नेपालको अदालतमा शालिकराम आत्महत्या दुरूत्साहन मुद्दालाई लिएर प्रस्तोता रवि लामिछाने र सरकारी वकिलको कार्यालय चितववनबीच मुद्दाको दोहोरी सुरू भएको छ ।
जिल्ला अदालत चितवनले रविलाई उनकै पूर्वसहकर्मी शालिकराम तिमिल्सिनालाई आत्महत्या गर्न दुरूत्साहन गरेको अभियोगमा पाँचलाख धरौटीमा तारिखमा राखेर मु्द्दा अगाडि बढाउने निर्णय गरेको थियो । त्यो निर्णयमा चित्त नबुझेर उनी केही दिन पहिला बिना धरौटी मुद्दा लड्न पाउँनुपर्ने निवेदन लिएर पाटन उच्च अदालतको हेटौँडा इजलासमा पुगेका थिए ।
उनको माग विचाराधिन रहेकै बेला सरकारी वकिलको कार्यालय चितवनले पाटन उच्च अदालतको हेटौँडा इजलासमै अर्को निवेदन दर्ता गराएको छ । सोमबार दर्ता गरिएको निवेदनमा रवि लामिछानेलाई पुर्पक्षका लागि थुनामै राखेर मुद्दा अगाडि बढाउन माग गरिएको छ ।
निवेदनमा लामिछानेलाई धरौटी र तारेखमा छोड्ने जिल्ला अदालत चितवनको आदेश बदर गरी उनलाई पुर्पक्षका लागि थुनामा पठाउन माग गरिएको छ ।
चितवन जिल्ला अदालतले रविलाई पाँचलाख, युवराज कँडेललाई तीन लाख धरौटीमा र रुकु कार्कीलाई साधारण तारेखमा रिहा गरेर मु्दा अगाडि बढाउने आदेश दिएको थियो ।