म कलियुगकाे कृष्ण... : यसरी मनाइन्छ जुम्लामा श्रीकृष्णाजन्माष्टमी

जुम्लामा कृष्णजन्माष्टमी एक दृश्य । तस्बिर : बीएल नेपाली
म समय हुँ । 
 
म समय समयमा जन्मिन्छु । म हरेक साल जन्मिन्छु। हरेक साल जन्मिने मलाई हेर्नुछ भने कृपाया जुम्ला आउनुहाेस्, जम्मा २४ घण्टाकाे समय मिलाएर । त्यसपछि  देख्नुहुनेछ म जन्मिएको, हुर्किएकाे र मैले कंश नास गरेकाे ।
 
प्रश्न उठ्न सक्छ कलियुगमा कृष्ण ? तपाईले कृष्ण सुनेकाे द्वापर युगमा हाे । सत्य र त्रेता पछिकाे युगमा । वा मार्क्सकै समाज विकासकाे नियम अनुसार भन्ने हाे भने 'आदिम साम्यवाद र दासयुगपछि सामन्तवादी वा पूजीवादी युगमा ।  
 
यति पुरानाे कुरा आज कम्युनिस्टहरुले राज गरेकाे देशमा किन ? 
 
शासन सत्तामा कम्युनिस्ट नाम गरेका छन् भनेर फेरि समाजवादी वा साम्यवादी शासन छ भनिहाल्न हतार नगर्नु हाेला । नाम जे सुकै गरेका भए पनि सत्ता चरम पुँजीवादी छ । पुँजीवादकाे खाेलमा नवसामन्तकाे उदय भैरहेकाे छ । त्यसैले याे समय मार्क्सकाे परिभाषाअनुरुपको सामन्तवाद र पुँजीवादकाे रिमिक्स हाे । मलाई अदृश्य शक्तिका रुपमा युगाैंदेखि पुज्दै आउँने तपाईहरुका अनुसार याे समय कलियुग हाे । तपाई म जन्मिने बेला अरु थुप्रै रिमिक्स देख्नुहुनेछ । त्याे हाे सत्य, त्रेता र द्वापर युगमा देखिएका सबै पात्र एकै ठाउँमा ।
 
हाे म कलियुगकाे कृष्ण । त्यसैले म जन्मिरहेकाे छु, हरेक साल । अनि भन्नुहाेला सिर्फ २४ घण्टामै याे सब ? हाे २४ घण्टामै हुन्छ, सब । त्यसैले त भनिरहेछु- 'म समय हुँ ।' 
 
आउनुहाेस म आज तपाईलाई मेराे जन्म कथा भन्छु । जुम्लामा हुने मेराे जन्मकथा । १९५३ सालमा कृष्णवीर श्रेष्ठ नाम गरेका एक नेवारले जात्रा चलाउने प्रस्ताव गर्दा जुम्ला खाल्डाेमा बसाेबास गर्ने सबैले माने । त्यसपछि हरेक साल मेराे जन्मकथा दाेहाेरिरहेछ । त्यसैले भन्छु 'मेराे याे राेचक कथा जान्नुछ भने जम्मा २४ घण्टा छुट्याए पुग्छ । २४ घण्टा नछुट्याउने भएपनि ठीक छ । २४ मिनेट लाग्ने यी मेरा गन्थन मन्थन पढिदिनुहाेस् ।
 
तपाई मलाई पढिरहनुभएकाे छ भने मेरो कुरा सुनेर चकित नहुनु हाेला,  कसरी बोल्न थाल्यो भनेर ? प्रश्न पनि नगर्नु हाेला । जवाफ म आफै दिनेछु । कृपया धैर्य गर्नुहाेला । यस्तो पनि समय आउँछ, कालले लगिसकेको मान्छेले बोल्नुपर्छ भने म किन नबाेलाैं ?
 
