा बाँसकाे लिंगाे पनि हाल्ने गरेका छन् । तर, बाँसकाे लिंगोकाे स्वाद हुँदैन । त्यसले व्यङ्ग्य स्वरुप गीत गाइन्छ, 'बाँसकाे लिंगाे के लिंगाे? आखिर त्याे पनि नुहिन्छ........।' 

त्यसयताका दिन ५२ लाई आधार मानेर हालसम्म पनि चन्दननाथ मन्दिरमा भेटी, हर्जना तिर्नुपरेमा ५२ रुपियाँ दिने चलन छ ।

प्रत्येक वर्ष तीनवटा नयाँ र एउटा पुरानाे लिंगोलाई रंगराेगन गर्ने रित बसालिन्छ । सबैभन्दा ठुलाे ५२ हाते लिंगाे ल्याउन जंगलमा सरकारी कर्मचारी र असीदराका २७ गाउँका क्षेत्रीसमेत जानुपर्ने भएकाले त्यसलाई पल्टनियाँ लिंगाे नामाकरण गरिन्छ । 

अर्काेलाई थपाले लिंगाे भनी नामाकरण गरिन्छ । साे लिंगाे थपालालगायतका बाहुनले ल्याउने हुनाले त्यसलाई बाहुने लिंगाे पनि भनिन थालियाे । 

त्यस्तै तेस्राे लिंगाेकाे नाम चाहिँ कमसले लिंगो राखियाे ।  कथित दलितहरुले तेस्राे लिंगाे ल्याउनुपर्ने रित चलाइयाे । त्यसबेलाकाे समाजले सार्की, कामी, दमाईलगायत थरका मान्छेलाई कमसल वस्तुसरह मान्ने भएकाले उक्त तेस्राे लिंगाेकाे नाम कमसले लिंगो राखिएकाे अनुमान लगाउन सकिन्छ । 

यसैकारण २०४६ पछि कथित तल्लाे जातिका मान्छेले एक खालकाे आन्दोलन चलाए । 'लिंगाे ल्याउने तर मन्दिरमा पस्न नदिने हाे भने लिंगाे ल्याउन नजाने' भने। त्यसपछिका दुई वर्ष उनीहरु लिंगाे ल्याउन नै गएनन् । बहिस्कार गरे । पछि लिंगोकाे फरकफरक नामाकरण नगरेर सबै गाउँका मान्छेसँगै गई लिंगो ल्याउने चलन चलाइयाे भने हाल मन्दिर पस्नेलाई तिमी फलानाे जातकाे वा तिमी अर्काे जातकाे भनेर छुछ्याउने गरिएकाे छैन ।

यो पनि हेर्नुहोस् 
जुम्ला रारा म्याराथन मधेशदेखि हिमालहुदै बिदेश

त्यस्तै चन्दननाथ, भैरवनाथ मन्दिरमा खडा गरिने लिंगोकाे टुप्पाेमा राख्ने चाैरी फुर्काे मुगुका भाेटेले दिने, टुप्पामा बेर्ने ठेटुका मुगु खत्याड, साेरु र गल्बका क्षेत्रीले दिने, नेजा र ध्वाजा बाँध्ने थाप्का(उनीका डाेरी) हुम्लाका भाेटेले दिने तथा चन्दननाथ भैरवनाथकाे मन्दिरमा बलि दिने बाेकाे चाैधबीसकाे रिनी र कुडारी तथा छिनाबाट दिने रित बसालिन्छ । लिंगो गाड्ने खाल्डाे खन्न चाहिँ रिनी र छिनाकै मान्छेले मात्र पाउँछन् । किनकि बलि दिने उनै हुन् । त्यस्तै लिंगो खडा गर्न बल लगाउने कैँची (सल्लाका ठाँक्रा) बाेहरा गाउँकाले ल्याउनुपर्ने रित बसालिन्छ ।

लिंगो खडा गर्ने संस्कारले केही कमजाेरीबाहेक सबै जातजाति र भाषाभाषीलाई समेत मिलाएर लिने गरेकाे पाइन्छ । यसरी हेर्दा याे संस्कार सांस्कृतिक समन्वयको प्रतीक पनि हाे । जाे जुम्लाकाे दशै संस्कृतिसँग जोडिएको छ । 

प्रसिद्ध मन्दिर चन्दननाथ, भैरवनाथमा चारवटा लिंगा फेरिएसँगै दशैंको औपचारिक सुरुवात हुन्छ । सोही दिन साँझ जिल्लाभरका सबैले आआफ्नो खेतमा पाक्नै आँटेको थाेरै धान काटेर चिउरा कुट्ने गर्दछन् ।त्याे चिउरालाई मह र दहीसँग मिसेर खाने चलन छ । यसरी लिंगा खडा गरेकाे दिन चिउरा, दही र मह मिलाएर बनाउने परिकारलाई जुम्लीहरु नगी भन्छन् । याे घरका सबैले त खान्छन् नै, त्यसबाहेक बिहे गरेर गएका छाेरीकाे भाग पनि छुट्याउने गरिन्छ । त्यसैले जुम्लामा घटस्थापनाको दिनलाई नगी वा लिंगा खडा गर्ने दिन भनेर चिनिन्छ। त्यही दिन घरमा जमरा राख्ने आमचलन नै हाे ।

नगीको दिन चन्दननाथ भैरवनाथ मन्दिरमा लिंगा फेरिएसँगै जिल्लाभरिका थुप्रै मन्दिर र थानमा लिंगा फेर्ने कार्य निरन्तर चल्छ । कालिका र भगवतीका थानमा नवमीको दिन लिंगा फेर्ने चलन छ । 

जुम्लाको सिंजा मोफ्लामा रहेको राहदेवकाे थानमा कोजाग्रत पूर्णिमाको दिन जिल्लाकै सबैभन्दा ठुलो ६२ हाते लिंगाे फेर्ने चलन छ । त्यहाँ हरेक वर्ष लिंगाे नफेरेर प्रत्येक दुई वर्षको एकपटक फेर्ने गरिन्छ । पहिले फेरेको लिंगाे दोस्रो वर्षमा ढलाएर त्यसैमा रंगरोगन गरी, ध्वजा, आलिन नयाँ फेरेर फेरि ठडाइन्छ भने तेस्रो वर्षमा फेरि नयाँ फेर्ने चलन रहेकाे स्थानीय प्रेम कामी बताउँछन् ।

सबैभन्दा पहिला चाहिँ सिंजा लुड्कुमा अवस्थित मष्ट देवताका जेठाभाइ 'ढँडार मष्ट'काे थानकाे लिंगा फेरिन्छ, भदाै पुर्णिामाकाे दिन ।

जुम्लाका अधिकांस मन्दिरमा लिंगा फेर्ने काम कार्तिक पूर्णिमासम्म पनि चलिरहन्छ । त्यसैले जुम्लामा लिंगा फेर्ने काम दशैको सुरुवातसँगै तिव्र हुन्छ । जुम्लाको लिंगा फेर्ने चलन काठमाडाैंको नेवार संस्कृतिभन्दा फरक छ । 

जुम्लामा नेवारहरुको आगमनभन्दा पहिला नै यो चलन थियो । बरु यो संस्कृति मष्टो परम्परासँग भने जोडिएको छ। पछि मष्टो परम्पराको हिन्दुकरणसँगै संस्कृतिको पनि हिन्दुकरण भएको मानिन्छ ।

प्रकाशित मिति: : 2019-09-29 07:43:40

प्रतिकृया दिनुहोस्