चितवनमा जन्मियो अर्नाको पहिलो बच्चा

अर्नाको बच्चा जन्मियो

चितवन राष्ट्रिय निकुञ्जको खुला खोरमा राखिएको एक अर्नाले बच्चा जन्माएको छ। यससँगै यहाँ अर्नाको सङ्ख्या १३ पुगेको छ। गत आर्थिक वर्षमा तीन वटा बच्चा जन्मिएका थिए। निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा विसं २०७३ मा खुला खोर निर्माण गरी अर्ना र बाह्रसिङ्गे ल्याइएको थियो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार यही भदौ ९ गते अर्नाले बच्चा जन्माएको हो। पशु चिकित्सकले बाह्य शरीर हेरेर अन्य दुई अर्नाले पनि बच्चा जन्माउन सक्ने अनुमान गरेको ढकालले जानकारी दिए। सदर चिडियाखानाबाट तीन र कोशीटप्पुबाट १२ अर्ना ल्याइएको थिय। तीमध्ये छ मरेका छन् भने यससँगै चारवटा बच्चा जन्मिएका छन् । हाल खोरमा दुई भाले र सात पोथी छन्। शुक्लाफाँटाबाट सोही समयमा ल्याइएका सात बाह्रसिङ्गेमध्ये तीन मरेका र तीन बेपत्ता भएपछि एउटा मात्र खोरमा छ।

हाल निकुञ्जभित्रको पुरानो पदमपुरमा २२ हेक्टर जमीनमा विद्युतीय पिसिसी मेस जालीसहितको तारबार गरेर अर्ना र बाह्रसिङ्गे राखिएको छ । सो ठाउँमा थप २५ हेक्टर क्षेत्रफल विस्तार गरी दुवै वन्यजन्तुको सङ्ख्या थप गर्ने तयारी गरिएको ढकालले बताए।

प्रकाशित मिति: : 2019-08-29 19:36:08

प्रतिकृया दिनुहोस्