श्रावण कृष्ण चतुर्दशीका दिन गठामंगल (गाँठेमंगल)को रुपमा घण्टाकर्ण नामक राक्षसको पुत्ला थपना गरी सोही दिन साँझ नदीमा सेलाएबाट मेरा मामा कंशले दिनदिनै नाच देखाउन थालेका हुन् । अझ भनाै मेरा मामाकाे आतंक त्यसै दिनबाट सुरु भैएकाे हाे । समयले मेराे जन्मकाे आवश्यकता महशुस गरिरहेछ । 
 
अहिले अस्पतालले बच्चा जन्मिने डेट दिन्छ । तर, मेराे डेट क्यालेन्डरमै छ । ज्याेतिषहरुबाट मेराे जन्मदिन फिक्स गराइएकाे छ । जुम्लामा चारवटा जात्रा सकिसकेका छन् । बडिमालिका बढाई गर्ने काम पनि सकिसकेको छ । तर, लाखेका भेषमा बजार उत्रने मेरा मामाकाे आतंक मच्चिरहेकै छ । अब थाेकै दिनमात्र बाँकि छन् भनेर मान्छेहरु धैर्य गरिरहका छ्न् । गाउँबाट बजार आउनेहरु याे देखेर मेराे जन्मकाे अपरिहार्यताबारे गाउँगाउँसम्म प्रचार गर्छन् । हरेक दिन आतंक मच्चाइरहेका मेरा लाखे (कंश) मामाकाे अन्त्यकाे दिन गनिएकाे छ । त्याे समय सदरमुकाम आउने गाउँलेहरु मेराे सन्देश बोकेर गाउँगाउँ पुग्छन् र भन्छन् 'यो वर्ष पनि श्रीकृष्णकाे अवतार हुनेछ र कंशकाे नास हुनेछ ।' समय नजिकिदै जाँदा मेराे व्यग्र प्रतीक्षा गरिरहेकाहरु गाउँगाउँबाट सदरमुकाम खलंगा झर्न थाल्दछन् । 
 
त्यस्तै जाजरकोट, मुगु, कालिकोट र डोल्पाबाट पनि मान्छेहरु खलंगा झरिरहेका छन् । लामो समय कृषि पेशा र घरायसी कामकाजबाट थाकेकाहरु म जन्मिएपछि थकाइ कम भएकाे महसुस गर्छन् । 
 
यी सबै कुरा मैले गर्भमै थाहा पाउछु । आफूलाई आधुनिक समयकाे अनुयायी सम्झिने तपाईहरु मेरा कुरा सुनेर बारम्बार प्रश्न गर्ने मुडमा हुनुहुन्छ, मलाई थाहा छ । तर तपाईहरु नै मेरा फ्यान (उहिलेकाे जमानाका मेरा भक्त) भएकाले मेरा कुरा पत्याउनु हुन्छ भन्ने मलाई विश्वास छ । 
 
अर्जुनसँग बिहे गरेकी मेरी बहिनी सुभद्रा गर्भवती हुदाँ सुनाएकाे कथाकै आधरमा अभिमन्युले महाभारतमा त्यत्रो पराक्रम देखाउन सके । सुभद्रा सुतेकै कारण उनले बाँकि कथा सुन्न पाउँदैनन् । फलस्वरूप उनी लक्ष्यमा नपुग्दै  मारिन्छन् । अब तपाईहरु आफै भन्नुस् गर्भमा रहेकाे बेला तपाईहरुले मेराे जन्मदिन कुरेर बसेकाे । मबाट मेरा मामाकाे बध हुनुपर्छ भनी तपाईहरुले गरेकाे अपेक्षा म नसुनाैला र ? अब चाहिँ पक्का पत्याउनु भएकाे छ । 
 
तपाईहरु सबै सदरमुकाममा पुगिसकेको थाहा पाउँदा मेरी आमा देवकी औधी खुसी भएकी छिन् । म पनि अब त धर्तीमा पाइला टेक्ने दिन आयाे भनेर आमाभन्दा दाेब्बर खुसी छु । 
 
