जिल्ला प्रहरी कार्यालय मकवानपुरले १० बिघा क्षेत्रफलमा लगाइएको अवैध लागुऔषध गाँजा र ब्याड नष्ट गरेको छ।
प्रहरीले लागुऔषध नियन्त्रण गर्न ब्याडदेखि नै नष्ट गर्ने रणनीति लिएर सयौँ बिघामा लगाउन तयार पारिएको लागुऔषध गाँजाको लाखौँ बिरुवा र भर्खरै बेर्ना सारेर सुरु गरिएको गाँजाखेती नष्ट गरेको हो।
पश्चिम मकवानपुरको राक्सिराङ गाउँपालिका–२ को आमडाँडा, कुडुले, कालीधाप आदि स्थानमा दल राखिएको गाँजाको ब्याड र लगाएको गाँजा खेती गरी दुई बिघा १५ कट्ठा, वडा नम्बर ३ को लाउती, केराबारी, खहरे, बोतेरिन, रिखुती आदि क्षेत्रमा लगाइएको गाँजा ६ बिघा र वडा नम्बर ४ को बिमलटार, चौकीटार, घरकोट, लुथुरे, पंजनी आदि स्थानको १५ कट्ठामा लगाइएको गाँजा र करीब एक कट्ठामा लगाइएको गाँजाको ब्याड नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।