रवि सर्मथकद्वारा प्रहरीमाथि आक्रमण, डीएसपीसहित ७ प्रहरी घाइते

रविका समर्थकहरू प्रहरीविरूद्ध जाइलाग्दै

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका कार्यक्रम प्रस्तोता रवि लामिछानेका सर्मथकले ड्यूटीमा रहेका प्रहरीमाथि आक्रमण गरेका छन्।

रविको समर्थकको आक्रमणबाट प्रहरीका डिएसपीसहित सात प्रहरी घाइते भएका छन्।

ड्यूटीमा खटिएका प्रहरीमाथि रविका सर्मथकले ढुङ्गा प्रहार गरी आक्रमण गरेको चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्लले जानकारी दिए।

एसपी मल्लका अनुसार आईतबार साँझ रविका सर्मथकको आक्रमणबाट ७ प्रहरी घाईते भएका छन्।

उनका अनुसार जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डीएसपी एकनारायाण कोइरालासहित ७ जना प्रहरी घाइते भएका हुन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ।

लामिछानेको रिहाइको माग गर्दै प्रदर्शनमा उत्रिएको समूहले बा १६ च ३०४१ नम्बरको गाडीमा तोडफोड गर्नुका साथै सडकमा टायर बालेर प्रदर्शन गरेका थिए।

प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन केही सेल अश्रु ग्यास प्रहार गरेको थियो।

 प्रहरीले १० जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ।

पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछानेसहित युवराज कँडेल र अस्मिता कार्कीलाई साउन ३० गते काठमाडौंबाट नियन्त्रणमा लिएको थियो।

साउन २० गते पुडासैनी चितवनको नारायणगढ बसपार्कस्थित एक होटलमा झुण्डिएको अवस्थामा फेला परेका थिए।

आइतबार सरकारी वकिलको कार्यालय चितवनले पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै अस्मिता कार्की, रवि लामिछाने र युवराज कँडेलविरुद्ध अभियोगपत्र दायर गरेको छ।

प्रकाशित मिति: : 2019-08-25 21:00:38

प्रतिकृया दिनुहोस्