घरमा जे उत्पादन भएकाे छ त्यही कुम्लाे, कुटिराे पारी बजार हिडेका तपाईंसँग उसिनेका आलु, हरिया काँख्रा, स्याउ, नास्पाती, फापरका ढेस्सु छ । मगमग बसाइरहेछन् । थाेरैकाे मात्र आवासकाे व्यावस्था मिलाउन सक्ने सदरमुकामा कहाँ बसाैंला, कहाँ सुताैला ? कुनै सुर्ता नगरी आउँदै हुनुहुन्छ भन्ने थाहा पाएपछि मैले रातकाे १२ बजेसम्म आमाकाे काेखमा बसिरहने धैर्यता गुमाए । म बाहिर आउन आतुर छु ।
 
मेरी माताका छ सन्तानलाई मारिसकेका मामा बजारमै नाचिरहेका हुन्छन् । साताैं सन्तानकाे रुपमा जन्मिएका दाइ बलरामलाई बचाउन उनी सफल भएकी थिइन । आठाैं सन्तानकाे रुपमा जन्मिन आँटेकाे मलाई बचाउन माता-पिता दुबैले अति आवश्यक ठानिरहेका थिए। 
 
माताजी आठाैंपटक सुत्केरी हुनेबेलासम्म मेरा पिताजी वासुदेवले एउटा ठुलाे काम गरिसकेका थिए । उनी जेलम रहँदा सेना, पुलिस, शसस्त्र प्रहरीका उच्च अधिकारी समेतलाई फकाउन भ्याइसक्छन् । उनीहरुसँग गहिराे मित्रता गाँस्न सफल हुन्छन् । उनले आफ्नाे सालाे कंशसँग मिल्नुपर्ने किन्चित आवश्यकता महसुस गर्दैनन् । ऊ कुनैपनि हालतमा मारिनुपर्छ भन्ने मानेर नै मलाई जन्माउने प्रण गरेका हुन्छन् । मामा बजारमा नाचिरहेकै बेला आमाकाे काेखबाट बाहिर आउनु हतार गर्छु । 
 
याे खबर भुसकाे आगाेसरी फैलिएपनि मामासम्म भने पुग्दैन । उनकाे गुप्तचर संयन्त्र पनि कमजाेर हुनेगरी पिताजीले प्रहार गरिसकेका हन्छन् । त्यही बेला मभन्दा सात आठ वर्ष जेठी गाेपिनीहरु पनि मेराे प्रतिक्षा गरि बसिरेहेकी छन् । कसरी श्रीकृष्णलाई माेहित पार्न सकिन्छ भनेर । जतिसक्दो राम्री हुने काेसिस गरिरहेका छन् । उनीहरुलाई राम्री हुन सिकाइएकाे हुन्छ । नसिकेकै भएपनि राम्री हुनलाई उपाय सुझाइदिने अनेकथरि विज्ञापन छँदैछन् । बहुराष्ट्रिय कम्पनीले पनि राम्री हुन सघाउने माल उत्पादन गरेकै छन् । भर्खर सात-आठ वर्षका बच्चीकाे कलिलाे छालामा क्रिम लगाउन उक्साइरहेका बहुराष्ट्रिय कम्पनीका बासनादार मालहरु यतिबेला खुब बिक्री भए । जन्मिने सुरसार मात्र गरिरहेकाे मलाई कस्मेटिक कम्पनीका मालिकहरुले 'थ्यांक्यु' भनेर मेल गरेका थिए । तपाई फलानाे ब्यांकमा खाता खाेल्नुहाेला कमिशन आउँने छ समेत लेखेका ।
 
म याे सब प्रवाह नगरेर प्रसवपीडा खेपिरहेकी मेरी मातालाई जतिसक्यो सजिलाे गराउने ध्याउन्नमा थिएँ । भित्रबाट म हजार हात्ती बराबरको बल भएकाे भीमकाे जतिकै बल लगाइरहेकाे थिएँ । यसैबेला च्याँच्याँ गर्दै म जन्मिन्छु । 
 
