गृहमन्त्री रामबहादुर थापा बादलले नौबिसे–कलङ्की सडकखण्डमा भईरहेको सवारी जाम हटाउन आवश्यक सबै व्यवस्था मिलाउन निर्देशन दिएका छन् । उनले ट्राफिक जाम अत्याधिक बढेको जनगुनासो आएको भन्दै तत्काल जनताले महशुस हुने गरि जाम हटाउन सम्बद्ध सरकारी अधिकारीहरुलाई निर्देशन दिएका हुन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भिम ढकाललाई आज(शुक्रबार) मन्त्रालयमा बोलाएर जाम हटाउन आवश्यक पहलकदमी लिन निर्देशन दिएका हुन् । उनले जाम भयका क्षेत्रमा ट्राफिक प्रहरीको जनशक्ति बढाउन, व्यस्त समयमा ठुला सवारी साधनको आवागमनमा रोक लगाउन, बिग्रिएका सवारीसाधन हटाउन आवश्यक क्रेनको व्यवस्था मिलाउन निर्देशन दिए ।
त्यस्तै जाममा परेका बिमारीहरुको आवश्यकता अनुसार उद्धारका सबै उपाय अपनाउन समेत उनले निर्देशन दिए ।चाडपर्वको मौका छोपि हुनसक्ने कालोबजारी तथा यात्रुहरुलाई आवश्यक टिकट वितरणमा समेत केही जनगुनासो आएको भन्दै निगरानी र कारबाही बढाउन पनि निर्देशन दिए।
उनले सडक सुरक्षा तथा मर्मतका सम्बन्धमा भौतिक पुर्वाधार मन्त्रालयसँग समेत समन्वय भइरहेको जानकारी दिए । बैठकमा सरकारी अधिकारीहरुले हिजोको जामको तुलनामा आज केही सहज रहेको जानकारी दिँदै थप सहजताकालागि प्रयास भईरहेको जानकारी दिएका थिए । यस्तै गृहमन्त्रालयले धादिङका सम्बन्धित सरकारी अधिकारी हरुलाई समेत जाम खुलाउन आवश्यक पहल गर्न निर्देशन दिएका छन्।