एटिएमबाट अरूको डाटा प्रयोग गरि १ करोड २६ लाख रकम चोर्ने ५ चिनियाँ नागरिक नगदसहित पक्राउ
पर्यटकको भेषमा नेपाल घुम्न आएर विभिन्न नेपालीको रकम चोरी गरी स्वदेश फर्कने तयारीमा रहेका ५ चिनियाँ चोरलाई प्रहरीले पक्राउ गरेको छ।
लामो समयदेखि विभिन्न नेपालीको डाडा चोरेर एटीएम बुथ मार्फत रकम चोरी गर्दै आएको चिनीयाँ गिरोह पक्राउ पछि यस्तो रहस्य खुलेको हो।
नेपाल घुम्न आउने बहानामा चिनीयाँ नागरिकले रकम चोरी गर्दै स्वदेश फर्कने गरेको रहस्य शनिबार पक्राउ परेका ५ चिनीयाँ नागरिकले खुलाएका हुन्।
महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले अरूको डाटा चोरी गरेर रकम निकाल्ने ५ चिनीयाँलाई शनिबार पक्राउ गरेको परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए।
नबिल बैङ्कबाट पैसा निकाल्दै गरेको अवस्थामा सो समूहका सुरुमा एक जनालाई पक्राउ गरेर अनुसन्धान गर्दै जाँदा बाँकी ४ जनाको पनि संलग्ता देखिएपछि उनीहरु दरबारमार्गबाट पक्राउ परेका हुन् ।
पक्राउ परेका चिनीयाँ नागरिकको साथबाट प्रहरीले १ करोड २६ लाख नेपाली रूपैया र ९ सय अमेरिकी डलरसमेत बरामद गरेको छ।
बरामद नेपाली रूपैया विभिन्न एटिएमबाट विभिन्न ब्यक्तिको चोरी गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका चोर शुक्रबार मात्र चीनबाट काठमाडौं आएका थिए। पटक पटक नेपाल आएर रकम चोरी गरि उनीहरु स्वदेश फर्कने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका सबैलाई प्रहरी हिरासतमा राखि आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।