सडकभरि जथाभावी जथाभाबी टागिएका तारका कारण सडक दुर्घटना बढेपछि जिल्ला प्रशासन कार्यालय भक्तपुरले सम्वन्धीत निकाएलाई तार ब्यवस्थापन गर्न निर्देशन जारी गरेको छ।
इन्टरनेट सेवा प्रदायक कम्पनीका तारहरु आगामी १५ दिनभित्र व्यवस्थापन नगरे कारवाही गरिने प्रशासनले चेतावनी दिएको छ।
जिल्ला प्रशासन कार्यालयमा मंगलबार प्रमुख जिल्ला अधिकारी नारायण भट्टको अध्यक्षतामा सरोकारवाला निकायबीच भएको छलफलमा यस्तो निर्णय भएको हो।
कुनै पनि बहानामा केबुल टिभी तथा इन्टरनेट प्रदायक कम्पनीले पन्छिन नपाउने भन्दै १५ दिनभित्र सडकमा लत्रिएका तार केबुल टिभी र ईन्टरनेट कम्पनीले व्यबस्थापन गर्न निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिए।
त्यस्तै हनुमन्ते सफाइ अभियानका सहसंयोजक एवं सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुन बस्नेतले सडकको बीचमा रहेको विद्युत् र टेलिकमको खम्बा नसारिँदा निकै समस्या आएकाले यसको व्यवस्थापनमा समन्वय गरिदिन प्रजिअलाई आग्रह गरे। हनुमन्ते सफाइ रुद्र पौडेलले अरनिको राजमार्ग खण्डको जडीबुटीदेखि नै अव्यस्थित रुपमा गुजुल्टो बनाएर लतारिएका नेपाल टेलिकम, विभिन्न इन्टरनेट प्रदायक कम्पनीका तारहरुले दैनिक दुर्घटना बढाएको बताए।
अभियानकर्मी नवराज काफ्लेले समस्या समाधान गर्न नेपाल विद्युत् प्राधिकरण मध्यपुरथिमि शाखाका प्रमुखको नेतृत्वमा १३ सदस्यीय समिति गठन भए पनि यसलाई प्रभावकारी बनाउन प्रजिअले भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे। हनुमन्ते सफाइ अभियानका दूत एवं चलचित्र निर्देशक मदन घिमिरेले गत शनिबार सफाइ अभियानकै क्रममा जडीबुटीदेखि लोकन्थलीसम्मको लत्रिएका तीन ट्रक तार व्यवस्थापन गरिएको बताए।
छलफलमा नेपाल विद्युत् प्राधिकरणका थिमि शाखाका प्रमुख मेघनाथ ढकालले अनुमति र सम्झौतासमेत नगरी नियम विपरीत इन्टरनेट प्रदायक कम्पनी र केबुल टिभीले विद्युत्को खम्बामा जथाभावी तार राखेको बताए।
टेलिकमले मात्रै सम्झौता गरे पनि अन्यले जथाभावी तार राख्ने र पटक पटक पत्राचार गर्दा पनि सम्झौता र रोयल्टी तिर्न अटेर गरेको उनको भनाई छ।