भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र तनहुँले आर्थिक वर्ष ०७५÷७६ मा ३४ हजार पशुको कृत्रिम गर्भाधान गरेको छ । तनहँ र नवलपुर जिल्लाका १४ कृत्रिम गर्भाधान केन्द्रबाट ३४ हजार छ पशुको कृत्रिम गर्भाधान गरिएको विज्ञ केन्द्र तनहुँले जनाएको छ। यसअवधिमा २६ हजार ७१२ गाई, सात हजार २३७ भैसी र ५७ बाख्रामा कृत्रिम गर्भाधान गरिएको विज्ञ केन्द्रका प्रमुख डा बालकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार गाईमा ६० प्रतिशत र भैँसीमा ५२ प्रतिशत गर्भाधान गरिएको छ। तनहुँमा सात हजार ५९५ र नवलपुरमा २६ हजार ४११ पशुको कृत्रिम गर्भाधान गरिएको छ।
तनहुँमा आठ र नवलपुरमा छ केन्द्रबाट पशुमा कृत्रिम गर्भाधान गरिएको विज्ञ केन्द्रका प्रमुख डा श्रेष्ठले जानकारी दिए। तनहुँको व्यास नगरपालिकामा एक हजार ८३१, भानु नगरपालिकामा ९८४, शुक्लागण्डकी नगरपालिका ८७१, बन्दीपुर गाउँपालिकामा ३९३, आँबुखैरेनी गाउँपालिकामा दुई हजार ६२१, म्याग्दे गाउँपालिकामा ५७५ र देवघाट गाउँपालिकामा ३२० पशुको कृत्रिम गर्भाधान गरिएको छ।
नवलपुरको गैँडाकोट नगरपालिकामा १२ हजार ५५४, देवचुली नगरपालिकामा दुई हजार ७०४, कावासोती नगरपालिकामा दुई हजार ६१९, मध्यविन्दु नगरपालिकामा तीन हजार ३१६, विनयी त्रिवेणी गाउँपालिकामा दुई हजार ६०५ र हुप्सेकोट गाउँपालिकामा दुई हजार ५५७ पशुको कृत्रिम गर्भाधान गरिएको छ।
सरकारले नश्ल सुधार कार्यक्रमलाई राष्ट्रिय अभियानका रूपमा सञ्चालन गर्दै आएको छ।
पशुमा कृत्रिम गर्भाधान गराएमा कम उत्पादनशील स्थानीय पशुको उत्पादकत्व वृद्धि हुने, प्रजननका लागि भाले जनावर पाल्नु नपर्ने, हाडनाता प्रजननबाट उत्पादकत्वमा हुने ह्रास नहुने र प्रजननको माध्यमबाट सर्ने विभिन्न रोगबाट पशुको बचावट गर्न सकिने डा श्रेष्ठले बताए।
कृत्रिम गर्भाधान गरेको तीन वर्षभित्रै पशुले आफ्नो उत्पादकत्व दिन सक्नेछन् भने जिल्लामा उत्पादन हुने दूधलगायत दुग्धजन्य वस्तुको उत्पादनमा वृद्धि भई बाहिरी जिल्लाबाट उन्नत पशुहरु आयात गर्नपर्दैन। नेपालमा पालिएका दुधालु गाईको नश्ल सुधारका लागि सरकारले कृत्रिम गर्भाधानमा प्राथमिकता दिँदै आएको छ।
कार्यालयले एक वर्षको अवधिमा १२ हजार ८५३ पशुको उपचार गरेको छ। जसमध्ये आठ हजार १४४ पशुलाई चिकित्सा उपचार, दुई हजार ८९१ पशुलाई जटिल शल्यक्रिया, ४३ पशुलाई सामान्य शल्यक्रिया सेवा प्रदान गरिएको छ।
व्यास नगरपालिका र राष्ट्रिय पशु प्रजनन् कार्यालयको समन्वयमा ५७ वटा पशुमा बाँझोपन निवारण, स्थानीय तहसँगको समन्वयमा सात हजार १२९ पशुपक्षीलाई उपचार सेवा प्रवाह गरिएको केन्द्रेले जनाएको छ। रासस