स्थानीय लोकबाजा र संस्कृतिलाई जोगाउन तानसेनमा नौमती बाजा प्रतियोगिताको आयोजना गरिएको छ।
प्रतियोगितामा तानसेन नगरपालिका–५ सेतीपोखरीस्थित सेतीपोखरी धर्मपानी नौमती बाजा समूह प्रथम भएको छ।
प्रथम हुने समूहले रु ५० हजारको पुरस्कार प्राप्त गरेको छ। तानसेन नगरपालिका–७ काजीपौवास्थित लालुपाते नौमती बाजा समूहले दोस्रो स्थान प्राप्त गर्न सफल भएको छ।
दोसो हुने समूहले रु २० हजार पुरस्कार प्राप्त गरेको छ। त्यसैगरी तेसो हुने तानसेन नगरपालिका–११ स्थित चण्डीका टोल विकास संस्थाले रु १० हजार पुरस्कार जित्न सफल बनेको छ। सफल समूहलाई तानसेन नगरपालिकाका प्रमुख अशोककुमार शाहीले पुरस्कार वितरण गरेका छन्।
तानसेन नगरपालिकाका प्रमुख शाहीले प्रतियोगिताले नौमती बाजा र संस्कृति संरक्षणमा सहयोग पुगेको बताए।नेपालीको स्वाभिमान र वीरताको गाथासँग जोडिएको ऐतिहासिक भगवती जात्राको पहिलो दिन प्रतियोगिताले थप उत्साह ल्याएको उनको भनाई छ।
विजयी समूहले भगवती जात्रामा बाजा बजाउनुपर्ने चलन रहेको छ। टुरिजम एक्सन कमिटीका संयोजक सागर महर्जनले स्थानीय लोकबाजा र परम्परागत संस्कृति संरक्षणमा प्रतियोगिताले सहयोग गर्ने बताए। प्रतियोगितामा पाल्पाका १० नौमती बाजा समूह सहभागी थिए। दलित समुदायको परम्परागत पेशाका रुपमा स्थापित बाजा बजाउने पेशा अहिले मगर समुदायबाट पनि संरक्षण हुँदै आएको छ।