एसिड आक्रमणबाट गम्भीर घाइते मुस्कानलाई काठमाडौं पठाइयो

तस्बिरः बिएल

एसिड प्रहारबाट गम्भीर घाइते भएकी किशोरीलाई थप उपचारको लागि शुक्रबार अपराह्न काठमाडौं पठाइएको छ।

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज छप्कैयाकी मुस्कान खातुनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि थप उपचारका लागि एम्बुलेन्सबाट काठमाडौंको कीर्तिपुर अस्पतालमा पठाइएको हो।

रेशमकोठीस्थित त्रिभुवन उच्च मावि कक्षा ९ मा अध्ययनरत छात्रा खातुनमाथि शुक्रबार बिहान ६ बजे एसिड प्रहार भएको थियो।

एसिड प्रहारबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि तत्कालै नारायणी उपक्षेत्रीय अस्पतालमा लगिएको थियो।

प्रहरीका अनुसार छात्राको एसिड प्रहारले शरीरको एक भाग पुरै जलेको छ। एसिड प्रहारबाट उनको मुख, हात, छाति र पाखुरामा गम्भीर घाउ लागेको प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले जानकारी दिए।

खातुनमाथि स्थानीय दुई जना युवाले गणेशमान चोक जाने गल्लीमा एसिड प्रहार गरेको बताइएको छ ।

गल्लीमा रहेको एक शैलुनमा पहिलेदेखिनै बाटो ढुकेर बसेका उनीहरूले खातुनमाथि एसिड प्रहार गरी भागेको प्रत्यदर्शीले बिएल नेपाली सेवालाई जानकारी दिए।

प्रत्यक्षदर्शीका अनुसार ती छात्रा सोही बाटो भएर विद्यालय जाने क्रममा स्कुल ड्रेसमै रहेको बेला उनीमाथि एसिड प्रहार भएको थियो । एक्कासी उनी चिच्याउन थालेपछि स्थानीयले अस्पताल पुर्‍याएका थिए।

घटनामा संलग्न छपकैया-२ कै संसाद मियालाई प्रहरीले पक्राउ गरिसमेको छ।  थप एक युवा माजिद मिया फरार रहेकाले प्रहरीले खोजी गरिरहेको प्रनाउ शर्माले जानकारी दिए।

पक्राउ परेका मियाँले प्रेम प्रसङ्गको कारण आफूले तेजाब प्रहार गरेको बयानमा स्वीकार गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक अनन्तराम शर्माका अनुसार उनको प्रेमलाई मुस्कानले स्वीकार नगरेको कारण आफूले घटना गराएको संसादले बयानमा बताएका छन्।

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको आर्थिक सहयोगमा खातुनलाई काठमाडौंस्थित कीर्तिपुरको बर्ण हस्पिटल पठाइएको छ।

मुस्कानको सुरूवाती उपचार भइरहेको नारायणी अस्पतालमा नगर प्रमुख सरावगी आफैं पुगेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

खातुनको अवस्था गम्भीर रहेको चिकित्सकहरुको सल्लाहपछि नगरप्रमुख सरावगीले पीडितको अभिभावक रसूल मियालाई आर्थिक सहयोग गर्दै एम्बुलेन्सको व्यवस्था गरी काठमाडौं पठाए ।

सरावगीले खातुनको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै एसिड प्रहार जघन्य अपराध भएको बताउँदै दोषीमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने बताए ।

यसैबीच पर्सा निर्वाचन क्षेत्र १ का सांसद प्रदिप यादवले घाइते छात्राको परिवारलाई नगद ५० हजार प्रदान गरेका छन् ।

वीरगन्जमा लाग्ने खर्च तथा बाटो खर्चको लागि केही रकम दिएको र काठमाडौं आएपछि थप सहयोग गर्ने उनले  जानकारी दिए।

प्रकाशित मिति: : 2019-09-06 17:08:31

प्रतिकृया दिनुहोस्