आज ऋषिपञ्चमी पर्व, हिन्दु नेपाली महिलाहरुले नुहाइ–धुवाइ गरेर चोखो वस्त्र लगाइ पूजापाठ गरी तीज व्रत सम्पन्न गरेका छन्।
यस पर्वका दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर वर्ष दिनको प्रतीकका रुपमा ३ सय ६५ ओटा दतिवनले दाँत माझी, माटो तिल र अमलाको पिनाले स्नान गरी चोखो वस्त्र धारण गरेर मध्याह्नपख अरुन्धतीसहित सप्तऋषिको पूजा गर्दछन्।
अरुणन्धतीसहित सप्तऋषि कस्यप, अत्री, भारद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वामित्रको पूजा आराधना गरी तीज व्रत समापन गर्ने प्रचलन छ। रजस्वला भइसकेका नारीहरुले भविष्य पुराणका अनुसार ब्रह्म हत्याको पापमुक्ति तथा रजस्वला भएका अवस्थामा जानीरनजानी भए गरेका पापजन्य कार्यबाट मुक्ति मिलोस भन्नाका लागि सप्तऋषिको पूजा गर्ने प्रचलन रहेको हो।
ऋषिपञ्चमीका अवसरमा काठमाडौँको टेकुस्थित ऋषेश्वर मन्दिरमा सप्तऋषिको दर्शन तथा ऋषिपञ्चमी मेला भर्न आएका महिला भक्तजनहरुले ऋषेश्वरको दर्शन तथा पूजा आराधना पछि नाचगान पूजा अर्चना गरेका छन। काठमाडौँ महानगरपालिका–१२ मा रहेको यस मन्दिरमा प्रत्येक वर्ष ऋषिपञ्चमीका अवसरमा विशेष मेला सहित दशनार्थी महिलाहरूको भीड लाग्ने गर्दछन्।