प्रहरीले नबिल बैंकको एटीएमबाट रकम निकाल्दै गर्दा शनिबार राति पक्राउ परेका ५ जना चिनियाँ नागरिकलाई आज सार्वजनिक गर्ने भएको छ।
आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरीले पक्राउ परेका पाँच जना चिनियाँहरू चेन बिन बिन, झु लियांग आंग, क्वियु युंगक्विंग, लुओ जिआल्बी र लिन बिनमेंगलाई सार्वजनिक गर्ने भएको हो।
प्रहरीले उनीहरुको साथबाट १ करोड २६ लाख २९ हजार ४५ रुपैयाँ, ८० हङकङ डलर, ८० चिनियाँ युआन १ हजार १ सय ९१, अमेरिकी डलर ९ हजार १ सय ८, कम्बोडियाको मुद्रा ५ हजार र युरो २ सय ५० बरामद गरेको छ।
शनिवार बेलुका प्रहरीलाई एटिएमबाट रकम झिकिएको सूचना बैंकले नै दिएका थिए। सूचना पाएपछि प्रहरीले कारवाही थालेको थियो। केही समयको निगरानीपछि दरबारमार्गमा रहेको नबिल बैंकको एटिएमबाट एक चिनियाँ नागरिकले झोलामा पैसा लिएर गएको भेटिएपछि नियन्त्रणमा लिइएको थियो।
एटिएमबाट झोलामा पैसा लगेको देखेपछि शंका लागेर प्रहरीले अनुसन्धान अगाडि बढाएको थियो। सोही क्रममा प्रहरीले थप चार जनालाई फेला पारेको हो।
प्रहरीले नियन्त्रणमा लिएका ती व्यक्तिलाई पिछा गर्दै गएपछि होटेल माया मनोरमा पुगेको थियो।
‘एक जनालाई एटिएम बुथ र बाँकीलाई होटेलबाट नियन्त्रणमा लिएका हौं,' महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्तमराज सुवेदीले भने।
‘उनीहरूले चीनबाटै योजना बनाएर आएको देखिन्छ। बैंकहरुको आवश्यक डाटा नै लिएर आएका रहेछन्। रकम झिकेर तत्कालै चीन फर्कने योजना देखिन्छ,' परिसरका डिएसपी होबिन्द्र बोगटीले भने।
शुक्रवार नेपाल आएका उनीहरुले एटिएम बुथबाट निकालेको पैसा झोला र ब्रिफकेसमा राखेर होटेलको कोठामा पुर्याउने गरेको देखिएको छ। उनीहरुले दरबारमार्ग, स्रोहखुट्टे, ठमेल क्षेत्रका एटिएमलाई टार्गेट बनाएका थिए। ‘चाँडै सूचना नपाएको भए करोडौँ रुपैयाँ लुटिसकेका हुन्थे,' एसएसपी सुवेदीले भने।
पाँचै जनाविरूद्ध बैंकिङ कसुरमा म्याद थप गरी अनुसन्धान गर्ने प्रहरीले जनाएको छ। उनीहरुलाई पाटन उच्च अदालत पेस गरी त्यहाँबाट म्याद थप हुनेछ।
गए राति प्रहरीले चिनियाँ नागरिकलाई नियन्त्रणमा लिएको थियो। यसैबीच चिनियाँ नागरिकबाट सिस्टम असुरक्षित रहेको थाहा पाएपछि अधिकांश बैंकहरूले एटीएम सिस्टम डाउन गरेका थिए।
केही बैंकहरुले प्रयोगमा ल्याएको नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम लिमिटेड (नेप्स) को प्रणालीलाई चिनियाँ गिरोहले ह्याक गरेको छ। यो प्रणालीमा १५ वटा बैंकहरु आबद्ध छन्।
उनीहरु रकम लुटेर आइतवार र सोमवार नै चीन फर्किने तयारीमा रहेको अनुसन्धानमा खुलेको छ।