सामाजिक सञ्जाल फेसबुकमा आफूलाई एयरहोस्टेजको परिचय दिँदै ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ।
‘नक्कली एयरहोस्टेस’ लाई झापा प्रहरीले आईतबार टागनडुब्बाबाट पक्राउ गरेको हो। झापा प्रहरी प्रमुख एसपी दिनेश मैनालीका अनुसार लामो समयदेखि झापा अर्जुनधारा नगरपालिका-६ की २७ वर्षीया तविता राईले आफूलाई जेट एयरको एयरहोस्टेज भन्दै ठगी गर्दै आएकी थिइन्।
गुरास श्रेष्ठ र गरिमा श्रेष्ठको नाममा उनले नक्कली फेसबुक आइडी खोलेर ठगी गर्दै आएको प्रहरी अनुन्धानबाट खुलेको छ। ती महिलाले आफ्नो घर सिक्किम, भारतमा रहेको र आफू जेट एयरको एयरहोस्टेस भन्दै बिभिन्न ब्याक्तिलाई साथी बनाएर ठगी गरेकी थिइन्।
‘बुवा अमेरिकामा बस्ने र आमा डाक्टर, दाजु पाइलट हुनुहुन्छ भनी आफ्नो परिचय दिएर मोबाइल र मेसेन्जरमा निरन्तर कुराकानी गरी नजिक भएर ठगी गरेको देखिएको छ,’ झापाका प्रहरी उपरीक्षक दिनेश मैनालीले भने, ‘लामो समय कुराकानी गरेपश्चात विवाह गर्नेसम्मको प्रलोभन दिई केही समस्या देखाएर पुरुष व्यक्तिहरूसँग रकम माग गरेको खुलेको छ।’
मैनालीका अनुसार ती युवतीले दुई युवाबाट करिब चार लाख रूपैयाँ ठगेको उजुरी छ। राईले रकम नदिएमा आत्महत्या गर्ने भनी धम्की समेत दिने गरेको मैनालीले बताए।
राईलाई झापा अदालतबाट ठगी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको मैनालीले जानकारी दिए।