सात वर्षअघि उनका हातमा जुठा भाँडा मात्रै हुन्थे, चार वर्षअघि उनलाई राइफल चलाउने रहर भयो तर, अहिले उनका हातहरु कपडा सिलाउने मेसिनको गतिसँगै चलायमान हुन्छ। चार वर्षभित्र बाँके बैजनाथ–१ की २६ वर्षीया सविना चौधरीका हातका शीपहरु देख्ने गाउँलेहरु अहिले चकित छन्।
कक्षा ७ मा पढ्दापढ्दै आमाको मृत्यु भएपछि अर्थाभावका कारण कम्लहरी बस्न बाध्य सविनाको जीवनमा चार वर्षयता निकै परिवर्तन आएको छ। दाङ, बाँकेलगायतका जिल्लामा पाँच वर्ष कम्लहरी जीवन बिताएकी सविनाले अध्ययन कार्यलाई निरन्तरता दिन नसके पनि आफ्नो जीवनलाई दासताबाट भने मुक्ति दिलाइन्।
उनी दासताको त्यो जीवनबाट यति खुला र उत्साहित भएर आइन् कि ‘एउटा थारु किसानको छोरीका हातहरु जुठा भाँडा माझ्नलाई मात्र हुन्’ भन्ने समाजलाई बन्दूक समाएर देखाइदिन पाँच वर्षअघि उनी नेपालगञ्जसम्म पुगिन्। नेपाल प्रहरीमा भर्ती खुलेकाले उनी ठूलो उत्साह र जोशका साथ नेपालगञ्ज पुगेकी हुन् तर, बिडम्वना उनको त्यो लक्ष्यमा आफ्नै उचाइ बाधक बनिदियो।
'प्रहरीमा भर्ती हुन आवश्यक उचाइ नपुगेपछि ममाथि अर्को चुनौती थपियो,' सविना भन्छिन्, 'तैपनि म निराश भइनँ। समाजलाई गरेर देखाउने अनेक उपायको खोजी गर्न थालें।'
समाजलाई बेग्लै काम गरेर देखाउने धोको लिएकी सविनामा अर्को विकल्प जन्मियो – कपडा सिलाउने मेसिन चलाउने। सिलाइकटाइ सिक्न थाल्दा उनले आफूजस्तै पूर्वकम्लहरी सिर्जना चौधरीलाई भेटिन्। बैजनाथ–१ कै २७ वर्षीया सिर्जनामा पनि सविनाको जस्तै समाजमा केही गरेर देखाउने अठोट थियो । दुवैजनाले एक महिनासम्म सिलाइकटाइ सिकिन्। शुरुमा सिलाइकटाइ मेसिन चलाउन डराउने दुबैले अहिले यसैलाई व्यवसाय बनाएका छन्।
सिर्जना भन्छिन् –'शुरुमा त सकिँदैन जस्तो लाग्थ्यो, घरमा पनि यसले गर्छे भनेर विश्वासै गर्दैन्थे। अहिले व्यवसाय नै शुरु गरेको देखेर अचम्म मान्छन्।' कुनै दिन मालिकको घरमा जुठा भाँडा माझेर समय खेर फालिरहेका सविना र सिर्जनाले अहिले शीप सिकेर व्यावसायिकरुपमा सिलाइकटाइ पेशालाई अघि बढाइरहेका छन् तर, उनीहरुसामु फेरि पनि समस्या बनेको छ – समाजको अविश्वास।
'शीप सिकेर मात्र के गर्नु ?, यो केटीले कहाँ राम्रो कपडा सिलाउन सक्छे भनेर धेरैले अझै पनि विश्वासै गर्दैनन्,' सिर्जना भन्छिन् – 'हामीहरु भने विश्वास जित्नकै लागि लागिपरेका छौं।' उता सविनालाई भने अहिले मानिसहरुले काम नदिए पनि अर्काको घरमा दासताको जीवन बिताउनुभन्दा आफैं शीप सिकेर कामको खोजी गर्नसक्ने भएकामा सन्तोष छ। 'काम खोज्दै गए एक दिन कसो नपाइएला,' सविना भन्छिन्।
सरकार, सङ्घसंस्था र समाजले आफूहरुजस्ता केही गर्न चाहने पूर्वकम्लहरीको रोजीरोटीका बारेमा विशेष ध्यान दिनुपर्ने सविना र सिर्जनाको माग छ। सरकार र सङ्घसंस्थाहरुले आफूहरुको शीपको उपेक्षा गरेको उनीहरुको गुनासो छ। सविना भन्छिन् – 'हामी भएको शीपलाई प्रयोग गरेर जसोतसो खाइरहेका छौं, परिवार पालिरहेका छौं।' आफूहरुको भाँडा माझ्ने क्षमतामाथि विश्वास गर्नेहरुले सिलाइकटाइको सीपमाथि विश्वास गर्न नसकेको उनीहरुको दुःखेसो छ।
