आफ्नै प्रेमिकाको नाबालक छोरीलाई यौन दुर्व्यवहार गरेको आरोपमा अमेरिकी प्रहरीको खोजी सूचीमा रहेका एक अमेरिकन नागरिक नेपालमा पक्राउ परेका छन्।
प्रेमिकाको छोरीलाई यौन दुर्व्यवहार गरेपछि प्रहरीले अमेरिकन नागरिक नाथन बेडफोर्ड माकोव्स्कीलाई खोजी तिब्र पारेको थियो।
करीब १ महीना अघि अमेरिकादेखि नेपाल आएका नाथनलाई नेपाल प्रहरीले पक्राउ गरी अमेरिका फिर्ता पठाएको छ।
प्रहरीका अनुसार उनी नेपालहुँदै चीन जाने तयारीमा थिए।
अमेरिकन दूतावासको आग्रहमा उनलाई नेपाल प्रहरीको विषेश ब्यूरोले ठमेलबाट केही दिनअघि पक्राउ गरेको थियो। प्रहरीले पक्राउ गरेपछि उनलाई सामान्य जहाजमार्फत अमेरिका फिर्ता पठाउन खोजिएको थियो। तर, उनले अन्य विमानमा जान नमानेपछि अमेरिकन सरकारले नै एक लाख डलर खर्च गरी विमान चार्टर गरी उनलाई नेपालबाट लिएको हो।
नाथनलाई बिहीबार अमेरिका पठाइएको अध्यागमन विभागका प्रमुख ईश्वराज पोखरेलले बताए।
नाथनलाई लिन अमेरिकादेखि सुरक्षाकर्मीसहितको विमान बुधबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको थियो।
नाथन अवकाशप्राप्त सैनिक हुन् । क्यालिफोर्नियाका बासिन्दा उनी चीन हुँदै गत महिना नेपाल आएका थिए । लुक्नकै लागि उनी नेपाल आएको प्रारम्भिक अनुसन्धानमा देखिएको अध्यागमनका अधिकारीहरू बताउँछन् । नेपाल आएलगत्तै इन्टरपोलले उनलाई रेड नोटिस जारी गरेको थियो । सोही नोटिसका आधारमा प्रहरीले पक्राउ गरेको हो । नाथनलाई अध्यागमन प्रक्रिया पुरा गरी बिहीबार त्यसतर्फ पठाइएको हो।
गएको भदौ २७ मा उनलाई कोरियन एयरको जहाज मार्फत अमेरिका पठाउने तयारी थियो, तर उनले अरू जहाज नचढ्ने, यदि गईहाले पनि बिचैमा आत्महत्या गर्ने धम्की दिएपछि उनलाई उतारिएको थियो। त्यसपछि अमेरिकन सरकारले विषेश बिमान ल्याएको हो।