गढीमाई मेलामा दिइने बलिको सिनो बहिस्कार गर्ने घोषणा

फाइल तस्बिर

विश्वमै सबैभन्दा बढी बलि दिने मेलाका रूपमा चर्चित बाराको महागढीमाई मेलामा दिइने राँगाको बलिको सिनो चमार जातिले बहिस्कार गर्ने जनाएका छन् ।

पाँच वर्षमा लाग्ने महागढीमाई मेला यस वर्ष मंसिरको दास्रो सातादेखि हुने भएको छ। सो मेलामा लाखौको संख्यामा बोका, राँगा, परेवालगायत भाकल गरेका पशुपंक्षीको बलि दिनै चलन छ। मेला अवधिभरी चढाईने राँगाको बलिपछि त्यसको सिनोलाई चमार जातिले घरमा लगि मासुको रुपमा प्रयोग गर्ने तथा वर्ष भरी खान सुकुटी तयार गरेर राख्ने चलन रहेको छ ।

दलित समुदायअन्तर्गत पर्ने चमार जातिलाई सिनो खाने जात भन्दै विभेद गरिएको हुँदा यस्तो निर्णय गरिएको दलित अधिकार समाज पर्साका अध्यक्ष मनोज रामले बताए । आत्मासम्मानको लागि पूर्ण रूपमा गढीमाई मेलाको सिनो बहिष्कार गरौं भन्ने नाराको साथ शनिबार बाराको  चैनपुरमा चमार जातिले सिनो बहिष्कार सभाकै आयोजना गरे ।

चौतर्फि रुपमा बहिष्कृत चमार जातिलाई सिनोको नाममा थप विभेद व्यहोर्नुपर्ने भएको हुँदा सिनो बहिष्कार अभियान सञ्चालन गर्ने निर्णय गरिएको सचिव राज नारायणले बताए ।

सिनो बहिष्कार अभियानलाई बारा, पर्सा र रौतहटको गाउँ गाउँमा रहेको चमार बस्तिमा पुर्‍याउन आगामी दिनमा जनचेतनामुलक कार्यक्रम गर्ने निर्णय सभाले गरेको अध्यक्ष मनोज रामले बताए ।

सिनो बहिष्कार मुल समितिको आयोजनामा भएको कार्यक्रममा दशरथ राम, सुब्बा राम, किशोरी रामलगायत बारा-पर्साका एक सय जना चमार जातिका अगुवाहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: : 2019-08-31 20:44:11

प्रतिकृया दिनुहोस्