बिजुली बलेपछि फेरियो दैनिकी

तस्बिरः बिएल

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने धौलागिरि गाउँपालिका–६ बुलमा विद्युत् सुविधा पुगेको छ। गाउँपालिकाको सहयोगमा स्थानीयवासीले श्रमदान र नगद सङ्कलन गरेर गाउँ झिलीमिली बनाएका हुन्। बुल गाउँका ४० घरमा बिहीबार बेलुकीदेखि बिजुली बलेको वडाध्यक्ष राजाराम सुवेदीले जानकारी दिए।

छिमेकी मल्कवाङमा सञ्चालित नन्दीवाङखोला लघु जलविद्युत् परियोजनाको विद्युत् बुलमा विस्तार गरिएको हो। केन्द्रीय प्रसारण लाइनको विद्युत् विस्तारको तत्काल सम्भावना नभएकाले लघु जलविद्युतको बिजुली विस्तार गरिएको वडाध्यक्ष सुवेदीले जानकारी दिए।

बुलमा विद्युतीकरणका लागि गाउँपालिकाले आर्थिक वर्ष २०७५/७६ मा रु २५ लाख विनियोजन गरेको थियो। बिजुलीका पोल र तार ढुवानी गर्न रु तीन लाख २० हजार बराबरको श्रमदान गरेका उपभोक्ता समितिका अध्यक्ष नरबहादुर जुग्जालीले बताए।

गाउँपालिकाको अनुदानबाट १०४ किलोग्राम तौल भएका ५६ थान विद्युत्का पोल र साढे सात किलोमिटर तार खरीद गरिएको थियो। पोल गाड्ने खाडल खन्न पनि श्रमदान गरिएको थियो।

स्थानीयवासीबाट नगद सङ्कलन गरेर नन्दीवाङखोला जलविद्युत् परियोजनाको उपभोक्ता समितिलाई विद्युत् खरीदका लागि रु सात लाख ५० हजार बुझाइएको थियो। मल्कवाङको मलम्पारसम्म पुगेको विद्युत्को लाइन विस्तार गरेर बुल पुर्‍याइएको हो। मल्कवाङमा तीन वर्षअघि निर्माण भएको ४८ किलोवाट क्षमताको नन्दीवाङखोला जलविद्युत् परियोजनाको विद्युत् उपभोग हुन नसकेर खेर गइरहेको थियो।

बुलका बासिन्दा यसअघि उज्यालोका लागि सोलार र टुकीमा निर्भर थिए। विद्युत् अभावमा सूचना प्रविधि, मनोरञ्जन र उद्यम व्यवसायको अवसरबाट वञ्चित थिए। विद्युत् सुविधा भएपछि स्थानीयको दैनिकी सहज भएको छ। विद्युत्बाट चल्ने कुटानीपिसानी मिल सञ्चालन गरिएको छ। गहुँ, मकै, कोदो पिस्नका लागि दुई घण्टा हिँडेर बेँसी पुग्नुपर्ने बाध्यता हटेको स्थानीय लक्ष्मी केसीले बताए। बालबालिकालाई उज्यालोमा बसेर पढ्न र स्थानीयलाई घरायसी काम गर्न सहज भएको छ। रासस

प्रकाशित मिति: : 2019-08-30 09:30:19

प्रतिकृया दिनुहोस्