वीरगंज समयक्रम अनुसार फेरिएपनि महिला बेचबिखनको घटनामा कुनै बदलाव आउन सकेको छैन।
नेपाली चेली पहिले भारतको कोठीमा बेचिन्थे। अहिले छिमेकी भारत हुँदै तेस्रो मुलुममा पनि बेचिन थालेका छन्। अविवाहित किशोरीभन्दा २० बर्ष माथिका शिक्षित विवाहित महिला नै बढि बेचबिखनको जोखिममा पर्ने गरेको माईती नेपाल पर्साको तथ्यांकमा उल्लेख छ।
बेचबिखनको घटना हेर्दा पहिले तराईका ग्रामिण क्षेत्र तथा पहाड दुर्गम क्षेत्रका महिला बेचबिखनको शिकार हुने गर्थे। प्रेमजालमा फसेर अन्जान मै आफ्नै श्रीमान तथा आफन्तबाट नेपाली दिदीबहिनी बेचबिखनको सिकार हुन्थे। बेचबिखनको घटनाले बिकराल रुप लिदै गएपछि सरकारी तथा गैरसरकारी संघ सस्थाहरु न्युनीकरणको लागि गम्भीर भए। सरकारी तथा गैरसरकारी संघ सस्थाद्धारा बेलाबेला चेलिबेटी बेचबिखनमा नपरुन भनेर सचेतनाका लागी सडक नाटक, परामर्श कार्यक्रम, रेडियो तथा टिभीबाट जिङ्गल तथा कार्यक्रम संचालन गरेर महिलालाई सतर्क गराउने काम पनि भयाे।
तर अहिले जति नै इन्टरनेटको सुविधा भएपनि बेचबिखनको शिकार भइरहेको सामाजिक संस्था माईती नेपाल पर्साले जनाएको छ।
प्रमुख भन्सारको रुपमा चिनिने पर्साको वीरगंज नाका तथा ग्रामीण भेगमा रहेको ठोरी नाकाबाट गत आर्थिक बर्ष ०७५–७६ मा भारतमा बेच्न लागिएकाे १ सय ८५ चेलीलाई नेपाल प्रहरीको सहयोगमा फर्काइएको माईती नेपाल पर्साले जनाएको छ। जसमध्ये अभिभावको निवेदनको आधारमा २८ जना किशोरी तथा महिलालाई भारतबाट उद्धार गरी नेपाल ल्याईएको र १२ जना भारतीय नाबालक तथा किशोरीलाई सीमा नाकाबाट अभिभावकको जिम्मा लगाईको थियाे।
पहिले पहाडी भेगका किशोरीहरु बढि बेचबिखनमा पर्थे भने अहिले तराईको बारा, पर्सा, रौतहट, सर्लाही, सिरहा, महोत्तरी, इटहरीलगायत नारायणगढ बुटवलबाट पनि किशोरी तथा महिलाहरु यस्तो समस्यामा भेट्टिएको संगीता पुरीले बताईन।
बारा, पर्साको महिला तथा बालबालिका सेवा केन्द्रमा ७५ जना चेलीबेटी हराएको निबेदन आएकोमा २८ जनालाई सीमाक्षेत्रबाट फेला पारिएको उनले बताईन। उनीहरु कामको शिलशिलामा भारतको कोलकत्ता र मुम्बई गइरहेको अवस्थाबाट पक्राउगरि अभिभावकको जिम्मा लगाइएको प्रमुख पुरीले जानकारी दिइन्। जसमध्ये बारा, पर्सा जिल्लामा ५८ जना नाबालक सहित किशोरीहरु अलपत्र अवस्थामा भेटिएपछि उनीहरुलाई अभिभावकको जिम्मा लगाइएको थियाे।
नेपाली चेलीलाई भारतको पुर्वीचम्पारण जिल्लास्थित बिभिन्न आरकेष्ट्रा, थिएटर, रेष्टुरेन्ट र वियर एण्ड वारबाट उद्दार गरिएको छ। वीरगंज शाखा प्रमुख पुरीले वीरगंज सीमा क्षेत्रमा तैनाथ परामर्शकर्ता कर्मचारीले ४३ वटा जिल्लाका २६ हजार २ सय ६० जनालाई परामर्श दिएको तथा दिदीबहिनीलाई सोधपुछ गर्दा शंका लागेमा रोकिने गरेको बताइन्।
विशेष गरी दलालहरुले भारतको कोलकत्ता, दिल्ली, मुम्बई, पुना लगायतका शहरमा नेपाली किशोरीलाई रोजगारीको नाममा लैजाने गरेको र त्यहा पुर्याएपछि अवैध देहव्यापारको धन्दामा लाग्न बाध्य बनाउने गरेका छन्। भारतको बिभिन्न शहरबाट २८ जना नाबालक किशोरी तथा महिलालाई उद्दारगरि अभिभावकको जिम्मा लगाइएको छ। जस अन्तर्गत भारतको सीमापारी रक्सौलबाट ८ जना, रामगढबाट ५ जना, कोलकत्ताबाट २ जना, मोतिहारीबाट ३ जना, दिल्लीको कोठीबाट २ जना, सुगौलीबाट ५ जना नाबालक र सितामढी, सिकटा, राजस्थानबाट १–१ जना अलपत्र अवस्थामा रहेकोलाई उद्दार गरिएको माईती नेपाल पर्साले जनाएको छ।
मानसिकस्थिति राम्राे नभएका ९ भारतीय चेलीलाई पुन: भारत फर्काइएको तथा ३ जना भारतीय नाबालकलाई भारतीय थानाको सहयोगमा अभिभावकको जिम्मा लगाइएको पुरीले बताइन्।
पहिले चेतनाको कमीले किशोरीहरु यस्तो जोखिममा पर्ने गर्थे भने अहिले महिलाहरु जानेर जोखिममा परेको अवस्था छ। आधुनिकतासँगै बिलासिता पूर्ण जीवन, घरपरिवार नटेर्ने, आफन्त तथा प्रियजनको लयलयमा लागेर थोरै समयमा धेरै कमाउने लाेभ तथा भारतबाट तेर्सो मुलुकमा जान सस्तो र सहज भएकाले महिलाहरु बेचबिखनको शिकार हुने गरेको उनले बताइन्।
आर्थिक वर्ष ७५–७६ को तथ्याकं अनुसार यस अवधिमा मानव बेचबिखनमा संलग्न २ पुरुष र ३ महिलालाई प्रहरीको सहयोगमा पक्राउ गरि मुद्दा दर्ता गरिएकाे छ। दलालहरु महिलाको साथमा नहुँदा पक्राउ गर्न कठिनाई हुने र पिडित महिलाहरु आफन्तजन बाटै बेचिने तर उनीहरुले अपराधीको परिचय नखुलाई दिने कारण कार्यवाहीमा समस्या भएको माईती नेपाल वीरगंजले जनाएको छ।
सीमा क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, भारतीय एसएसवी फोर्स तथा माईती नेपालको युनिटले कडाई गरेपछि विभिन्न ग्रामिण नाकाबाट समेत किशोरी तथा महिलाहरुलाई दलालहरुले भारत लैजाने गरेका छन्। यसरी जानेहरुको तथ्यांक भने माईती नेपाल लगायतका संस्थाहरुसँग नहुने र बार्षिक रुपमा हजारौं महिला तथा किशोरीहरु दलालको प्रलोभनमा भारतमा बेचिएकाे आशका गरिएकाे छ।