सविना भन्छिन् – 'भाँडा माझ्न थारुका छोरीहरु बाहेक अरु कोही सक्षम छैनन् कि जस्तो गरी खोजी–खोजी लैजाने तर, अरु शीपमा भने विश्वासै नगर्ने ? कुनै दिन अवश्य पनि विश्वास जाग्छ। अहिले केहीले विश्वास गर्न थालेका छन्। त्यसैले त सिलाइकटाइका कामहरु आउन थालेका छन्।' अहिले उनीहरुको पसलमा कामको चाप बढ्दै गएको छ। सिलाइकटाइ पेशाबाट दैनिक रु एक हजार ५०० देखि रु दुई हजार ५०० सम्म आम्दानी हुने गरेको उनीहरु बताउँछन्।
'दैनिक आम्दानीले खाना लाउन मात्र होइन केटाकेटीको पढाइ खर्च पनि पुगेको छ,' सविनाले भनिन्। कसैको सहयोगबिनै यही पेशाले आफूहरु आफ्नै खुट्टामा उभिन सफल भएको उनीहरु बताउँछन्। 'यो पेशाले हामीलाई निकै राहत दिएको छ,' सिर्जनाले भनिन्। बाँके चिसापानी–५ की सीता चौधरीको पनि आम्दानीको स्रोत बनेको छ, सिलाइकटाइ मेसिन। उनी आजभोलि ग्राहकका कपडा सिलाउनमै व्यस्त छिन्।
आफ्नै खर्चमा एक महिने तालीम लिएकी उनले यही पेशालाई जीविकोपार्जनको आधारसमेत बनाएकी छन्। आर्थिक स्थिति निकै कमजोर भएकी उनी आफैंले सानो सिलाइकटाइ पसल सञ्चालन गरेपछि आर्थिक अवस्था फेरिएको छ। उनको पसलमा अहिले पुरुषहरुसमेत कपडा सिलाउन पुग्ने गरेका छन्। उनी भन्छिन् – 'घरमा खानेकुरादेखि छोराछोरीलाई पढाउने खर्च यसैबाट भ्याएकी छु।'
उनीहरु मात्र होइन विभिन्न शीपमूलक तालीम पाएपछि पूर्वकम्लरीहरु आत्मनिर्भर बन्दै गएका छन्। शीप सिके जीवनयापन गर्न सकिन्छ भन्ने कुरा बुझेका पूर्वकम्लहरीहरु सिलाइकटाइ पेशातर्फ आकर्षित हुने गरेका छन्। साहुको घरमा बसेर भाडा माझ्नुपर्ने अवस्था सम्झिँदै बैजनाथ–२ की अनिता चौधरी भन्छिन् – 'विगतका वर्षहरुमा हामी साहुको घरमा बन्धकजस्तै हुन्थ्यौं। अहिले हामी त्यो घेराबाट बाहिर छौं।'
सरकारले कम्लहरी मुक्तिका लागि गरेको घोषणाको सराहना गर्दै उनले भनिन् – 'कम्लहरीलाई मुक्त गरे पनि हामीलाई बाँच्ने आधार दिएन।' सिलाइकटाइ पेशातिर आकर्षित भएका पूर्वकम्लहरीहरुले अहिले थोरै लगानीमा सोचेभन्दा बढी आम्दानीसमेत गर्दैआएका छन्। सिलाइकटाइ पेशामा लागेका अधिकाँश पूर्वकम्लहरीहरुले अहिले आफूहरुको दैनिक जीवनमा परिर्वतन आएको बताउँछन्।
राप्तीसोनारी–४ की पूर्वकम्लहरी संगीता चौधरी सिलाइकटाइ पेशा अपनाएपछि आफू आत्मनिर्भर बन्दै गएको सगर्व बताउँछिन्। तीन वर्षदेखि सिलाइकटाइ गर्दैआएकी संगीताले घर खर्चसमेत यसैबाट धानेकी छन्। मासिक रु १० हजार बचत गर्दैआएको उनी बताउँछिन्। चार वर्षदेखि थोरै लगानीमा व्यवसाय शुरु गरेर उनले आफ्नै गाउँमा महिलाहरुका लागि आवश्यक पर्ने लुगा सिलाउने गरिरहेकी छन्।
पहिले घरपरिवारको भरमा जीविका चलाउनुपर्ने संगीताले अहिले आफैंले घर खर्च चलाउन थालेपछि आफ्ना श्रीमान् र सासूससुरा खुशी भएको संगीताले बताइन्। थारु समुदायका मानिस आम्दानीको अभावमा छोराछोरीलाई विद्यालय पठाउनसमेत सक्दैन्थे तर, संगीताले सिलाइकटाइ व्यवसाय सञ्चालन गरेर छोराछोरीलाई निजी विद्यालयमा पढाइरहेकी छन्। उनीहरुजस्तै सिलाइकटाइ सिकेका अन्य पूर्वकम्लहरीहरु कुनै न कुनै पेशा गरेर स्वरोजगार बनेका छन्।
पूर्वकम्लहरीहरु पछिल्लो समयमा सिलाइकटाइ, गाडी चालक, पशुपालन, कम्प्युटर अपरेटरजस्ता तालीम पाएर स्वरोजगारतर्फ उन्मुख भइरहेका छन्। भाँडा माझ्ने शीपको प्रयोग गर्न जानेको यो समाजले आफूहरुका अन्य शीपलाई सम्मान गर्ने दिन पनि अवश्य नै आउँछ भन्नेमा पूर्वकम्लहरीहरु विश्वस्त छन्। रासस