राति १२ बजेकाे हुनुपर्ने थियाे । मामाका सुरक्षाकर्मी सबै सुतेका हुने थिए । तर, याे केही नभई उज्यालैमा म जन्मिए। आजभन्दा पाँचहजार दुईसय वर्ष अगाडिदेखि जेलमा बसेका मेरा मातपिता सुरक्षाकर्मीसँग औधी घुलमिल भैसकेका थिए । माताकाे आँसुकाे चीत्कार र पिताकाे समन्वय क्षमताकाे कारण सुरक्षाकर्मी नसुतेकै अवस्थामा म निशंकाेच जन्मिएकाे हुँ । अझ भनाै माैका छाेपेकाे हुँ । किनभने मामालाई नाच्न भ्याइ नभ्याई थियाे । मामा मान्छे देखेर खुब फुर्किरहेका थिए । 
 
अर्काेतिर म राति जन्मिएकाे भए मलाई हेर्न भनेर गाउँबाट आएका गाउँले आमाबुबा, दाजुभाइ दिदिबहिनीमध्ये धेरै सुतिसकेका हुने थिए । मलाई धेरैले देख्न पाउने थिएनन् । उनीहरुलाई निराश बनाउने मेराे मनसाय थिएन । तर, डर र संसय भयंकर थियाे । एक सेकेन्ड तलमाथि भयाे भने खेल खत्तम हुनेवाला थियाे । याे समय मेरा लागि एक निमेषमै फुटिजाने पानीकाे फाेकाजस्ताे हाे । फुट्याे त सकियाे । तर टाइमिङ चाहिँ गज्जबकाे मिल्याे । मामा बजारमा फुर्की फुर्की नाचिरहेकाे बेला हाे मैले माैका छाेपेकाे । अनि मिलाइन त टाइमिङ ? भन्नुुस् त !
 
पिताजीकाे  युगयुगकाे अनुभवले काम गरिरहकाे थियाे। उनले सबै सुरक्षाकर्मीलाई म जन्मिएकाे खवर प्रसार गरे । तिब्र रुपमा सबैमा खबर प्रबाह भयाे । बाजागाजा, हतियारसहित आ-आफ्नाे आकर्षक पाेशाकमा सजिएर उनीरहरु आए, सलामी दिनलाई । पिताजीले मलाई काेर्काेमा बाेके । शास्त्रअनुसार उनले बाेकेर यमुना नदी तरेर गाेकुल पु-याउनुपर्थ्याे । त्यहाँ मलाई छाेडेर राति नै यशोधाकी छाेरी याेगमायालाई ल्याउनुपर्थ्याे । तर, उनले यसाे केही नगरि मात्र मामाले नदेख्ने गरी मलाई चन्दनाथ, भैरवनाथ मन्दिर घुमाए । दरबार मालिकाकाे दर्शन गराए । 
 
त्यसपछि म शक्तिशाली, बलशाली भएँ । शस्त्र, अस्त्रकाे सैद्धान्तिक ज्ञान भएकाे, तिनको सञ्चालनमा निपुर्णता प्राप्ति गरेकाे तथा फाैजी र राजनीतिक मामिलाकाे पनि गहिराे ज्ञान भएकाे कहलिन थालिएँ । मामालाई लागिरहेकाे थियाे । यी सारा रैतीहरु मेराे पछि लागिरहेका छन् । त्यसैले उनी औधी खुसी भैरहन्छन् । यता म उनकाे काल पर्खदै बढ्दैछु ।
 
'मामा २४ घण्टा छ । जतिसक्छाै नाच' मनमनै भन्छु 'त्यसपछि देखा जायगा ।' उनी आफ्नै सुरमा थिए । सेना, प्रहरी, शसस्त्र प्रहरी सबैले सलामी दिएपछि मामा आफ्नाे दरबार लागे । म 'नन्द र यशोदा' रहेकाे ठाउँ गाेकुलतिर लागेँ। 
 
