बालबालिकाको शिक्षामा ध्यान दिन मुख्यमन्त्रीको आग्रह

तस्बिरःबिएल

प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले बालिकाहरुको शिक्षामा जोड दिन अभिभावक संग आग्रह गरेका छन्। प्रदेशमा गठन भएको लोक सेवा आयोगमा महिलाहरुलाई ५० प्रतिशत आरक्षण गरिएको र यसको परिणाम आगामी १० बर्षमा देखिने भएकाले बालिकाहरुको शिक्षामा बिशेष जोड दिन मन्त्री राउतले आग्रह गरेका हुन्। 

बेटी बचाउ, बेटी पढाउ अभियान अन्तरगत वीरगंज महानगर पालिकाको वडा नम्बर ५ बिर्ता स्थित गणेशमान चौकमा अवस्थित श्री सुन्दरमल राम कुमार कन्या उच्च मा वि मा अध्ययनरत कक्षा ८ का १ सय ३ जना छात्राहरुलाई आज एक समारोहका विच साईकल वितरण गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ का प्रत्येक कार्यालय तथा निकायहरुमा आगामी १० बर्ष पछि महिलाहरु कार्यालय प्रमुखको रुपमा पुग्ने अपेक्षा आफूले लिएको बताए ।

प्रदेश २ शिक्षा क्षेत्रमा पछाडी रहेको त्यसमा पनि महिला झन पछाडी परेको हुँदा शिक्षामा महिला सहभागिता बढाउन साईकल वितरण गरिएको मुख्यमन्त्री राउतले बताए । मुख्यमन्त्री राउतले प्रदेश सरकारले शिक्षामा महिलाहरुको पहुच बढाउन साईकल वितरण कार्यक्रमलाई प्राथमिकता दिएको बताए। मुख्यमन्त्री राउतले संघिय सरकारको शिक्षा नियमावली अहिले पनि एकात्मक रहेको बताउदै देश संघिय प्रणालीमा भएको भए पनि शिक्षाका सम्पूर्ण अधिकार प्रदेशले नपाएको गुनासो गर्नु गरे।

यसअघि सोमबार बेटी बचाउ, बेटी पढाउ अभियान अन्तरगत पर्साको पोखरीयामा उच्चांगल रामदेव साह कलवार उच्च माविमा अध्ययनरत १ सय ६३ जना छात्राहरुलाई साईकल वितरण गरिएको थियो।

 

प्रकाशित मिति: : 2019-08-28 13:48:46

प्रतिकृया दिनुहोस्