काठमाडौं–राष्ट्रिय आबिष्कार केन्द्र निर्माणका लागि सरकारबाट आर्थिक सहयोग नपाएपछि जनस्तरमा महादान अभियान सञ्चालन गर्दै आएका सामाजिक अभियन्ता महाविर पुनले हालसम्म करिब ७ करोड रुपैयाँ भन्दा बढी दान प्राप्त गरिसकेका छन् ।
पुनले आफ्नो फेसबुक पेज मार्फत् अभियानमा संकलित रकमको जानकारी निरन्तर दिँदै आएका छन् । उनले हालै रत्नपार्कको सडकमा एक जना युवतीले सहयोग रकम हस्तान्तरण गर्दै गरेको तस्बिर सहित सूचना पोष्ट गरेका छन् । म्याग्दी पुलाचौरकी सीमा पौडेलले उनलाई २५ हजार रुपैयाँ हस्तान्तरण गरेकी छन् । कोपनहेगन, डेनमार्कमा नेपाली व्यवसायीले चलाएको सुसु सुसी नामक रेष्टुराँमा काम गरिरहेका २६ जना सहकर्मीले पठाएको रकम उनले हस्तान्तरण गरेकी हुन् ।
सरल जिवन र उच्च विचारका अभियन्ता पुनलाई काठमाडौंमा जतिखेर जहाँ भेटेर पनि सहयोग गर्न सकिन्छ । उनले तीन वर्ष अघिदेखि महादान अभियान चलाएका हुन् । यसमा देश तथा विदेशबाट सहयोग जुटिरहेको छ ।
केन्द्रले विभिन्न १६ वटा आबिष्कार सम्बन्धी कामहरु अघि बढाई रहेको छ । उसले रोबोट निर्माण, सेल रोटी पकाउने मेशिन, थोरै तापक्रममा पनि बिजुली निकाल्ने प्लान्ट, सिन्के धुप बनाउने मेशिन, पुरानो भ्यानलाई व्याट्रिबाट चल्ने इलेक्ट्रिक भ्यान, तरकारी कोठी, बेबी इन्क्युबेटर, कूत्रिम तरकारी उत्पादन कोठी, कपडा काट्ने मेशिन लगायत विभिन्न सामाग्री निर्माण गरिरहेको छ ।
हाल केन्द्रले काठमाडौंको कीर्तिपुरमा प्रयोगशाला बनाएर विभिन्न आबिष्कारका कामलाई अघि बढाएको छ । उसले विज्ञान र प्रविधिमा काम गर्न चाहने नेपाली युवालाई सहयोग गर्दै आएको छ ।