सुदुरपश्चिम प्रदेशलगाएतका क्षेत्रमा मनाईने गौरापर्व काठमाडौं उपत्यकामा पनि विभिन्न सांस्कृतिक कार्यक्रम गरी मनाइएको छ।
शुक्रबार टुँडिखेलमा काठमाडौंमा बस्दै आएका त्यस क्षेत्रका बासिन्दाहरुले गौरापर्व मनाएका हुन् । भाद्र शुक्ल अष्टमीका दिन मनाइने गौरा पर्वलाई यो क्षेत्रका मानिसले ऐतिहासिक मौलिक पर्वका रुपमा मान्ने गरेका छन् ।
गौरा पर्वको मुख्य आकर्षण देउडा हो। देउडामा पौराणिक कथा, देवीदेवताका गाथा तथा सामाजिक विकृतिविरुद्ध व्यङ्ग गर्ने चलन छ । एकताको पर्वका रुपमा लिइने गौरा पर्वमा देउडा गीतका माध्यमबाट दुःख र माया साटासाट गर्ने चलन पनि छ। गौरा पर्वलाई खासगरी डोटी, डडेल्धुरा, दार्चुला र बैतडीवासीहरुले दशैंभन्दा पनि महत्वपूर्ण पर्वको रुपमा मनाउने गर्छन् ।
भाद्र कृष्ण पञ्चमीको दिन सुरु भएको गौरा पर्वमा अष्टमीको दिने विवाहित महिलाहरुले ब्रत बसेर गौरा देवीको पूजाआजा गर्ने चलन छ ।
सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी वर्षा ऋतुको भाद्र महिनामा जल, जङ्गल, जमीन र जनावरको डर नमानी तपस्या गरेपछि मनोकामना पूरा भएको सम्झनामा यो पर्व मनाउन शुरू किम्वदन्ती छ।