विद्यार्थीहरुको निशुल्क आँखा परीक्षण

तस्बिरः एजेन्सी

विराटनगर आँखा अस्पतालले नगरका सामुदायिक विद्यालयका विद्यार्थीहरुको दृष्टिदोष हटाउन आजदेखि सम्पूर्ण सुविधायुक्त ‘भिजन भ्यान’ गाडीभित्र नै आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ।

अरविश इन्टरनेशनलले रिच प्रोग्रामअन्तर्गत रु ३२ लाख ७२ हजार र नेपाल नेत्र ज्योति सङ्घ मोरङको रु १० लाख गरी रु ४२ लाख ७२ हजारको उक्त भ्यानमा विद्यालयका सम्पूर्ण विद्यार्थीको आँखा परीक्षण गर्नाका साथै चस्मासमेत निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिएको छ।

उक्त भ्यानमामा दृष्टि परीक्षण उपकरण, स्लिट लेम्प, टोनोमिटर, फनडस जाँच तथा तुरुन्त चस्मा तयार व्यवस्था गरिएको छ। वातानुकूलित भ्यानको अगाडिपट्टि टेलिभिजन राखी विभिन्न जनचेतना जागृत गराउने सामग्रीसमेत प्रदर्शन गरिने भएको छ।

विद्यार्थीहरुको परीक्षणपश्चात् शल्य चिकित्सा गर्नुपर्ने भएमा विराटनगर आँखा अस्पतालमा निःशुल्क उपचार गराउने व्यवस्था गरिएको छ। भ्यान सञ्चालनले आगामी तीन वर्षभित्र तीन लाख विद्यालयका बालबालिकाको आँखा परीक्षण गर्नाका साथै चस्मा वितरण गरिने लक्ष्य लिइएको छ।

विराटनगर उपमहानगरपालिका प्रमुख भीम पराजुलीले गायत्री संस्कृत माविमा आज भ्यानको उद्घाटन कार्यक्रममा आर्थिकरूपमा कमजोर रहेका सामुदायिक विद्यालयका विद्यार्थीलाई सेवा पु¥याउन शुरु गरिएको सेवाप्रति हर्ष प्रकट गरे।

उनले महानगरपालिकाले गत वर्षदेखि नगरमा रहेका आँखा अस्पतालसँग समन्वय गरी मोतियाविन्दुरहित अभियान सञ्चालन गरी निःशुल्करूपमा नगरवासीलाई शल्यक्रिया सेवा उपलब्ध गराएको जानकारी दिए।

पूर्वाञ्चल आँखा उपचार समन्वय समितिका संयोजक सुधीर ठाकुरले विगत ३६ वर्षको अवधिमा लहान र विराटनगर आँखा अस्पतालले ८० लाख जनताको आँखा परीक्षण र १४ लाखको शल्यक्रिया गरेको जानकारी दिए।

अरविश इन्टरनेशल बेलायतका डेबिट ब्रुस फ्रुस्टेन स्थलगतरूपमा विद्यालयमा विद्यार्थीको दृष्टिदोष परीक्षण भ्यानको सुविधायुक्तले प्रभावकारी हुने विश्वास व्यक्त गरे।

विराटनगर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्यामुकमार पोखरेल, सदस्य पद्मनारायण चौधरी र अरविश इन्टरनेशलका भारत निर्देशक ऋषि बोहराले नियमित आँखा परीक्षणले बालबालिकामा दृष्टिदोष समस्या समाधानमा सहज हुने बताए। विद्यार्थीहरुमा हुने दृष्टिदोषमा सामुदायिक विद्यालयमा तीन प्रतिशत रहेको छ भने संस्थागततर्फ नौ प्रतिशत रहेको सोही अवसरमा बताइयो।

विराटनगर आँखा अस्पतालले सन् २०१८ मा पाँच लाख ५० हजार सर्वसाधारणको आँखा परीक्षण गर्नाका साथै ७१ हजारको शल्यक्रिया गरेको अस्पतालले जनाएको छ। विद्यालयमा अध्ययनरत तीन सय बालबालिकाको आँखा आज परीक्षण गरिएको छ।

प्रकाशित मिति: : 2019-09-01 16:04:07

प्रतिकृया दिनुहोस्