बिस्तारै अँध्यारो हुन थाल्छ । रात पर्छ । गाउँगाउँबाट देउडा खेलाडीहरु बजार आइरहेकाे छन् । नामी खेलाडीहरु बजार पुगेपछि रातिकाे १२ बजे देउडा सुरु भयाे । पाेहोरसम्म देउडामा पूर्ण धितालकाे साम्राज्य थियाे । यसपालि उनले छुटाए। प्रेम कामी उनकाे उत्तराधिकारीकाे रुपमा उदाए । सिंजा सभ्यताकाे सबैभन्दा पुरानाे साहित्यकाे रुपमा कहलिएकाे देउडा रातभरि घन्कियाे । देउडाका पारखीहरु कृष्ण मन्दिरनेर छन् । अरु मनलाग्दाे बजारभरी घुमे ।
 
युवायुवतीले कुष्णलिला भन्दै रातकाे चकमन्न अँध्यारोमा बजारलाई डेटिङ स्पट बनाए । मैले कुनै आपत्ति जनाइन । मैले केही भन्नेबित्तिकै उनीहरु मलाई १६ सय गाेपिनी खेलाएकाे के हाे भनेर उल्टै प्रश्न गर्ने थिए । त्यसैले म चुपचाप रहें । फेरि मैले उनीहरुलाई राेक्नपनि हुँदैन थियाे । राेकेकाे भए म प्रेमविरोधी भनेर आराेपित हुने थिएँ । शनिबारको दिन अन्नपूर्ण पाेष्टकाे फुर्सदमा अनुपम पाेखरेलले प्रेम र युद्धमा कृष्णमात्र जायज हुन्छन् भनेर लेखेकै छन् । यतिबेला म किन नाजायज बन्दिउ?  भन्नुस् त !
 
म एक रातमा बढेर ठुलाे भएँ । नवमीकाे मध्याह्न १२ बजे त म लक्काजवान भैसकेको छु । मामा नाचिरहेका छन् । मेराे बजार प्रवेश भयाे । मान्नुहाेस् मैले मथुरा प्रवेश गरे । एकाएक ठुलाे भएर मामालाई बध गर्न मथुरा प्रवेश गरेको मलाई देखेपछि मामा थाेरै झस्किए हाेलान्, सायद । अब म पनि नाैरंगी नाच देखाउँछु । उसबेला मैले अमृतपान गरेकाे हुन्थे । तर, याे त कलियुग हाे । त्यसैले म जलपान गर्छु । त्यसैकाे तालमा मात्र नाँच्न सकिने रहेछ । नत्र, जाेसै नआउने ।
 
मामा र म दुबै नाच्छाैं । नाच्छाैं के भन्नू, युद्धअभ्यास गर्छाैं । सबैकाे नजरमा म उनीभन्दा अब्बल कहलिन्छु । अलिअलि जलपानकाे ताल, अलिअलि बाजाकाे राग यी सबैकाे मात्रा मिलेकाेले म मामाभन्दा एक कदम अगाडि छु । अब म माैका कुर्छु । उनका बडिगार्डलाई, सुण्डमुण्डलाई, पहरेदारलाई दाइ बलरामले एकएक गरी सुताए । मेराे पालाे आयाे । मामा सुरुवातमा त सिगाैरी खेल्छन् । पछि मेराे तागत देखेपछि उनी भाग्न हतारिए। यही माैकामा मैले उनकाे शिर छिनाले ।
 
सबैले कृष्णले लाखे (कंश) मारे भने । याे खबर फाइबर नेटभन्दा द्रुतगतिमा फैलियाे । सेना आए, प्रहरी आए, प्रशासन अगाडिका शसस्त्र प्रहरी आए । सीडीओ साप पनि आइन् । मेराे विजय रथयात्रा कृष्णमन्दिरबाट सुरु भई चन्दननाथ, भैरवनाथ र दरबार मालिकाको मन्दिर परिक्रमा गरिकृष्ण मन्दिरमै आएर विधिवत् रुपमा समापन भयाे । यस वर्षकाे जात्रापनि सकियाे । मेराे जयजयकार भयाे । 
 
