१८ सय प्रहरी कारबाहीमा, प्रहरी प्रवक्ता भन्छन्- राम्रो काम गरौं पुरस्कार थापौं

फाइल तस्बिर

प्रहरी प्रधान कार्यालयले संगठनको नीति विपरित काम गर्ने १८ सय प्रहरीलाई कारबाहीमा गरेको छ।

घुस खानेदेखि भनेको बेला ड्यूटीमा नजानेसम्मका प्रहरी अधिकारीहरू कारबाहीमा परेका छन्। प्रहरी प्रधान कार्यालयका अनुसार गएको एक वर्षको अवधिमा १ हजार ८ सय प्रहरी विभागीय कारबाहीमा परेका हुन्। 

२ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी), ३ जना प्रहरी उपरीक्षक (एसपी) ३ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) सहित १८ सय प्रहरी कर्मचारी विभागीय कारबाहीमा परेका हुन्।

कारबाहीमा परेका मध्ये २ सय ४९ जना प्रहरी कर्मचारीलाई नोकरीबाट हटाइएको छ। ७ जना बर्खास्तमा परेका छन्, बाँकी १५ सय ४४ जनालाई विभागीय कारबाही गरिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी विश्वराज पोखरेलले बताए।

उनका अनुसार अघिल्ला वर्षभन्दा गएको वर्ष कारबाही पर्ने कर्मचारीको सङ्ख्यामा केही कमि आएको छ।

उनका अनुसार गएको २०७४/७५ मा २ हजार २ सय ६५ प्रहरी कर्मचारी कारवाहीमा परेका थिए। त्यसैगरी आर्थिक वर्ष २०७३/७४ मा २३ सय ८१ प्रहरी कर्मचारी कारबाहीमा परेका थिए।

सगंठनले राखेको लक्ष्य र उद्देश्यविपरीत काम गर्ने जो कोहीलाई कारबाही गनिने प्रवक्ता पोखरेको भनाइ छ।

प्रवक्ता पोखरेलका अनुसार संगठनको सुद्धिकरण अभियान अन्तर्गत अनुशासनको पालना नगर्ने, खराब आचरण र आर्थिक लोभचालच गर्नेलाई कारबाही गरिएको हो।

‘संगठन प्रमुखज्यूले अहिले संगठन सुद्धृढीकरणको अभियाननै चलाउनु भएको छ, अघिल्ला वर्षहरुमा भन्दा गएको वर्ष प्रहरी कर्मचारीको काम कारबाही र ब्यवहारमा केही परिर्वतन आएको छ,’ उनले भने।

कानुन कार्यान्वयन गराउने प्रहरीलेनै कानुन मानेन भने त्यो भन्दा अरू के हुन सक्छ र भन्दै उनले कानुनको पालना गराउनेले त्यो कुरामा ध्यान दिनुपर्ने बताए। ‘होइन भने जोसुकै भए पनि कारबाही भएरै छाड्छ, त्यसमा भनसुन चल्दैन’, उनले भने।

राम्रो काम गर्ने ५४ सय प्रहरी पुरस्कृत

प्रहरी प्रधान कार्यालयले नराम्रो काम गर्ने प्रहरीलाई कारबाही मात्र होइन राम्रो काम गर्नेलाई सम्मान र पुरस्कृत पनि गर्ने गरेको छ।

प्रवक्ता पोखरेलका अनुसार गएको वर्ष ५ हजार ४ सय ४३ जना प्रहरी पुरस्कृत भएका छन्।

‘संगठनको हितको निम्ति अहोरात्र खटिएर काम गर्ने प्रहरीलाई संगठनले उचित मूल्याकंन गर्दै पुरस्कृत गर्दै आएको छ’, प्रवक्ता पोखरेलले भने, ‘ब्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनाताको लागि खटिने प्रहरीलाई हामीले पुरस्कार दिँदै आएका छौं।’

पछिल्लो समयमा गल्ती गरेर कारबाही होइन राम्रो गरेर पुरस्कार थापौं भन्ने चलन कायम हुँदै गएको प्रवक्ता पोखरेलले भने।

 

प्रकाशित मिति: : 2019-08-15 16:48:31

प्रतिकृया दिनुहोस्