मलाई जयजयकार गर्ने तमाम मानिसका केही अप्ठ्यारा मेरा आँखैले देखे । आधुनिकिकरणकाे रुपमा जस्तापाता हालिएपछि छतबाट हामीलाई हेर्नेहरु बजारमै झर्न बाध्य भए । जनसंख्या वृद्धिदरले पनि बजारमा रहने मान्छेकाे संख्या थपियाे । उनीहरुकाे भींड थामी नसक्नु भयाे । अनि मेराे जयजयकार गर्नेलाई समेत पुलिसले लाठिचार्ज ग-याे । रातभरि मेरा लागि घर छाेडेर आँखा चिम्लिएर बजार बसेकाले बिहान सार्वजनिक शाैचालय प्रयाेग गर्न पाएनन् । बजार फाेहाेर भयाे । किनभने सार्वजनिक शाैचालय नै थिएन । मेयरकाे स्मार्टसिटीकाे उधाेगतिमा एउटा इटा घट्याे ।
 
मैले तपाईलाई भनेकाे थिए नि मेराे २४ घण्टा ! त्याे समय सकियाे । घडी हेर्नुस् त २४ मिनेट पनि पुग्याे हाेला । यदि छैन भने थप कुरा । 
 
आजभन्दा पाँचहजार दुई सय वर्ष अघि सकिएको मेराे कथा जुम्लाले हरेक वर्ष दाेहाे-याइरहेछ । आज मैले आफ्नाे जन्मकथासहित यहाँकाे परिपाटीकाे समीक्षा गरे । 
 
तर, महाभारतमा युगाैंदेखि ममाथि समीक्षा भैरहेकाे छ । हुनत महाभारतमा पाण्डव र काैरव प्रमुख छन् । तर, पर्दा पछाडिको निर्देशक मै हुँ भन्दा पनि फरक पर्दैन । त्यसैले एकथरि मेराे कित्तामा छन् । अर्काेथरि विपरित कित्तामा । विशेषगरी अर्जुन र मेराे मित्रताकाे विषयलाई लिएर तथा सुतपुत्रकाे रुपमा अपहेलित भएका कर्णकाे विषयलाई लिएर । 
 
कर्णलाई दाेर्णाचार्यले सुतपुत्र भनेर शिक्षा दिन इन्कार गरे । पछि उनैले सुतपुत्र र क्षेत्रीय बराबर राख्नु हुँदैन भने । कृपाचार्य र भीष्म पितामहजस्ता पराक्रमी र विदुरजस्ता नीतिशास्त्रका ज्ञाताले पनि मुन्टाे हल्लाएर सहमति जनाइ दिए ।  
 
द्राैपतीकाे स्वयम्वरमा त सुतपुत्र भनेर अपहेलित समेत भए । यी सबैकाे साक्षी मैले जातीय रुपमा मान्छेलाई कुनै कामबाट बञ्चित गर्नु हैदैन भनेर भन्न सकिन । यसैले उनी मदेखि खुब रिसाएका छन् । अहिले पनि मलाई नाचाैनाचाै पार्न बाजा बजाउनेहरु कर्णकै दर्जामा छन् । उनीहरु मेराे भूमिका निभाउनबाट बञ्चित छन् ।
 
उसबेला कर्ण दुर्याेधनकाे पक्षमा थिए । म कृष्णकाे अनन्य मित्र । विराेधी कित्तामा उभिएकाे मैले उनलाई न्याय दिन सकिन, उनी रिसाए । अब म खुलेआम भन्छु- 'कुनै मान्छेलाई पनि जातकाे आधारमा कुनै पनि कामबाट बञ्चित नगराैं ।'
 
घडी हेर्नुस् त ? सायद २४ मिनेटभन्दा बढी पाे भयाे कि ! 
प्रकाशित मिति: : 2019-08-25 06:19:59

प्रतिकृया दिनुहोस्